Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठअर्थपरराष्ट्रमन्त्री ज्ञवालीले गरे तातोपानी नाकाको निरीक्षण, चार दिनभित्र खुल्ने

परराष्ट्रमन्त्री ज्ञवालीले गरे तातोपानी नाकाको निरीक्षण, चार दिनभित्र खुल्ने


बाह्रबिसे । सीमावर्ती तातोपानी क्षेत्रको निरीक्षणमा पुगेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले चार दिन भित्र नाका संञ्चालनमा आउने बताएका छन् । भोटेकोशी गापा २ लार्चाको तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार, बिओपीदेखि सीमावर्ती क्षेत्रको भौतिक अवस्था निरीक्षण गर्दै उनले चीन सरकारबाट नाका खुल्ने सुचना पाएको उल्लेख गरे । ‘यहाँको सम्पूर्ण अवस्थाबारे बुझिसकेका छौ, चारदिनभित्र तातोपानी नाका संञ्चालनमा आउनेछ, आवश्यक भौतिक मर्मतसम्भारमा जुट्नपर्ने देखिएको छ, ’ सीमाक्षेत्र निरीक्षण पछि ज्ञवालीले भने ।

करिब तीन महिनापछि खुलेको तातोपानी नाका भन्सारमा कार्यरत तीन मजदुरमा कोरोना पोजिटिभ देखिएपछि गएको मंगलबारदेखि बन्द छ । यसअघिका सीमाक्षेत्रका चार संक्रमित मजदुरको ‘कंन्ट्रयाक ट्रेसिङ’ र उपचार नसकिँदै मंगलबार ३ जनामा कोरोना पोजिटिभ देखिएपछि तातोपानी नाका ठप्प भएको हो । नाकाको भौतिक मर्मतसंम्भारको लागि चीन पक्षले दिने भनिएको सहयोग नआएपनि सरकारले स्रोत जुटाएर मर्मतसंम्भार गर्ने उनले जनाए । ‘नाका खुलाउने कुनै कसर बाकी राख्ने छैनौ, आवश्यक व्यापारिक वस्तु सबै मंसिरअघि ल्याउन कसरत गर्दैछौ,’उनले भने ।

यहाँबाट चीनतर्फ सामाग्री लोड अनलोड गर्न गएका ३३ मजदुरको स्वास्थ्य परीक्षण गर्दै स्वाब संकलन गरेको थियो । अहिलेसम्म भन्सारका ७ मजदुरमा कोरोना पुष्टि भएपछि तत्कालै कन्टेनर आउजाउ ठप्प गरिएको तातोपानी नाका ‘नयाँ मोडालिटी’मा खुल्ने भन्सार प्रमुख लाल बहादुर खत्रीले बताए । गएको १३ असोजमा नेपाल चीन अधिकारीबीच मितेरी पुलको छलफलले कोरोना भाइरस नियन्त्रण गर्ने र प्राकृतिक विपतबाट बच्ने साइरन राख्नेजस्ता शर्तमा तातोपानी नाका खुलाउने सहमती भएको थियो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन दुवै पक्षबाट सजगताको लागि नया मोडालिटीबारे छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । ‘तातोपानी नाकामा कन्टेनर आउजाउ केही समयलाई रोकिएको छ, तर मोडालिटी बनाएर तत्कालै नाकालाई सहज बनाउनेछौ,’उनले भने । दशै प्रभावित नहोस भन्नको लागि चिनियाँ अधिकारीसँग आयातबारे नया मोडालिटीबारे छलफल गरेपछि मात्रै नाकालाई कन्टेनर आउजाउ गरेर चलाइनेछ ।

यसअघि चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढसय कन्टेनरका रेडिमेड सामाग्री दशैअघि राजधानी पु¥याउने लक्ष्य राखेर नाका संञ्चालनमा ल्याइएको थियो । आहिले स्थानीय प्रशासन नेलाम काउन्टीले चीनतर्फ मितेरी पुलमा ल्याइएको सामान अर्को विशेष छलफल नबनेसम्म कन्टेनर आउजाउ रोकेर जान दिएको छैन् । आइतबार बेलुकीदेखि सोमबार बिहानसम्म चीनको खासाबाट १२ वटा कन्टेनरबाट लत्ताकपडा, गार्मेन मेटिरियलसहित केही रेडिमेड सामाग्री तातोपानी भित्रिएको थियो ।

तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीकाअनुसार यसअघि चीनले मितेरी पुल पारी स्टोर गरेर राखिएको सामाग्री लिन चालक र मजदुर २९ जना ११ वटा कन्टेनर लिएर मितेरी पुलमा पुग्ने गरेका थिए । चीनको सुख्खा बन्दरगाह जाङ्बु पोर्टमा भएपनि आयात गरिने सामाग्री भने चीनको गोन्जओ,सिगात्से हुँदै खासासम्म ल्याइने गरिएको छ । पिसिआर मेसिनसहित दुई डाक्टरको मेडिकल समुहले सम्पूर्ण मजदुरको कोरोना परीक्षण गरिने उनको भनाइ छ ।

चीनको खासा क्षेत्रबाट चिनिया कन्टेनरले ल्याएको सामाग्री नेपालको भन्सार यार्डमा ल्याएर स्टोर गरिदिनेछन् । त्यसलाई सेनिटाइज गरिसकेपछि भन्सार प्रोटोकल पुरा गरेर नेपालले लैजाने मोडालिटी ल्याउनेमा स्थानीय प्रशासन र भन्सार टिम छलफलरत छ ।

 

 


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस