आईतबार, असोज ३१, २०७८
गृहपृष्ठकलासिरानी ननाघ्दा

सिरानी ननाघ्दा


“ए राजु, सुन त । तिमी र रोजीना भोली सदरमुकाममा हुने हाम्रो संगठनको बिद्यार्थीहरुको जिल्ला भेलामा जाने है सुटुक्क । सबै कुरा म मिलाउंला । मिलेछ भने म पनि जाउंला नत्र तिमीहरु मात्र जाने र यो काम खुसुक्क गर्न पर्छ । हेडसर हाम्रा पार्टीका हैनन् थाहपाए भने खेदो गर्छन् ।” सरले सिकाए जस्तै सल्लाह गरेर रोजिना र म चौकी छेउको बसस्टपमा ६ बजे आएर सरलार्ई कुरेको २ मिनेटमै सर आइपुग्नु भो र खल्तीबाट रु. १०० को नोट निकाल्दै “ल म जान नमिल्ने भो तिमीहरु जाओ यतिले तिमीहरुलार्ई खाना खर्च पुगिहाल्छ गाडीले बिद्यार्थीलार्ई भाडा लिंदैन ।” सर यति भन्दै हिंड्नुुभो । ६ः१५ मा सदरमुकाम जाने गाडी आइपुुग्यो, रोजिना र म गाडीमा चढ्यौं । गाडी खचाखच थियो, माथिको बार समातेर झूण्डिदै यात्रा गर्नुको बिकल्प थिएन । आकाशे रंगको सर्ट र पाइन्ट अनि खुट्टा घुसाउने चप्पल लगाएको म अनि आकाशे रंगको सर्ट, निलो फ्रक र सेतो सुरुवाल लगाएकी रोजिना, हामी बिद्यार्थी, खलांसीले यसो पुलक्क हेर्‍यो तर भाडा मागेन र उसलाई थाहा थियो यो ठाउंको बिद्यार्थीहरुलाई किचकिच गर्नुभनेको भोली फर्कदा गाडी रोकेर बिद्यार्थीहरुको पिटाइ खानु अनि गाडी तोडफोड गराइमाग्नु ।

