शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठअर्थकाष्ठकलामा लोभलाग्ने ह्योल्मो संस्कृति

काष्ठकलामा लोभलाग्ने ह्योल्मो संस्कृति


हेलम्बु । वैशाख १२ २०७२ को भूकम्प र त्यसपछिका पराकम्पनले हेलम्बुमा रहेका ह्योल्मो संस्कृतिलाई निमिट्यान्न पार्यो । भूकम्पको एकै झट्काले घर ग्राउण्ड जिरो बनाएपछि ह्योल्मो संस्कृति झल्कने सबै संरचना विलिन भयो ।
ह्योल्मो समुदायले विस्तारै भूकम्पको पीडा बिर्सदैं गए । तर, संस्कृति बिर्सन सकेनन् । र, त अहिले फेरि निकै मेहनतका साथ काष्ठकलामा ह्योल्मो संस्कृति झल्कने कलाका साथ घर ठड्याएका छन् निकै मेहनत गरेर ।
इटा, बालुवा र सिमेन्टको एकतले घरमा जस्ताको चिटिक्क छानो । हेलम्बु गाउँपालिका वडा १ तेम्बाथानका सांगे लामा ह्योल्मोको घर हेर्दा अहिले पनि आधुनिक लाग्छ । तर, घरको झ्याल र भित्री सजावटले भने परम्परागत ह्योल्मो संस्कृतिको झल्को दिन्छन् । भूकम्पले भत्काएपछि ४६ वर्षका सांगेले घर आधुनिक शैलीमा बनाएपनि परम्परालाई बिर्सन सकेनन् । ‘भूकम्पले कलात्मक घर ध्वस्त बनायो, त्यसपछि त्यस्तै पुरानो शैलीको घर बनाउन सकिएन, हालै घर आधुनिक भएपनि झ्याल र भित्रि सजावट पुरानै राखियो ।’सांगेले भने ।
ह्योल्मोभूमि हेलम्बुभर पुरानै शैलीका घर बनाउन आर्थिक स्रोतले नभ्याउने भएपछि प्रायः सबैले भूकम्पपछि यस्तै घरमा ह्योल्मो संस्कृति झल्कने झ्याल हालेर आवास ठड्याएका छन् ।
सांगेको घरमा राखिएको ‘नामग्याल घोसुम’ उपत्यकाको मल्लकालीन शैलीका नेवारी झ्यालजस्तै देखिन्छ । तर यस्तो झ्याल बनाउने परम्परा कहिले देखि सुरु भयो भन्ने उनलाई थाहा छैन । ‘याजेहरुले सुरु गर्नु भएको होला, अहिले यस्तो कलात्मक झ्याल बनाउने एकदमै कम छन्, यो एकदमै महंगो पनि पर्छ ।’ उनले भने ।
हेलम्बु गापा २ शेर्माथानकी ४३ वर्षिया सोनुमाया ह्योल्मोको दुई तले घर पनि ढलान गरेर आधुनिक शैलीमा बनेको छ । तर, घरभित्रको सजावट भने पुरानै छ । पूजाकोठामा छ्येटी बक्सी (पूजा गर्न बनाइएको दराज) ,कायूल बक्सी (थाल,कचौरा आदि राख्ने दराज) मा अष्टमंगल कुदिएको छ । सोनुकी पति पदमले काठको बुट्टेदार पूजाकोठा एक महिना लगाएर सजाए । ह्योल्मो बौद्ध परम्पराअनुसार ‘नामग्याल घोसुम’ झ्याल राखिएपछि भुतप्रेत, रोग, व्याधिजस्ता सबै समस्या घरभित्र आउन पाउदैन । ‘नामग्याल घोसुम ’एकदमै महंगो पर्छ, झण्डै एक लाख पर्न खोज्छ ।’ उनले भनिन् ।
हेलम्बु शेर्माथान्का ह्योल्मो सास्कृतिक अनुसन्धानदाता टासी दोङ्बा ह्योल्मोकाअनुसार ह्योल्मो आदिबासी जनजातीमा सूचीकृत छन् । ‘भूकम्पले घर मात्रै ढलाएन्, हेलम्बुको प्राचिन सभ्यता र परम्परा ध्वस्त बनाइदियो, पहिले ‘म्यच्र्या कूमा’ शैलीका घर बनाइथ्ये, पुराना सामाग्री बनाउने र त्यसको प्रयोग गरिन्थ्यो, अहिले त्यो दुर्लभ दुश्य बन्दैआएको छ ।’ ह्योल्मोले भने ।
परम्परागत शैलीका धाम्चे, फर्को, स्हाङ, बिसौली आदिजस्ता पुराना शैलीका सामाग्री अहिले कमै घरमा मात्रै भेटिने उनले उल्लेख गरे । स्थानीय तहबाट यस्ता कलात्मक संस्कृति जर्गेनाको लागि कलात्मक झ्याल र अन्य सजावट वस्तु बनाउने तालिम दिएको हेलम्बु गाउ“पालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । हेलम्बुमा पर्यटकीय आर्कषणको लागि कलात्मक र पुरानै परम्परा बसाउन प्रयास गरिरहेको उनले बताए ।


क्याटेगोरी : अर्थ, पर्यटन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!