Techie IT
Wednesday, August 4,2021 / मंगलबार, साउन १९, २०७८
×
गृहपृष्ठकला / मनोरञ्जनकवि जीवन श्रेष्ठको कविता ‘कोरोना कथक’

कवि जीवन श्रेष्ठको कविता ‘कोरोना कथक’


  • जीवन श्रेष्ठ

मृत्यु पंखी घोडा चढेर सूर्य
एकै विहानै झर्छ
खोला, खोल्सा, र मानवसागरमा
सोसेर साँसहरु
र जान्छ माथिमाथि आकाशमा
छोडेर आतँकको त्रासदी
फुँग उडेको इन्द्रेणी
त्यही कतै नजिकको खोल्सामा ।

झर्छ त्यसैगरि जून
चिहानका डरलाग्दो चिच्याहट बोकेर
रात,
निद्रा खस्न आउँदैन मान्छेको आँखामा
खस्न आउँछ त विदीर्ण जूनसँगै
मृत्यु विभिषिकाहरु ।
समयका खोलाहरु
उकालो उकालो लागि सकेपछि
अचेल,
मान्छेहरु मान्छेसँग मात्र हैन
आफ्नै हात, मुख, नाक, आँखा
र भएभरका शाखाहरुसँग
संका बाँच्छ
आफै भष्मासुर भएर
एक रुञ्चे हाँसो हाँस्छ ।

एउटा अदृश्य अल्छिनी शक्ति
विश्वयात्रामा निस्केको छ
त्यसैले त
चुकुल ठोकेर
गजबार लगाएर मान्छेहरु
आफ्नै प्रत्यक्ष निगरानीमा
बन्द कोठाभित्र बस्न वाध्य छन
गाउँ देखि सहरसम्म
सहरदेखि संसारसम्म
एउटा चकमन्नता छाएको छ
आकाशमा फगत आतँकको चँगा उडेको छ
श्मशानमा स्वजनको लाश डढेको छ ।

बाहिर निस्कन मनाही छ
विद्युतीय कटुवालहरु कुर्लिरहेछ
बन्दाबन्दीको बड्कुलोमा चिप्लिएर
मान्छेहरु
आभाव नाचिरहेछ ।
अलिखितको दोरन्तलले झैं
सिंगो संसार पो निल्ने हो कि
मान्छेहरु
साँची किस्ता किस्तामा बाँचिरहेछ ।
फेरि पनि
यतिञ्जेल मरिसकेको भगावन
कुनै वायुपंखी घोडामा चढेर बौरिँदै आउँछ कि
सेता झण्डाहरु फरफराएर
मान्छेहरु
एकान्तबासको कुनामा बसेर
कुरिरहेछ एक सर्को आशाको साँस फेरेर ।


क्याटेगोरी : कला / मनोरञ्जन


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!