Techie IT
Tuesday, May 11,2021 / सोमबार, वैशाख २७, २०७८
×
गृहपृष्ठअर्थतातोपानी नाका स्तरोन्नति गर्न ‘नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक’को माग

तातोपानी नाका स्तरोन्नति गर्न ‘नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक’को माग


तातोपानी । नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीसँग विभिन्न विषयमा छलफल गरेको छ । मंगलबार संघको पहिलो बैठक सँगसँगैं संघका पदाधिकारीले प्रमुख खत्रीसँग विभिन्न विषयमा छलफल गरेको हो ।

संघले नेपाली व्यवसायीले भोग्नुपरेका विभिन्न समस्या र समस्या समाधानका विषयमा गर्न सकिने कामका बारेमा प्रमुख खत्रीसँग छलफल गरेको संघका अध्यक्ष जाङबु शेर्पाले जानकारी दिए । तातोपानी नाका ज्यादै नाजुक रहेकाले भौतिक पूर्वाधारहरु विस्तार गरी स्तरोन्नति गर्न, भन्सारमा पर्याप्त कर्मचारीको व्यवस्था गरी पर्यटक र व्यवसायीलाई आवश्यक सेवा सुविधा प्रदान गर्न संघले माग गरेको छ ।

संघका अध्यक्ष शेर्पाका अनुसार संघले दुई देशबीच बैक मार्फत कारोबार हुने हुनाले सरल बैंकिङ्ग प्रणालीको व्यवस्था गरी नाकामा आधुनिक र सुविधासम्पन्न बैकको स्थापना गर्न, कृषिजन्य बस्तुको निर्यातका लागि सिमा नाकामा क्वाराइन्टाइन चेक पोष्टमा झंझटिलो व्यवस्था हटाई सरलिकरण गर्न, नेपाल सरकारद्वारा प्रदान गरिएका खाद्य बस्तुहरुको क्वालिटि प्रमाणपत्रलाई चिनीयाँ सरकारले मान्यता नदिएको हुँदा मान्यता दिने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराएको छ ।

व्यवसायी, व्यापारी तथा पर्यटकलाई आवश्यक पर्ने सूचनाको पर्याप्त व्यवस्था गर्न, नेपाल आउने तथा नेपालबाट जाने पर्यटकहरुलाई सरल रुपमा भिषा दिने व्यवस्था गर्न र दुवै देशबीच नाका खोल्ने समयमा एकरुपता ल्याउन, साँघुरा तथा विग्रिएका सडक पुर्ननिर्माण र सुविधायुक्त गोदामको व्यवस्था गर्न अनुरोध गरेको संघका अध्यक्ष शेर्पाले जानकारी दिए । त्यस्तै तातोपानी नाकालाई पर्यटन आवत जावतको मुख्य मार्गको रुपमा विकास गर्न पनि संघले भन्सार प्रमुखसँग माग गरेको छ ।

भन्सार प्रमुख खत्रीले संघले ध्यानाकर्षण गराएका विषयमा आफूले सकेजति समस्या समाधानका लागि पहल गर्ने विश्वास दिलाएका छन् । संघका नयाँ कार्यसमितिलाई बधाई तथा शूभकामना दिँदै प्रमुख खत्रीले तातोपानी नाका सुचारु गर्नका लागि आफूले सकेजति पहल गरेको बताए । संघ स्थानीय बजारमा उत्पादित वस्तुहरु प्रवर्धन र निर्यातमा सहजीकरण गर्ने हेतुले स्थापना भएको हो । यसको दोस्रो अधिवेशन केही हप्ताअघि भएको थियो ।

नयाँ नेतृत्व आएसँगै संघले नाका बन्द भएपछि विस्थापित भएका व्यवसायीलाई स्थापित गर्न पहल सुरु गरेको छ । व्यवसायी तथा व्यापारीका समस्याहरुलाई सहजीकरण गर्न संघ सधै लागिपर्ने अध्यक्ष शेर्पाले बताए । संघले कृषि, पर्यटन प्रवर्धनमा स्थानीय सरकासँग मिलेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस