Techie IT
Monday, March 8,2021 / सोमबार, फागुन २४, २०७७
×
गृहपृष्ठअर्थसाख फर्काउँदै तातोपानी भन्सार, कन्टेनर हुक एण्ड ड्रप मोडलले बढायो राजश्व

साख फर्काउँदै तातोपानी भन्सार, कन्टेनर हुक एण्ड ड्रप मोडलले बढायो राजश्व


तातोपानी । भूकम्पको चार वर्षपछि आंशिक सञ्चालनमा आएको तातोपानी नाकाबाट व्यापार सुचारु भएको डेढ वर्षपछि आशातित कारोबार सुरु हुन थालेको छ । आंशिक सञ्चालनमा रहेको भन्सार नाकाबाट पुस महिनादेखि मात्र आशातित् कारोबार सुरु भएको हो ।
लामो समय चीनका विभिन्न सहरमा थन्किएका नेपाली व्यवसायीका झण्डै एक हजार कन्टेनर सामान पुसको अन्तिमसम्म तातोपानी नाकाबाट राजधानी भित्रिएपछि पुनः नाकाबाट आशा गरिए अनुरुप कारोबार सञ्चालन हुने अपेक्षा गरिएको छ । नाकाबाट ‘कन्टेनर हुक एण्ड ड्रप मोडल’ मा कारोबार सुरु गरेपछि आयात निर्यात बढेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।

खत्रीका अनुसार कारोबार सुरु भएको डेढ वर्षपछि पुस महिनामा भन्सारले २१ करोड ६७ लाख रुपैया राजश्व संकलन गरेको छ । यस अघि साउनदेखि मंसिरसम्म जम्मा १७ करोड मात्र राजश्व संकलन भएको खत्रीले जानकारीदिए । पछिल्लो समय कोभिड १९ महामारीलाई ध्यानमा दिंदै नाकामा कन्टेनर हुक एण्ड ड्रप मोडल सुरु गरिएको हो । ‘यस मोडल अनुसार चिनबाट सामान आएको कन्टेनर सिधै लिपिङसम्म आउने र उक्त कन्टेनरको हेड उतै फर्किएपछि यताबाट कन्टेनरको टेलरलाई अर्को हेड जोडेर भन्सार यार्डसम्म ल्याउने व्यवस्था मिलाइएको छ’, प्रमुख भन्सार अधिकृत खत्रीले भने, ‘यो मोडल अपनाउँदा सामान ल्याउने व्यक्तिहरुबीच प्रत्यक्ष सम्पर्क नहुने र लोड अनलोडको झन्जट समेत नहुने भएकाले आयात निर्यात बढेको छ ।’ पछिल्लो दुई महिनामा भन्सारबाट सात सय २८ कन्टेनर सामान राजधानी भित्रिएको छ ।

नयाँ मोडलबाट कारोबार सञ्चालनमा ल्याइएकाले आगामी दिनमा तातोपानी नाकाको साख पुनः फर्किनेमा आफूहरु आशावादी रहेको खत्रीले बताए । पछिल्लो समय बिहिबारबाट नेपाल चीन जोड्ने मितेरी पुल मर्मतको काम थालिएकाले करिब २० दिन कारोबार बन्द हुने भएकाले पुल मर्मतपछि सहज रुपमा आयात निर्यात सुचारु हुने खत्रीको विश्वास छ ।

लामो समयको बन्दले मारमा परेका व्यवसायी नाकाबाट आयात निर्यात बढेपछि केही उत्साहित भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठ बताउँछन् । ढिलै भएपनि चिनको विभिन्न ठाउँमा रोकिएका सामाग्री नेपाल भित्रिएपछि आगामी दिनमा अझ सहज रुपमा आयात निर्यात गर्न सकिने आशा पलाएको श्रेष्ठले बताए । सहज रुपमा आयात निर्यात गर्न सक्ने अबस्था आएमा व्यवसायीहरु व्यापार गर्न तयार रहेकाले तातोपानीको पूरानो साख फर्काउन सकिने श्रेष्ठको विश्वास छ ।

२०७२ सालको भूकम्पपछि मितेरी पुल र अन्य संरचना क्षति पुगेको भन्दै चिनले तातोपानी नाका बन्द गरेको थियो । पुलको पुर्ननिर्माणपछि २०७६ जेठ १५ गतेबाट आंशिक सञ्चालनमा ल्याइएको नाका त्यस यता कोरोना, बाढि पहिरो लगायतका अवरोधले आठ पटक बन्द हुँदै खुल्दै गरेको थियो । असोजदेखि निरन्तर सञ्चालनमा रहेपनि पुस लागेपछि मात्र आयातको क्र बढेको थियो । भूकम्प अघि तातोपानी नाकाबाट वार्षिक २० देखि २५ अर्बको आयात निर्यात हुँदा पाँच अर्ब बढि राजश्व संकलन हुने गरेको थियो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस