Techie IT
Saturday, April 17,2021 / शुक्रबार, वैशाख ३, २०७८
×
गृहपृष्ठअर्थउद्गमस्थल ठोकर्पामा नेपालकै पहिलो सामुदायिक वन अध्ययन केन्द्र

उद्गमस्थल ठोकर्पामा नेपालकै पहिलो सामुदायिक वन अध्ययन केन्द्र


ठोकर्पा । नेपालकै पहिलो सामुदायिक वनको उद्गमस्थल ठोकर्पामा सामुदायिक वन अध्ययन केन्द्रको भवन बन्ने भएको छ । बहुवर्षीय कार्यक्रम अन्तर्गत करिब ४५ करोडको लगानीमा सुविधासम्पन्न अध्ययन केन्द्र बन्ने सुनकोसी गाउँपालिका १ का वडाध्यक्ष नेत्र कार्कीले जानकारी दिए । सभामुख अग्नि प्रसाद सापकोटाले शुक्रबार ठोकर्पा पुगेर अधययन केन्द्रको भवन निर्माणको शिलान्यास गरेका हुन् ।

संघीय सरकार वन तथा भुसंरक्षण मन्त्रालयले निर्माण गर्न लागेको अध्ययन केन्द्रको भवन निर्माणका लागि चालू आर्थिक वर्षमा १ करोड ६८ लाख छुट्टयाइएको छ । १० वटा भवनमा होस्टल, पुस्तकालय, सेमिनार हल, प्रशासनिक भवन, म्युजियम, क्यान्टिन, स्विमिङ पुलको समेत निर्माण गरिनेछ । अध्ययन केन्द्रको भवनमा सामुदायिक वनका विषयमा अध्ययन गर्ने जो कोहीले आएर बस्ने व्यवस्थाका लागि होस्टलको निर्माण गर्न लागिएको हो ।

सामुदायिक वनको इतिहाँस सुरु भएको ठोकर्पामा म्युजियम समेत राखिनेछ । त्यसमा स्थानीय समुदायले सामुदायिक वनको संरक्षणका लागि गरेका प्रयासहरु राखिने वडाध्यक्ष कार्कीले बताए । ठोकर्पाका स्थानीय निल प्रसाद भण्डारीले २०२८ सालमा सामुदायिक वनको अवधारणा ल्याएका हुन् । वन फडानी गरेपछि घाँस दाउराको समेत दुख भोगेका स्थानीयको समस्यालाई मध्यनजर गर्दै आफ्नो वन आफै हुर्काउने सपना भण्डारीले देखेपछि आज ठोकर्पा सामुदायिक वनका लागि अध्ययनको केन्द्र बनेको छ । यहाँका स्थानीयले सामुदायिक वनको संरक्षणका लागि गरेका कामहरु उदाहरणीय छन् ।

सरकारी तारबार र सुरक्षाकर्मीको उपस्थितिमा संरक्षण नभएको वन केही वर्षमा नै स्थानीयको सहभागितामा हराभरा भएको थियो । आज त्यही ठोकर्पामा सामुदायिक वनका बारेमा अध्ययन गर्न चाहनेका लागि नेपालकै पहिलो सामुदायिक वन अध्ययनको केन्द्र बन्ने भएको छ । वन विभागका महानिर्देशक मन बहादुर खड्काले यो अध्ययन केन्द्रका सामुदायिक वन सम्बन्धी अध्ययन गनै चाहने जो कोही आएर बस्न र अध्ययन गनै सक्ने बताए ।

निल प्रसादका छोरा उतम भण्डारीले बुबाको एउटा ठूलो सपना आज पूरा हुन लागेकोमा खुशी व्यक्त गरे । उनले भने, ठोकर्पामा बुबाको सामुदायिक वनका बारेमा अध्ययन गर्न चाहनेका लागि अध्ययन केन्द्र बनाउने सपना थियो जुन पूरा नहुँदै बुबा बित्नुभयो त्यसलाई अहिले साकार रुप दिन पाउँदा निकै हर्षित छु । केन्द्रको भवन निर्माण पछि पर्यटकीय स्थानका रुपमा समेत ठोकर्पा विकसित हुने र स्थानीयहरुले व्यवसाय र रोजगारी गरेर आर्थिक उपार्जन गर्ने पनि उनले बताए । ठोकर्पामा रहेको अध्ययन केन्द्रमा काठमाडौ बबरमहलमा रहेको सामुदायिक वनको केन्द्रीय कार्यालय समेत रहनेछ । सुनकोसी कन्स्ट्रक्सन प्रालिले यस वर्षको ठेक्का पाएको छ ।

