ननिभ्ने आगो (कविता)

- नवराज रायमाझी
आँखाबाट निकालेर सगोल चित्र
मुखबाट निकालेर समानताको धुन
दिमागबाट निकालेर चेतना
घनघोर बर्षिएका हुन् कलमबाट
विभेदकारी संरचना भत्काउने विचारहरू
विचारहरूमा भरेर आत्मा
बस्ती-बस्तीबाट जुर्मुराएको हो,
एकताको मुठ्ठी।
छाडेर नाम्लो र डोको
असह्य भएपछि हिडेको हो,
मुक्तिमोर्चाको लाइनमा
दृढता साथ मुक्तिको बाटो,
आफ्नो मृत्यु आफैं लेखेर निधारमा
निस्कनु अघि..
संगालेर बा’का ऋणका तमसुकहरू
निस्किएको हो किसानको छोरो
कहिल्यै निदाउन नदिनेहरूको
निद च्यात्न।
म पिधँमा परें,
किचिएँ म,
दुख्यो मलाई,
नथुन मलाई पिंजडाभित्र,
म चाहन्छु मेरै आकाशमा उड्न
भन्दाभन्दै उ समातिएको हो
घोषित गरिएको हो देशद्रोहि
बनाइएको हो आतंककारी
र हात बाँधेर ठोकिएको हो बन्दुक छातीमा
ढ्वाङ.. ढ्वाङ..
आज सोही बन्दुक
हावाको छातीमा पड्काएर दिइरहेछन्,
सहिदको सम्झनामा सलामी।
उसकै मुड्कीले हानिएको हो सत्ताको टाउकोमा
उसकै विचारले रोपेको हो चेतनाको बिज
उसकै रगतले बगाएको हो व्यवस्थाको भर्याङ्ग
यीनै योद्धाहरूको बलिदानले
सफल भएको हो क्रान्ति!
तर
आज
२० बर्षपछि
बा’ ढोका माथिको हँसिलो तस्बिर हेर्छन्,
अनि हेर्छन् देशको तस्बिर..
निकालेर छोराको रगत लत्पतिएको झन्डा
बेरेर निधारमा
गाउदै निस्किएका छन्।
“उठ्नेछन् सपना,जुट्नेछन् मुठ्ठी
अझैपनि लड्नु छदैछ।”
(कवि नवराज रायमाझीको यो कविता स्व. कञ्चन प्रियदर्शीको शालिक अनावरण कार्यक्रममा आयोजित खुला कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कविता हो ।)
क्याटेगोरी : कला
तपाईको प्रतिक्रिया दिनुहोस