Techie IT
Saturday, January 16,2021 / शनिबार, माघ ३, २०७७
×
गृहपृष्ठअर्थबाँदर धपाउन बारीमा बाघकाे फाेटाे !

बाँदर धपाउन बारीमा बाघकाे फाेटाे !


सिन्धुकाेट । खेतबारीमा लगाएकाे बालीलाई बाँदरले सखाप पार्न थालेपछि किसानले नयाँ जुक्ति निकालेका छन् । मेलम्ची नगरपालिका ५ स्थित सिन्धुकाेटका चिरञ्जीवी सिग्देलले लगाएकाे फलफूल खेतीमा बाँदरले हैरानी दिएपछि त्यसकाे समाधानका लागि बारीमा बाघकाे फाेटाे राखेका हुन् ।

फ्लेक्समा बाघकाे फाेटाे प्रिन्ट गरेर उनले बारीभरि राखेका छन् ।

बाँदरले सताउन थालेपछि सिन्धुकाेट पारी भाेटेचाैरमा पाेहाेर साल किसानहरूले भएका रूखविरूवा नै मासिदिएका थिए । बाँदर धपाउने त्याे जुक्ति सिग्देललाई समाधानयुक्त नलागेकाे उनी बताउँछन् ।

बाली सखाप गर्ने क्रम नराेकिएपछि उनमा नयाँ जुक्ति फुर्याे- बाँदरलाई लखेट्ने, ढुङ्गामुढा गर्नुभन्दा मनाेवैज्ञानिक त्रास उत्पन्न पाे गराउने !

यसका लागि बाघकाे तस्बिर अंकित फ्लेक्स छपाएर बारीमा टाँग्ने गरेका छन् । बारीकाे उत्तर, दक्षिण, पूर्व र पश्चिम चारै दिशामा  बाघकाे तस्बिर टाँगेकाे उनले बताए ।

बारीमा टाँगेका बाघका तस्वीर झट्ट देख्दा मान्छे पनि झुक्किन्छ अनि आङ्ग सिरिङ्ग पनि पार्न सक्ने खालकाे रहेकाे स्थानीयकाे भनाई छ ।

बारीमा पुग्दा कसैले ठान्लान् – याे कुनै निकुञ्ज त हाेइन ? पक्कै हाे तर फलफूलकाे । सिग्देलले रूद्राक्ष, नासपाती, सुन्तला, कफि सबै खालका वृक्ष लगाएका छन् ।

त्यसलाई जाेगाउन अलिकति खर्च गरेरै भएपनि उनले ‘इनाेभेटिभ आइडिया’ (नवीन बुद्धि) लगाएकाे स्थानीय बुद्धिजीवीकाे भनाई छ । सिग्देल भन्छन् ‘बाघकाे तस्बिर राखेदेखि अहिलेसम्म बाँदर आएका छैनन्, हेरूँ भविष्यमा के हुन्छ !’


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस