बुधबार, असोज ६, २०७८
गृहपृष्ठअर्थतातोपानी नाका असोज १९ बाट सुचारु हुने

तातोपानी नाका असोज १९ बाट सुचारु हुने


बाह्रबिसे । तातोपानी नाका यही असोज १९ गते सोमबारबाट सुचारु हुने भएको छ । आज दुई देशका सरकारी अधिकारीबीच मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको हो । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरा गएर सडक भत्काएसँगै तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो । तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार १८ गते चाइनिज बन्दरगाह खुल्ने हुनाले १९ गतेबाट मात्रै चिनिया सामान मितेरी पुलमा झर्ने भएको हो ।

चीनतर्फबाट आएका सामान लिपिङ पुलमा अनलोड गर्ने र यताका मजदुर तथा चालक गएर ती सामान लोड गरेर ल्याउने सहमति भएको छ । त्यसका लागि नेपालका तर्फबाट चालक र मजदुर गरी २८ जनाको टोली पीसीआर गरेर तयारी अवस्थामा बसेको छ ।

तर चिनियाँ पक्षले थप २८ जनाको टोली तयारी अवस्थामा राख्न भनेको प्रमुख खत्रीले बताए । त्यसका लागि नेपालका तर्फबाट थप २८ जनाको टोली तयारी अवस्थामा राखिने छ । भन्सार प्रमुख खत्रीले भने, `दुई टोलीलाई तयारी अवस्थामा राख्न चाइनीच अधिकारीले भनेकाले थप २८ जनालाई पनि तयारी अवस्थामा राखिनेछ ।` यी २८ जनाको पीसीआर पनि चाइनिज पक्षले नै गर्ने सहमति भएको छ । यसअघि जांच गरिएका सवै २८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । नाकामा खटिने चालक र मजदुरको ५/ ५ दिनमा कोरोना परीक्षण गरिने र सो परीक्षण चीनले नै गर्ने सहमति भएको छ ।

छलफलका लागि चीनका तर्फबाट ल्हासाबाट नै उच्च अधिकारीहरु आएका थिए । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी, शसस्त्रका प्रमुख, भन्सार प्रमुख खत्री, अनुसन्धानका प्रमुखलगायत सुरक्षा निकायका प्रमुखहरु छलफलमा सहभागि भएका थिए ।

यसैगरी कुती नजिकैको ताल फुट्न सक्ने भन्दै साइरन राख्न नेपालले अनुरोध गरेको छ । तर चिनियाँ पक्षले भने यसबारे माथि कुरा गरेर निर्णय गर्ने बताएको प्रमुख खत्रीले बताए । तिब्ब्तको कुती नजिकैका ताल फुट्ने अवस्थामा रहेको र बाढीपहिरोले सडक अबरुद्ध भएको भन्दै एक महिना भन्दा बढी समयदेखि तातोपानीबाट व्यापार सञ्चालन भएको छैन । चिनियां राजदूतावासले गत साता रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

त्यसैगरी रसुवागढी नाका एक साता अघि सञ्चालन भएपनि चार दिन अघि चिनियां भूभागमा आएको पहिरोका कारण सामान आयात भएको छैन । रसुवा भन्सार प्रमुख पुण्यविक्रम खड्काकाले आफूहरु नाका छिटोभन्दा छिटो सञ्चालन गराउन चिनियां पक्षसंग छलफलमा रहेको बताए । रसुवागढीमा पनि भोलि चिनियां अधिकारीहरुसंग छलफल हुनेछ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!