Techie IT
Thursday, December 3,2020 / बिहीबार, मंसीर १८, २०७७
×
गृहपृष्ठअर्थहेलिप्याड देखि ट्रेकिङ रुट समेटेर अत्याधुनिक पार्क निर्माणमा जुट्यो भोटेकोशी गाउँपालिका

हेलिप्याड देखि ट्रेकिङ रुट समेटेर अत्याधुनिक पार्क निर्माणमा जुट्यो भोटेकोशी गाउँपालिका


बाह्रबिसे । भैरवकुण्डको विकास र विस्तार गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भोटेकोशी गाउँपालिकाले अत्याधुनिक भैरवकुण्ड पार्कको निर्माण गर्ने गुरुयोजना अघि सारेको छ । १३ करोड लागतमा निर्माण हुने भैरवकुण्ड पार्कको विकास गर्न हेलिप्याडसहितको आधुनिक भैरवकुण्ड निर्माणको योजना अघि सारिएको हो । यसको लागि गाउँपालिकाले ५० लाख छुट्याइसकेको छ । प्रदेश सरकार र पर्यटन विभागसँग थप सहयोगका लागि अनुरोध गरेको गाउँपालिका अध्यक्ष राज कुमार पौडेलले जानकारी दिए । `पर्यटन विभागसँग छलफल चलिरहेको छ उनले भने, छिट्टै सहयोगको आशा गरेका छौं ।`

पर्यटन विभागले नै अनौपचारिक रुपमा भैरवकुण्ड पार्क निर्माणको गुरुयोजना अघि सार्न भनेको पौडेलले बताए । भैरवकुण्ड पुग्न तीन किलोमिटर यता नै चोक्कडमोक्कडमा बुद्धप्रतिमा, धर्म चक्र र हेलिप्याड निर्माण गरिने छ । भैरवकुण्ड जाने पर्यटकलाई बस्न आवश्यक पाटी, रेष्टरुमको व्यवस्था गर्ने पालिकाको योजना छ । त्यहाँबाट तीन किलोमिटर माथि भैरवकुण्डमै पुग्न ट्रेल निर्माण गरिने छ । त्यसैगरी भैरवकुण्ड पुग्न २ किलोमिटरमा ट्रेल प्रतिक्षालय निर्माण गरिने छ । भैरवकुण्डमै संरचना निर्माण गर्दा त्यसको सरसफाई र महत्व कम हुने हुनाले तीन किलोमिटर तल नै यस्ता संरचना निर्मााण गरिने भएको हो ।

भैरवकुण्ड वरिपरि पर्खाल लगाएर त्यसको सुरक्षा गरिनेछ र त्यहाँ कुण्डको दृश्यावलोकन गर्दै पर्यटकलाई पैदल हिड्ने संरचना निर्माण गरिनेछ । कुण्ड नजिक भैरवको अत्याधुनिक मन्दिर निर्माण गरिने छ । त्यस्तै भैरवकुण्ड जानका लागि ट्रेकिङ रुट समेत निर्माण हुने भएको छ । सवारी साधनबाट जानेका लागि चोक्कटमोक्कडसम्म ग्राभेल बाटो निर्माण भैसकेकोछ भने ट्रेकिङमा जानेका लागि पुरातत्व विभागले ट्रेकिङ रुट निर्माणका लागि १ करोड छुट्याइसकेको छ । ट्रेकिङ रुट नयाँ पुलबाट सुरु भएर लिस्ती, हगाम, बगाम हुँदै भैरवकुण्ड पुग्दछ । ट्रेकिङ रुट निर्माणको काम यही आर्थिक वर्षमै सक्ने पुरातत्व विभागको योजना रहेको अध्यक्ष पौडेलले बताए । गाउँपालिकाको भैरवकुण्ड निर्माणको यो गुरुयोजना भने २०८० सम्म पूरा गर्ने लक्ष्य छ ।

डाक्लाङबाट ३३ किलोमिटर माथि रहेको भैरवकुण्ड बौद्ध र हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रबिन्दु हो । यहाँ प्रत्येक वर्ष जनैपुर्णिमामा भव्य मेला लाग्ने गर्दछ । यहाँ जे वर माग्यो त्यो प्राप्त हुने जनविश्वास छ । प्राकृतिक सुन्दरताले रमणीय भैरवकुण्ड सिन्धुपाल्चोकको चर्चित पर्यटकीय र धार्मिक स्थल हो । यहाँ पुग्न दुगुनागढीे, लिस्तीमाई जस्ता ऐतिहाँसिक र धार्मिक स्थलहरु पूरा गर्दै जानुपर्ने हुन्छ ।

https://drive.google.com/file/d/1JU_jNANCx_6Bq0oJmA7v_Tq4lll4nLMd/view?fbclid=IwAR2w1TFzPBasCskK_XVSALHd5ZMAT8yiZ4gMzlga3Q33phGpidmEN12W6Qc

 


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस