Techie IT
Tuesday, March 9,2021 / सोमबार, फागुन २४, २०७७
×
गृहपृष्ठकला / मनोरञ्जनजनार्दन भन्नु कि आमा ? (कविता)

जनार्दन भन्नु कि आमा ? (कविता)


सविता थापा

जब कोइलीले करुणाका गीत गाउँदा
मुनालहरु नाचिरहेका थिए
बेदनामा पनि हिमाल हाँसिरहेको थियो
तब त्यो खरले छाएको, भर नभएको झुपडीमा
एउटा तारा खसाएको थिइन्, तिमी जन्माएको थिइन्
खुशीको पर्याय हर्ष थिएन त्यतिबेला
न त उल्लास नै थियो
केवल तिम्री आमा थिइन् ।

‘नानी बढ्–तेते बिझ’ भन्दै
जब उनी मायाको छहारी पोख्थिन्
खुशीको सागर अनि सुनौलो भविष्य
तिम्रो नयनमा देख्थिन्
तिम्रो भोक, प्यास र निदौरी
तिमीले नभनी थाहा पाउँथिन्
तिम्रो पीड बुझ्ने र तिम्रो ज्वरो नाप्ने
तिम्रो पहिलो डाक्टर थिइन्
तिम्री आमा तिम्रो पहिलो डाक्टर थिइन् ।

तिमीले पहिलो अक्षर लेख्दा ती मधुरा आँखाले
घण्टौंसम्म नियालेका थिए
आफैले अक्षर नचिनेकी उनी
तिमीलाई अक्षर सिकाउने तिम्रो पहिलो शिक्षक थिइन्
आँखामा स्वर्णिम सपना सजाएर
तिमीलाई शिक्षा दिलाउने तिम्री आमा
तिम्रो पहिलो मार्गदर्शक थिइन् ।

तिम्रो कलिलो दाँतले चपाउन नसक्दा
मकै भटमास चपाउँदै खुवाउने
निश्चलतापूर्वक काखमा सुताउने
तिम्रो जीवनको अस्तित्व मेटाउने
तिम्रो पहिलो जनार्दन थिइन् ।

आज त्यो पिढींको बुढो ढुंगामा
कलिलो अक्षर लेख्ने ती कलिला हातहरु
चाउरिएका गाला सुम्सुम्याउन आउँदैनन्
उत्तर भन्न नपाउँदै
प्रश्न सोध्ने त्यो तोतेबोली
खै कुन्नी सुनिदैन आजभोलि
अब त मात्र, त्यो बुढेशकाल लागेको लौरो
र, त्यो लौरोमा अडिएका छौ हामी ।

तिम्री आमाले पुज्ने त्यो तुलसी त मौलाएको छैन
तर, तिमीलाई लिएर तिम्री आमाका सपनाहरु
हाम्रा चाउरी परेका छालाझैं भएका छन्
समाप्ती मात्र समाप्तीतिर लम्किएका
आखज आश्रममा कसैले गुलियो मिठाई ल्याइदिँदा
तिम्री आमाले तिम्रो सम्झनामा धमिलो आँसु झार्छिन् ।

तिमीलाई राखेर अरु नअटाउने हाम्रो छातिमा
तिमी बसेर हामी नअटाउने महल रहेछ
शौच जान सक्ने हिम्मत नभएपनि
तिमीलाई सम्झने हिम्मत जुटाउँदै छौं
हामी मरुभूमिलाई उर्वरभूमिमा परिणत गर्दैनौं छोरा
तिम्री आमा तिमी जन्मिएको काख
तिम्रो काखमा निदाउन चाहन्छिन् ।


क्याटेगोरी : कला / मनोरञ्जन
ट्याग : #side


तपाईको प्रतिक्रिया दिनुहोस