११ः०० बजे बस सदरमुकाम पुग्यो । जिबिसको हलमा कार्यक्रम हुने भनेको समय पनि त्यही । हामी हतार हतार झरेर कार्यक्रम स्थलतिर लाग्यौ । तर थोरै मात्र सहभागी आइपुगेकोले कार्यक्रम अलि ढिलो हुुने भनेकोले हामी लाग्यौं केही पर रहेको होटेल तिर खानाको खोजिमा । सधैं घरमा खाना खाइरहेको हामी भात खाने इच्छा भएन अनी रोजिनाको इच्छा अनुसार थुक्पा खाएर मुख फेरी तृप्त भयौं । बाटोमा एउटा एउटा बरफ किनेर चुस्दै एक अर्कालाई हेर्दै कार्यक्रम स्थलमा फर्किदा छुट्टै संसारमा पुुगेको महशुस भइरहेको थियो । सानो पार्टीको सानै बिद्यार्थी संगठन, थोरै सहभागी तर केन्द्रको प्रतिनिधि नआइपुुगेकोले अझैै कार्यक्रम शुुरुवात हुुने छांटकाट थिएन । हाम्रो बिद्यालयमा पनि अलि हक्की र बिद्रोही स्वभावको म, त्यस्तै रोजिना अध्यक्ष र म महासचिव राखेर अनि केही बिद्यार्थीहरु समेटेर रमेश सरले सुटुक्क यो बिद्यार्थीहरुको संगठन बनाउनु भएको थियो जसको जानकारी हामी समितिमा रहेकोलाई मात्र थियो । हामी कार्यक्रमस्थल वरपरकै चौर मै टहल्दै रह्यौं । कहिले काहीं एक अर्कालार्ई हेर्दै मुुस्काउंथ्यौ । १७ बर्षको म अनि १८ कि रोजिना, मेरो अध्यक्ष, एउटै संगठनमा लागे पछि अलिक आर्कषित भई उनको लागि म राजुु बेलाबेलामा “राज” भएको थिएं भने उनि मेरा लागि “रोजी” । हामी कहिलेकाही एक्लै हुंदा यो नामले बोलाउंदै जिस्कन्थ्यौ मात्र । अनि मैले प्रस्ताव राखे “रोजी, आज म तिमिलाई रोजी मात्र भन्छुु अनि तिमि मलार्ई राज मात्र भन ल ।” हामीले फेरि एक अर्कालार्ई तिमि भन्ने पनि यस्तै बेलामा हो नत्र भने तँ तँ र म म । रोजीले पुलुक्क हेर्दै केहीबेर मुस्काएर म तिर हेरिराखिन मलाई कस्तो कस्तो लाग्यो तर उनि अलि लजाएर हल्का निहुुंरिदै “हुन्छ” भनिन् । मनलार्ई अच्चम्मको राहत र आहट महशुस भयो (अहिले आएर यो पल सम्झिंदा यो कुर्ता सुरुवाल सलको जमानामा सल समाएर भनेकी भए …. काश)।
केन्द्रको प्रतिनिधी शरद १ बजे आइपुगे, अर्को कार्यक्रम भ्याएर आउंदा ढिलो भयो रे । अनी शुरु भयो हाम्रो कार्यक्रम । दमदार भाषण, साथीहरुको जोश अनि सांस्कृतिक कार्यक्रम, कतिबेला ३ बज्यो पत्तै भएन रोजीको हातमा भएको मिल्के घडिमा हेर्दा पो ट्वां । लास्ट बस छुट्ने समय ३ः३० बजे, केन्द्रको प्रतिनिधिको भाषण अझै बांकि, बसपार्क पुुग्न १० मिनेट जतिलाग्ने । रोजीलार्ई के गर्ने भनेर सोधेको शरदको भाषण कही बेर सुनेर जाउन भनी म पनि हुुन्छ भनेर बसे। शरदको दमदार रगत उम्लने भाषण, गडगडाहट तालिको बर्षा, भाषण सकिंदा ४ः३० । अब शुुरु भो हाम्रो तनाव । उसले घडी देखाउने बित्तिकै हामी एकै सासमा हलबाहिर निस्क्यौ यसरी कि बस भेटीहाल्छौं, अनि फटाफट हिड्न थाल्यौ बसपार्क तिर । बसपार्क पुुग्दा पार्क रित्तो, कुनै साधन पाउने सम्भावना छैन । अब रोजिना सुुकसुुकाउन थाली अनि हामीबसपार्क अलिपरको रुखमुनि बसेर गर्न थाल्यौ गलफती । तैंले किन घडि नहेरेको, तैले किन नहेरेको, उसको रोनाधोना त छदैछ । १०-१२मिनेटको गलफती पछि मैले भने हेर रोजी अब यसरी समाधान हुुंदैन के गर्ने सल्लाह गर्न पर्छ । मलार्ई रुदै हेर्दै भन्छे “तेरो केही योजना छ जस्तो छ अनि तैले अल्मल्याइस बुझिस ।” “ह्या मुला त पनि के के भन्छेस आफुलार्ई तनाव भइराछ दस थोक भन्छेस कस्सम त्यस्तो केही हैन अनि सुन कस्सम त्यस्तो केहीहुदैन र गर्दिन पनि बुझिस् ।” उनले आफ्नो आंसुु पुुछ्दै नजिकआएर टांसिए झैँ गरी मेरो हात समात्दै भनि “राज कस्स्स्सम है ।” मैले नि भने “ल कस्स्सम ।” उ मुस्कुुराइ मैले सोचे यि केटीहरु पनि अचम्मका ।
