Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठअर्थहेलम्बुमा विस्तार हुँदै चिया खेती

हेलम्बुमा विस्तार हुँदै चिया खेती


हेलम्बु ।
गाउँवासीले चिया खेतीमा अग्रसरता देखाएपछि हेलम्बु गाउँपालिकाको पहलमा सुरु गरिएको चिया खेती अहिले विस्तार गरिएको हो । दुई वर्षअघिबाट किसानलाई निशुल्क विरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँ गाउँमा फैलिएको हो ।
खेर गएको बाँझो जमिनमा चिया खेती सुरु गरेका स्थानीयले खेती विस्तार गर्दै गाउँलाई चियाको पकेटक्षेत्र बनाउने लक्ष्यअनुसार खेती गरिरहेका छन् । दुई दसकपछि फेरि स्याउ फलाएर प्रख्याती कमाएको हेलम्बु गाउँपालिकालाई स्याउ पछि चियाको प्रख्यातीमा लैजान गाउँपालिकासमेत जुटेको छ ।
दुई वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । सुरुमा उत्पादित विरुवा लगेर गाउँपालिकाको वडा नं. १,२,४,६ र ७ का किसानले खेती लगाएका थिए । त्यतिबेला दुई हेक्टर जमिनमा लगाइएको चिया खेती अहिले करिब ३ सय रोपनीमा थप खेती गरिएको छ ।
गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै थप पर्यटन प्रर्वद्धनका लागि गाउँवासीकै सक्रियतामा चिया खेती लगाएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । हेलम्बु गाउँपालिकाको सहयोगमा अर्थाेडक्स चिया लगाइएको हो । ‘गाउँमै रोजगारी हुने मात्रै नभई पालिकालाई अर्थतन्त्रमा बलियो बनाउन यसले सहयोग पु¥याउने अपेक्षा छ ।’ अध्यक्ष शेर्पाले भने । चिया खेती थप गर्ने क्रममा रहेकाले गाउँमै प्रसोधन केन्द्र स्थापना गर्ने योजना रहेको उनले बताए ।
गाउँका किसानले चिया खेती गर्ने इच्छा जनाएपछि गाउँपालिकाले कीर्तिपुरस्थित चिया तथा कफी विकास शाखासँग समन्वय गरी स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो । सातासम्म गरेको अध्ययनबाट समुद्री सतहबाट एक हजार दुईसय मिटरदेखि दुईहजार तीनसय मिटर उचाइसम्म चियाखेती सम्भव हुने पाइएपछि चियाको नर्सरी तयार गरि विरुवा उत्पादन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।
अन्नबालीको उत्पादन कम हुने क्षेत्रमा विकल्पको रुपमा फलफूल तथा अन्य बालीलाई प्राथमिकता दिन थालिएको हो ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस