शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठकलाआज साउने सङ्क्रान्ति अर्थात् लुतो फाल्ने पर्व मनाइँदै

आज साउने सङ्क्रान्ति अर्थात् लुतो फाल्ने पर्व मनाइँदै


लुतो फाल्ने पर्व अर्थात् साउने सङ्क्रान्ति आज शुक्रवार मनाइँदैछ । सौर्यमान् अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले आजको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

आजको दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादि रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो । प्राचीन प्रचलनअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधीय बनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।

पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याक्ने संस्कृृति मनाउने गरिएको छ । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा लुतो फाल्ने प्रचलन हालसम्म कायमै छ ।

महिलाहरु साउने सङ्क्रान्ति अर्थात् आजका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमवारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमवारको व्रतको महत्व छ । साउन महिना जताततै हरियाली हुने भएका कारण पनि हरिया चुरासहित श्रृङ्गारका समान पहिरिनु प्रकृतिसम्मत प्रचलन हुनसक्ने बताइन्छ । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्ने गरेको छ ।


क्याटेगोरी : कला


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!