आईतबार, असोज ३१, २०७८
गृहपृष्ठकलासुन्ने सुनाउने शृंखला शब्द सारथि भोलिबाट फेरि सञ्चालनमा

सुन्ने सुनाउने शृंखला शब्द सारथि भोलिबाट फेरि सञ्चालनमा


चौतारा । सिन्धुपाल्चोकबाट सञ्चालित साहित्यिक रचना सुन्ने सुनाउने शृंखला फेरि सूचारु हुने भएको छ । कोरोना महामारीका क्रममा रोकिएको शृंखला असोज १ (शुक्रबार)बाट फेरि सञ्चालन गरिन लागिएको हो ।
साहित्यलाई प्रबद्र्धन गर्ने र नयाँ स्रष्टालाई प्रतिभा प्रस्फुटन गर्न थलो प्रदान गर्ने उद्देश्यले शब्द सारथिको सुरुआत गरिएको थियो । ९५ शृंखलासम्म चलेको शृंखला भोलिबाट फेरि सञ्चालन गरिन लागिएको शब्द सारथिका अध्यक्ष अमित घिमिरेले जानकारी दिए । ‘कोरोनाका कारण बीचमै स्थगित गरिएको थियो,’ उनले भने, ‘अहिले जनजीवन सामान्य अवस्थामा फर्किएकाले फेरि सुरुआत गर्न लागेका हौं ।’
६ जना साहित्यिक अभियन्ताबाट सुरु गरिएको पहिलो शृङ्खला हुँदै हालसम्म एक सय भन्दा बढी साहित्यिक व्यक्तिहरुले रचना सुनाइसकेका छन् । २०७५ भदौ १६ बाट शब्द–सारथि सुरुवात गरिएको थियो । शृंखला सुरु भएपछि विभिन्न आन्दोलन, पहिचानको खोजी, समृद्धि र समुन्नत समाजकोे पक्षमा यो संस्था अनवरत रुपमा अगाडि बढेको संस्थाका सचिव सुन्दर शिरीषले जानकारी दिए ।
शब्द सारथिले गौराति भीमेश्वर मेलाको अवसरमा पर्यटनका लागि साहित्य, कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी निर्मला पन्तको न्यायका निम्ति कविता, सिन्धु साहित्य उत्सव, पुस्तक विमोचन कार्यक्रमहरु शृंखलाकै क्रममा गरेको छ । त्यस्तै साहित्यका विविध विधालाई समेट्ने ध्येयले मुक्तक विशेष, हाइकु विशेष, बाल साहित्य विशेषजस्ता शृखलाहरुसमेत गरेको शब्द सारथिले जनाएको छ । अभियानलाई कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, शिक्षक, नागरिक समाज, सञ्चारकर्मी लगायत सारथि बनेर यो अभियानलाई हौसला प्रदान गरिरहेका छन् ।
शृंखला हरेक शुक्रबार दिउँसो ३ः०० बजे नियमित सञ्चालन हुने गरेको छ ।


क्याटेगोरी : कला


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!