Techie IT
Thursday, October 22,2020 / बिहीबार, कात्तिक ६, २०७७
×
गृहपृष्ठअर्थ२६ किमी सडक दुरीको भाडा झण्डै नौ लाख

२६ किमी सडक दुरीको भाडा झण्डै नौ लाख


चौतारा ।
चिनियाँ पक्षले कोभिड १९ का कारण रसुवा नाका पारी स्वास्थ्य प्रोटोकल अपनाउँदा रसुवा नाका हुँदै कारोबार गर्ने नेपाली व्यवसायी महंगो भाडा तिर्न बाध्य बनेका छन् । रसुवा नाकाबाट भित्रिने सामग्री बोकेका कन्टेनरमा चिनियाँ ट्रान्सपोर्ट एजेन्टले जथाभावी भाडा दर तोक्दा केरुङ–रसुवा अन्तर्गत २६ किलोमिटर सडकको भाडा करिब नौ लाख रुपैयाँ तिर्न व्यवसायी बाध्य बनेका हुन् ।
सिन्धुपाल्चोकको तातोपानी नाका पटक पटक बन्द भइरहने भएपछि र सामग्री भित्र्याउने रसुवा बाहेक अर्काे विकल्प नभएकै कारण चिनियाँ पक्षले एकलौटी रुपमा भाडा बढाएको हो । कोभिड १९ का कारण अहिले नेपाली व्यवसायी चीनतर्फ जान पाउँदैनन् । कोभिड १९ कै कारण चीनले आफ्नो क्षेत्रमा नेपाली व्यापारी भित्र्याएको छैन । गोदाममा रहेका सामग्री चिनियाँ ट्रान्सपोर्ट एजेन्टले नाकासम्म ल्याइदिने हुँदा एकतर्फी रुपमा भाडा दर बढेको हो । केरुङबाट नाकासम्मको भाडा अहिले चिनियाँ ट्रान्सपोर्ट एजेन्टले ५० हजार राएमबी(चिनियाँ मुद्रा) सम्म लिने गरेको व्यवसायीको गुनासो छ । यो रकम करिब नौ लाख नेपाली रुपैयाँ हुन आउँछ ।
रसुवा नाकाबाट अहिले अधिकांश रेडिमेड पोशाकका सामग्री भित्रिरहेका छन् । नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन सापकोटाका अनुसार सिजनका सामग्री भएकाले व्यवसायीले झण्डै नौ लाख नेपाली रुपैयाँ भाडा तिरेर भएपनि ल्याउन बाध्य छन् । दसैं, तिहार र जाडो लक्षित सामग्री अहिले तुरुन्तै नभित्र्याए व्यवसाय डुब्ने अवस्थामा पुग्ने हुँदा व्यवसायी महंगो भाडा तिर्न बाध्य बनेको उनले बताए । “एउटा गाडीमा डेढ करोडसम्मको सामान हुन्छन्,” अध्यक्ष सापकोटा भन्छन्, “बरु महंगो भाडा तिरेर भएपनि सामान विक्री गर्नका लागि व्यवसायीले कन्टेनर भित्र्याएका छन् ।” सामग्री नल्याए करोडौं रुपैयाँ ऋण लिएर नेपाल ल्याउन लागेको सामान विक्री गर्न नसक्दा ब्याज तिर्नसमेत हम्मे हुने भएकै कारण व्यवसायीमा बाध्यता आएको उनको भनाई छ ।
राजधानीका महाबौद्धका व्यापारीहरुले महंगो भाडा तिरेरै भएपनि सामग्री भित्र्याइरहेका छन् । भाडा महंगो भएकै कारण यो नाका हुँदै व्यापार गर्ने व्यवसायीहरुले सामग्री ल्याएका छैनन् । रसुवा नाकाबाट व्यापार गर्ने सिन्धुपाल्चोकका व्यापारी सिद्धि बस्नेतले आफूहरुले अहिले सामग्री ल्याउने नगरेको बताए । “भाडा दर महंगो छ, यो दरमा सामग्री ल्याउँदा नाफा बस्दैन,” उनले भने । “आठ÷नौ लाख रुपैयाँ भाडा तिरेर सामग्री लोड गर्न कसरी सक्नु ?” उनले प्रतिप्रश्न गरे । व्यापारी बस्नेतका अनुसार नेपाली व्यवसायी सामग्री लोड गर्न जान नपाएका कारण भाडा दर बृद्धि गरिएको हो । उनले यसअघि यो सडक खण्डको भाडा दर प्रति कन्टेनर दुई हजार देखि पच्चीस सयसम्म हुने गर्दथ्यो ।