मैले खल्ती छामे सरले दिएको रु. १०० मा बांकी रहेको रु. ५० आफुसंग भएको रु. ५० । रोजीले निकाली सबैतिर गरेर रु.४५ । अब पर्‍यो फसाद एउटा कोठाको सस्तोमा पनि रु.१०० लिन्छन अनि हामी एक केटा एक केटी चाहियो २ वटा कोठा, खानुपर्‍यो । अब फेरी शुरु भो रोजीको आंसुु अनि केहिबेरमै उसले नै आंसुु पुछ्दै भनि “ल एउटै कोठामा तर फेरी त्यस्तो केही हैन नी”। मैले भनिहाले “कस्स्स्स्सम हैन” । उसले विस्वास भरोसा सबै जताए जसैगरी मेरो हात दह्रो संग समाती । उ पर तिर हेर्दै थिइ म कहिले उसलाई कहिले अस्ताउन लागेको घामलाई हेर्दै रहें हात थाम्दै ।
अंध्यारो हुनलाग्यो भोकलाग्दै थियो होटेल खोज्नुु नै थियो । मैले सोधे के खाने । उसले अहिले मासुको झोल संगको थुुक्पा खाउं अनि बांकी पैसाले भोलि बिहान गाडी चढ्नुु अघि कि सेल कि चना खाने । मैले हुन्छ भने र हामी अगाडीको होटेलमा छिरेर मासुको झोलको थुक्पा अर्डर गरेर मज्जालिएर खायौं । अनि रोजीले सोधी “कोठा खाली छ साहुजी”। साहुजीले भन्यो “छ ११० पर्छ” । मैले भने “ह्या साहुजी ९० मा मिलाउनुुस न”। “हुन्छ तर तपाईंहरु को ?” । “हामी दिदीभाई” रोजीले बोलिहाली म भने अर्को रु. १० जोगाएं भनेर मख्ख । अब भोलिबिहान चना र सेल दुुवै खानपाइने भो । कोठाको चावी लिएर हामी गयौं कोठामा । सानो कोठा अनि एउटा खाट अब पर्‍यो फसाद । भुुईं त्यती सुत्नलाईकको थिएन । रोजीले पुुलुक्क मलाई हेर्दै भनिन “बिस्वास छ भने एउटै खाटमा सुत्दानी केही फरक पर्दैन हैन”, मैले पनि भनिहाले “त्यही त धन्न सिरानी चाहीं दुुइवटा रहेछ”। अनि बल्ल हास्यौ हामी दुुवैजना खितिति । जसै सुत्न ठिक पर्दै थियौं भयो लोडसेडिङ्ग । कात्तिकको महिना, बिदालयको ड्रेस अनि भइयो गुटुुमुुटुु एउटै सिरक भित्र । कुरा कसरी मिलाउने भोली मैले सोधे “सरले मिलाईहालनुहुन्छ नी” उनले भनिन । शुुरु भयो गफ, साथीका कुरा, हाम्रा कुरा, नेताका कुरा सर मिसका कुरा, प्याट्ट पुट्ट, हांसो, घचेटाघचेट, अँधेरै छ १ बजि सक्यो मिल्के घडिमा आंखामा निद्रा छैन छ त हँंसीमजाक, केवल मिठास, सरिरको न्यानो संसर्ग,……, भावनाहरुको साटासाट । बिहान गाडीको हर्नले ५ः३० बजे बिउंझिइयो कतिखेर निदाइयो पत्तै भएन । मुख धोएर तलझरेर बस कुर्दै गर्दा रोजीले मिठासपुर्वक सोधिन् “राज तिमी मेरो लागि के के गर्न सक्छौ” मैले पनि उनलाई हेर्दै रोमाञ्चित हुुंदै भने “तिमी भन मात्र रोजी म आकाशको जुन ल्याइदिन्छु तारा झारिदिन्छुु” । उनले मुुस्कुुराउंदै ओठ लेप्र्याएर भनिन् “जाबो एउटा सिरानी नाघ्न नसक्नेले आकाशको तारा झारिदिन्छुु रे” । -कमल भण्डारी


क्याटेगोरी : कला
ट्याग : #Literature, #story

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!