Techie IT
Thursday, June 24,2021 / बुधबार, असार ९, २०७८
×

लुटिँदै म


–कमल भण्डारी

पाइला पाइलामा लुटिएको म
पाइला पाइलामा ठगिएको म
मुसुक्क हाँस्दै, पछाडिबाट छुरा रोप्ने
मानवरूपी जन्तुबाट धसिएको म
पारदर्शी र हितकारी जताउनेबाट
पाइला पाइलामा धोका खाएको म ।

समाज उस्तै छ, परिवेश उस्तै
देश उस्तै छ, नेता उस्तै
राजनीति उस्तै छ, साथीसँगी उस्तै
आफन्त उस्तै अनि सबका भावभङ्गी उस्तै
सबका सब दलाल अनि दलाली उस्तै
मुसुक्क मुस्काउँछन् ताकि हिसाब भुलाउन सकियोस्
नरम हात मिलाउँछन् ताकि कडा खाल्टोमा जाक्न सकियोस्
लुट्न सकियोस्, मरोस् तर मारेको सजाय भोग्न नपरोस् ताकि जेल जान नपरोस् ।

उठेदेखि सुत्दासम्म
सपनादेखि जपनासम्म
फगत् बन्छ त केवल लुट्ने योजना
धुत्ने योजना अनि हाँसी हाँसी पिठ्युँमा छुरा घोप्ने योजना ।

घाटमा जान्छन् अनि भन्छन् मरि लानु के छ र !
तर निमेषमै कात्रोमा खल्ती हाल्न थाल्छन्
कसैलाई फसाउने जाल बुन्न थाल्छन्
बाँच्न र खान केही गर्नै त पर्यो भन्दै
अस्मिता र इमान खान्छन्, कपडा लगाई नाङ्गो नाच्छन् ।

अझै पनि नथाकेको म
मुसुक्क हाँस्दिन्छु
लुटेको, धुतेको, घोपेको थाहा नपाएझैँ गरिदिन्छु,
अनि उसलाई मुस्कुराउन दिन्छु म
सोच्छु,
उसको मनमा पनि खुसी आओस्
ल्रटेरै पुर्याएँ भनेर विजय उत्सव मनाओस्
हरेक गाँस निल्नु अघि लुटको ह्वास्स आओस्
तर मर्नु अघि हरे ! मैले यति भलो मान्छेको लुटेँ भनेर पश्चात्ताप मनाओस्
चाहे त्यो जो होस् ।

फगत उसले बाँकी छ बुझ्न
योभन्दा पर पनि संसार छ
लुटिदै पनि मान्छे बाँच्न तयार छ
बुझेर पनि बुझपचाई
अरुलाई खुसी राख्दै छ
अनि
आस गर्दैछ, एकदिन अवश्य राम्रो हुनेछ
साथी राम्रो हुनेछ ,
आफन्त, समाज, नेता अनि देश राम्रो हुनेछ
त्यही आसमा लुटिँदै,लुट्पुटिँदै बाँचेको म ।


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #banner


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!