रसुवा तर्फको भाडा दर घटाउने बारे नेपाल तर्फबाटै चासो नभएको व्यवसायीको गुनासो छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठका अनुसार भाडा दर घटाउनका लागि दुई देशका उच्च अधिकारीहरु बीचको वैठकमा छलफल हुनु जरुरी छ । “यो अवस्था तातोपानी नाका बन्द भएकै कारण सिर्जना भएको हो, सुरक्षा सतर्कता अपनाएर तातोपानी नाका सूचारु गरेको खण्डमा समस्या समाधान हुन सक्छ” अध्यक्ष श्रेष्ठले भने, “नेपाली व्यवसायीको पीडालाई सम्बोधन गर्न नेपाल सरकारकै तर्फबाट ल्हास्सास्थित महाबाणिज्य राजदुतावासमा अनुरोध गरिनु जरुरी छ ।” उनले नेपाली अधिकारीहरुले व्यापार सहजीकरणका लागि भाडा दर घटाउन तत्काल कदम चाल्नुपर्ने बताए ।
बाढी पहिरोका कारण बन्द भएको तातोपानी नाकाबाट कारोबार नभएपछि सिन्धुपाल्चोकका अधिकांश व्यवसायी रसुवा नाकाबाटै सामग्री भित्र्याउने गर्दथे । गएको असार २५ गते अरनिको राजमार्गमा आएको बाढी पहिरोले सडक कटान गरेपछि तातोपानी नाका बन्द भएको थियो । गएको सोमबार नाका पुनः सूचारु गरिएपनि सामान लोड अनलोड गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक दिन मै नाका फेरि अनिश्चितकालका लागि बन्द गरिएको थियो । चीनबाट स्थलमार्ग हुँदै सामग्री ल्याउने तातोपानी र रसुवा नाका हो ।
यसअघि केरुङसम्म सामग्री लोड गर्न नेपाली व्यवसायी जाने गर्दथे । अहिले नेपालीलाई चीनतर्फ प्रवेश निषेध गरिएको छ । चिनियाँहरुसमेत रसुवा नाकामा तीन लेयरको पीपीइ सेट लगाएर काम गर्ने गर्दछन् । पैसा तिरेर गोदाममा रहेका सामग्री भित्र्याउन नपाउँदा व्यवसायी मर्कामा परेका हुन् ।
अर्जेन्टवाला सामग्रीसमेत गोदाममा थन्किएकाले व्यवसायीले महंगो भाडा तिरेर भएपनि सामान ल्याउन बाध्य छन् । व्यवसायी आफै आफ्नो सामान ल्याउन आतुरसमेत भएकाले भाडा दर बढेको हो । जसले धेरै पैसा दियो उसैको सामग्री आउने भएकाले क्रमश भाडा दर आकाशिएको स्रोतको भनाई छ । यसबारे व्यापारी स्वयम् बोल्न चाहँदैनन् ।
अहिले रसुवा नाकाबाट दैनिक हाराहारी १० कन्टेनर नेपाल भित्रन्छन् । यसअघि ३० भन्दा बढी कन्टेनर सामग्री बोकेर नेपाल भित्रने गरेका थिए । रसुवा भन्सार कार्यालयका प्रमुख पूण्यविक्रम खड्काले अहिले दैनिक एक करोड बराबरको राजस्व संकलन हुने गरेको बताए । भाडा दर बढेकै कारण अहिले नेपाल भित्रिने कन्टेनरमा कमी आएको हुन सक्ने उनको अनुमान छ । “यसअघि २ करोड भन्दा बढी राजस्व उठ्थ्यो,” उनले भने । अहिले यो नाका हुँदै लत्ताकपडा, स्वास्थ्य सामग्री, कच्चा पदार्थका सामान भित्रिएको प्रमुख खड्काले जानकारी दिए ।
रसुवा भन्सारबाट चिनियाँ व्यापारीलाई भाडाबारे भन्न नमिल्ने उनको भनाई छ । भाडा यति धेरै महंगो छ भन्नेबारे आफू अनविज्ञ रहेको खड्का बताउँछन् । रसुवातर्फको भन्सारमा भने व्यापार सहजीकरणका लागि सहयोग गर्न व्यक्तिगत रुपमा नेपालतर्फबाट अनुरोध गरिने गरिएको छ । नेपाली व्यवसायीका अनुसार चीनमा करिब एक हजार दुई सय कन्टेनर सामग्री अड्किएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस