सिन्धुपाल्चोक । लामो समय बन्द नाका खुलेको उत्साहमा नेपाली व्यवसायीले तातोपानी नाका हुँदै दसैं अघि नै राजधानी भित्र्याउने उद्देश्यले ल्याउन लागेको सामान खासाबाट काठमाडौ उत्रन अझै डेढ महिना लाग्ने भएको छ । चिनिया पक्षले निश्चित मात्र गाडीमा सामान खासाबाट तातोपानी सुख्खा बन्दरगाहमा पठाउँदा खासामा थन्किएका नेपाली व्यवसायीको दसैं अघि स्टोर गरिएका सामान काठमाडौ आइपुग्न डेढ महिना लाग्ने देखिएको हो ।
दसैं अघि सामान आयात गर्ने क्रममा एक जना चालकलाई कोरोना पोजेटिभ देखिएपछि बन्द गरिएको नाका पुनः सुचारु गरेको छ दिनमा जम्मा १६ कन्टेनर सामान तातोपानी भन्सार कार्यालय आइपुगेको छ । व्यवसायीले दसैं अघि नै दसैं र जाडो लक्षित झण्डै एक सय ५० कन्टेनर सामान खासामा ल्याइसकेका छन् । अहिलेकै गतिमा चिनबाट सामान छाड्ने हो भने खासामा रहेका सामान राजधानी आइपुग्न मात्र डेढ महिना लाग्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार व्यवसायीले दसैं अघि नै ल्याएका सामान खासामा स्टोर भएर बसेको छ । अहिलेको गतिमा चिनियाँ पक्षले सामान छाड्ने हो भने जाडोका लागि अर्डर गरिएका सामान गर्मी र गर्मीका लागि अर्डर गरिएका सामान जाडोमा आइपुग्छ, अध्यक्ष श्रेष्ठले भने, यही आधारमा सामान छाड्ने हो भने व्यवसायीको लगानी डुव्ने खतरा बढ्दै गएको छ । खासाका अलावा ल्हासा र सिगात्सेमा रहेका सामान समेत कसरी ल्याउने भन्ने चिन्ताले व्यवसायीलाई सताएको श्रेष्ठ बताउँछन् ।
सरकारले कुटनीतिक पहल नगर्दा व्यवसायीले गरेको लगानी डुव्ने अबस्थामा पुगेको हिमालय सीमापार वाणिज्य संघका पुर्व अध्यक्ष विष्णुबहादु खत्रीले बताए । हुन्छ या हुँदैन स्पष्ट जवाफ नआएकै कारण अब हुुुन्छ की भन्ने आशामा लगानी गरेका व्यवसायी मारमा परेका खत्रीको बुझाइ छ । नेपाल र चीन सरकारको स्पष्ट कुरा नआउँदा व्यवसायीका करोडौं रुपैया चिनिया स्टोरमा थन्किएको खत्रीको गुनासो छ ।
चिनिया पक्षले खासाबाट दुई वटा चिनिया र चारवटा नेपाली गाडी छाड्ने भनेपनि पछिल्लो पटक नाका सुचारु भएको छ दिनमा जम्मा १६ गाडी सामान मात्र तातोपानी भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी दिए । चिनिया पक्षलाई बढि सामान छाड्न आग्रह गरिएको भएपनि ठोस जवाफ नआएको खत्रीको भनाई छ ।
मन्त्रालय र ल्हासा स्थित महावाणिज्य दुतावास मार्फत खासामा रहेका नेपाली व्यवसायीका सामान छिटो भन्दा छिटो ल्याउन पहल भइरहेको छ, खत्रीले टेलिफोनमा भने, चिनिया पक्षले पनि यसलाई सकारात्मक रुपमा लिएका छन्, छिट्टै निकास निस्केला । चिनिया पक्षले सामान छाडे तातोपानी भन्सार कार्यालयमा सबै स्वास्थ्य सुरक्षाका उपाय अवलम्वन गरेर सामान जाँच पासको प्रकृया अपनाइएको खत्रीको दाबी छ ।
खासा कस्टम र अन्य निकायलाई कम्तिमा दैनिक २० वटा गाडी छाड्न आग्रह गरिएको उनले बताएका छन् । खासामा स्टोर भएका सामान क्लियर गरेर थप सामान ल्याउने वातावरण सिर्जन गर्न लागिपरेका छौं, भन्सार प्रमुख खत्रीले भने, चिनिया पक्षले सकारात्मक रुपमा लिएकाले छिटै निकास निस्केला ।
२०७२ सालको भूकम्पपछि पूर्ण रुपमा बन्द भएको तातोपानी नाका व्वसायीको दबाब र सरकारको कुटनीतिक पहलका कारण २०७६ जेठबाट आंशिक रुपमा सुचारु भएको थियो । आंशिक रुपमा सुचारु रहेकै बेला कोरोना भाइरसको संक्रमण बढेपछि बन्द नाकाबाट बीचमा चिन सरकारले सहयोग गरेका स्वास्थ्य साकाग्री ल्याइएको थियो ।
दसैं अघि नाका पुनः सञ्चालन गर्ने प्रकृया सुरु भएपछि व्यवसायीले खासामा सामान ल्याएर स्टोर गरेका थिए । दसैंअघि नाका सुचारु भएकै दिन एक नेपाली कन्टेनर चालकमा कोरोना संक्रमण देखिएपछि चिनियापक्षले एकतर्फी रुपमा नाका बन्द गरेका कारण व्यवसायीका करोडौं मूल्यका डेढ सय कन्टेनर सामान खासामै अलपत्र परेको थियो ।
अलपत्र सामान ल्याउन नाका सञ्चालनमा आएपनि औशत तीन गाडी भन्दा बढि सामान ल्याउन नदिएपछि अझै कति समय नेपाली व्यवसायीका सामान खासामा अलपत्र पर्ने हो भन्ने एकिन नहुँदा व्यवसायी चिन्तित छन् ।
क्याटेगोरी :
अर्थ
ट्याग : #breaking