Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठअर्थतातोपानी नाकासम्बद्ध व्यापारीको लगानी डुब्ने खतरामा

तातोपानी नाकासम्बद्ध व्यापारीको लगानी डुब्ने खतरामा


तातोपानी । अर्बाै लगानी गरेर आयात गर्न लागिएका सामग्री समयमै चीन्बाट नेपाल भित्र्याउन नसक्दा तातोपानी नाका हुँदै व्यापार गर्ने व्यवसायीका लगानी डुब्ने खतरामा पुगेको छ । सिजन सकिएपछि मात्रै सामग्री नेपाल आइपुग्न थालेपछि विक्री गर्न नसक्दा लगानी डुब्ने खतरामा पुगेको हो ।
तातोपानी नाका पुनः सूचारु भएपनि मालवाहक सामग्री नेपालमा अपेक्षाकृत भित्रिएको छैन । नेपाली व्यवसायीको दसैं र जाडोलक्षित सामग्री अझै खासामै थन्किएर बसेको छ । जाडोको सामग्री गर्मीयाममा र गर्मीका सामग्री जाडोयाममा मात्रै तातोपानी नाका हुँदै नेपाल भित्रिने क्रम बढेपछि व्यवसायीको लगानी जोखिममा परेको हो ।
लामो समयदेखि बन्द रहेको तातोपानी नाका पुनः सूचारु भएपनि चीनको खासामा रोकिएका सामग्री ल्याउन अझै समय लाग्ने भएको छ । नाकाबाट निश्चित मात्रै मालवाहक कन्टेनर नेपाल भित्रिँदा खासामा रहेका सामग्री काठमाण्डौं ल्याउन करिब डेढ महिना लाग्ने भएको हो ।
नेपाली व्यवसायीले दसैं अगावै विक्री गर्नुपर्ने सामग्री खासामा अड्किएका थिए । चिनियाँ पक्षले निश्चित मात्र गाडीमा सामान खासाबाट तातोपानी सुख्खा बन्दरगाहमा पठाउँदा खासामा थन्किएका नेपाली व्यवसायीको दसैं अघि स्टोर गरिएका सामान काठमाडौ आइपुग्न ढिलाई हुने देखिएको हो । दसैं सकिएको र जाडोसमेत मध्यअवस्थामा आएकाले काठमाण्डौं भित्रने सामान विक्री गर्न व्यवसायीलाई कठिनाई हुने सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले जानकारी दिए ।
नाका खुलेपनि सामग्री चीनबाट निकै कम आएको छ । अहिलेकै गतिमा चिनबाट सामान छाड्ने हो भने खासामा रहेका सामान राजधानी आइपुग्न मात्र डेढ महिना लाग्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले बताए ।
‘अहिलेको गतिमा चिनियाँ पक्षले सामान छाड्ने हो भने जाडोका लागि अर्डर गरिएका सामान गर्मी र गर्मीका लागि अर्डर गरिएका सामान जाडोमा आइपुग्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘यही आधारमा सामान छाड्ने हो भने व्यवसायीको लगानी डुव्ने खतरा बढ्दै गएको छ ।’ खासाका अलावा ल्हासा र सिगात्सेमा रहेका सामान समेत कसरी ल्याउने भन्ने चिन्ताले व्यवसायीलाई सताएको श्रेष्ठ बताउँछन् ।
सरकारले कुटनीतिक पहल नगर्दा व्यवसायीले गरेको लगानी डुव्ने अबस्थामा पुगेको हिमालय सीमापार वाणिज्य संघका पूर्व अध्यक्ष विष्णुबहादु खत्रीले बताए । नेपाल र चीन सरकारको स्पष्ट कुरा नआउँदा व्यवसायीका अरबौंैं रुपैयाँका सामग्री चिनियाँ स्टोरमा थन्किएको खत्रीको गुनासो छ ।
‘मन्त्रालय र ल्हासा स्थित महावाणिज्य दुतावास मार्फत खासामा रहेका नेपाली व्यवसायीका सामान छिटो भन्दा छिटो ल्याउन पहल भइरहेको छ,’ तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले भने, ‘चिनियाँ पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएका छन्, छिट्टै समस्या सुल्झिन पनि सक्छ ।’ चिनियाँ पक्षले सामान छाडे तातोपानी भन्सार कार्यालयमा सबै स्वास्थ्य सुरक्षाका उपाय अवलम्वन गरेर सामान जाँच पासको प्रकृया अपनाइएको खत्रीको दाबी छ । खासा कस्टम र अन्य निकायलाई कम्तिमा दैनिक २० वटा गाडी छाड्न आग्रह गरिएको उनको भनाई छ । खासामा स्टोर भएका सामान क्लियर गरेर थप सामान ल्याउने वातावरण सिर्जना गर्न भन्सार कार्यालय लागिपरेको छ ।
अलपत्र सामान ल्याउन नाका सञ्चालनमा आएपनि औसत तीन गाडी भन्दा बढि सामान ल्याउन नदिएपछि अझै कति समय नेपाली व्यवसायीका सामान खासामा अलपत्र पर्न सक्ने सम्भावना देखिएपछि लगानी डुब्ने अवस्थामा पुगेकै कारण व्यवसायी चिन्तित छन् ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!