अभियानको शुरुवात
भण्डारीले २०२९ साल फागुन २८ गते उनले १० वर्षका लागि वन संरक्षणको जिम्मा गाउँलेलाई दिनुपर्ने प्रस्ताव गाउँसभाबाट पारित गराएपछि अभियान शुरु भएको थियो । प्रस्तावमा लेखिएको थियो,‘यो गाउँ पञ्चायत भित्रको जंगलमा ४ फिट माथिको रुख छैन । गोलाई ४ फिट भएको रुखमा काट्न मात्र सरकारले टाँचा लगाउन मिल्छ । त्यसका लागि कम्तिमा १० वर्ष कुर्नुपर्छ । त्यसैले त्यही समय परीक्षणका लागि भएपनि वन संरक्षणको जिम्मा सरकारले गाउँलेलाई दिनुपर्छ ।’ जनस्तरबाट वन जोगाउन गठन भएको समिति त्यो मुलुकमै पहिलो थियो ।

उपभोक्ताले नै वन जोगाउने जिम्मेवारी मागेको घटना पहिलो भएकाले त्यसतबेला सरकारी निकाय अलमलमा प¥यो । भण्डारीले राखेको प्रस्तवामाथि लामो छलफल चल्यो । वन संरक्षक, प्रहरी र वन कर्मचारीले पहरा दिएर कानुनी कारबाहीको व्यवस्था गर्दा नजोगिएको वन जनताले कसरी जोगाउलान् भनेर सरकारले विश्वास गर्न सकेन । जनदबाव धेरै भएपछि जिल्ला वन डिभिजन कार्यालय सिन्धुपाल्चोकको सल्लाहमा सरकारले २०३० साल साउन २५ गते वन संरक्षणको जिम्मा २ वर्षका लागि स्थानीयका लागि दिएको थियो ।

सरकारले शर्त राखेर वन जिम्मा दिएपछि तत्कालिन मन्त्री जोगमेहर श्रेष्ठको उपस्थितीमा भएको निर्णय कार्यान्वयन गराउने सिलसिलामा २०३० साल कात्तिक १२ गते गाउँ पञ्चायतको बैठकले भण्डारीको अध्यक्षतामा १ सय ३ सदस्यीय वन संरक्षण, प्रवद्र्धन र विकास समिति गठन गरियो । तत्कालिन डिभिजन प्रमुख(डिएफओ) महत सरकारले वन जिम्मा दिएको सन्देश प्रबाह गर्न २०३० साल माघ २७ गते ठोकर्पा गएका थिए । उक्त दिन भण्डारीको अध्यक्षतामा गठित समितिको बैठकमा महत सहभागी भएका थिए । गाउँले र कर्मचारी एकैथलोमा बसेर वन संरक्षण सम्बन्धी बैठक भएको त्यो पहिलो बैठक थियो ।

कुवाको पानीले हुर्किए बिरुवा
सरकारले वन संरक्षणको जिम्मेवारी पाएपछि गाउँलले ठोकर्पाका नांगाडाँडामा फागुन–चैतको सुख्खा मौसममा बृक्षारोपण गरेर बिरुवा हुर्काएका थिए । त्यतिबेला यतायातको सुविधा नभएकाले उनीहरुले सदरमुकामस्थित पात्लेपानी वन नर्सरीबाट दुई दिन लगाएर डोकोमा बोकर गाउँमा बिरुवा ल्याएका थिए । टाढाटाढाको कुवा र धाराबाट गाग्री र टिन बोकेर पानी हालेर बिरुवा हुर्काएका थिए । गाउँका नांगाडाँडाहरुमा ६ लाख बिरुवा रोपिएको थियो । २०३६ सालमा भने बृक्षारोपणका लागि ‘विद्यालय नर्सरी’ स्थापना गरिएको थियो । स्थानीय विद्यालयका बालबालिकाले नर्सरीमा काम गर्थे । विद्यालय नर्सरी जिल्लामै पहिलो थियो । बृक्षारोपण क्षेत्रलाई गाउँलेले तारबारविनानै जोगाएका थिए ।

ठोकर्पामा २०३१ सालमा बृक्षारोपणको शुरुवात गरिएको थियो । ठोकर्पामा २०३५ सालमै नांगाडाँडाहरु हरियाली भएका थिए । २०३७ सालदेखि नेपाल अष्ट्रेलिया वन परियोजनाले वन विकासमा सहयोग गर्दै आएको थियो । २०४२ सालमा राजा विरेन्द्र सामुायिक वनको निरीक्षणमा ठोकर्पा गएका थिए । त्यतिबेला विरेन्द्रले यही मोडेलमा वन जोगाउने अभियान मुलुकभर फैलाउन निर्देशन दिएका थिए ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार