Techie IT
Thursday, February 25,2021 / बिहीबार, फागुन १३, २०७७
×
गृहपृष्ठअर्थनाकामा रोकिएका अर्बौको सामान नेपाल पठाइदिन अनुरोध गर्दै उद्योग बाणिज्य संघले लेख्यो चीनलाई पत्र

नाकामा रोकिएका अर्बौको सामान नेपाल पठाइदिन अनुरोध गर्दै उद्योग बाणिज्य संघले लेख्यो चीनलाई पत्र


सिन्धुपाल्चोक । चीन र नेपालको स्थल नाकामा अर्बौ रुपैयाँको सामान रोकिएपछि सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले चीनतर्फको तीनवटा सरकारी निकायलाई चिठी लेखेर सामान पठाउने ब्यवस्था गर्न अनुरोध गरेको छ । नेपालीहरुको तीन ठूला चाडपर्व पनि नजिक आएको कारण पनि आवश्यक सामान नेपाल लैजाने ब्यवस्था गरिदिन संघले अनुरोध पत्र लेखेको हो ।

चीन नेपालको दुई स्थलनाका तातोपानी र रसुवामा अरवौ रुपैयाँका नेपाली ब्यापारीका सामान अलपत्र अवस्थामा रहेको छ । गर्मी सिजनकै लागि ब्यापारिहरुले ल्याएका सामान पनि रोकिएको छ । यस्ता सामान रोकिँदा धेरै ब्यापारीको उठिबास लाग्ने अवस्था आएको पत्रमा उल्लेख गरिएको छ । नेपाल सरकारबाट पर्याप्त पहल नभएका कारण चीनको सरोकारवाललाई नै पत्र लेखेर अनुरोध गरिएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले जनाएको छ ।

सुरुमै चीनमा उत्पन्न भएको कोरोनाको असरले चीनबाट हुने ब्यापार ठप्प छ । चीन र नेपालबीच हुने स्थल ब्यापारिक नाका तातोपानी र रसुवा नाका धेरै सहज भएपनि यहाँबाट अहिले ब्यापार ब्यवसाय गर्नेहरु ठूलो मर्कामा छन् । सुरुमा कोरोनाका कारण चीनले नाका बन्द गर्दा समस्या भयो । चीनमा कोरोनाको संक्रमण न्यून भएपनि नेपालमा बढ्दै गएपछि नाकामा अझै समस्या भएको छ । सुरुमा सीमित मालवाहक गाडीहरु नेपाल प्रवेश गर्न दिएपनि पछिल्लो समय नेपालको तर्फबाट पर्याप्त पहल हुन सकेको छैन ।

नेपालको उत्तरी नाका मध्ये एकमात्र तातोपानी नाका २०७२ को भुकम्पसँगै बन्द भएको थियो । तातोपानी बन्द भएपछि रसुवा नाकाबाट काम भएको थियो । तर, अहिले दुवै नाकामा ब्यापार ब्यवसाय बन्द छ । २०७२ सालबाट बन्द भएको नाका २०७६ जेठदेखि खुल्यो तर, फागुनदेखि पुनःनाका बन्द भयो । चीनमा कोरोना महामारी देखिएपछि बन्द भएको हो । नेपाली ब्यापारीले ल्याएको सामान चीनको खासा, न्यालम र सिगात्चेमा रोकिएको छ । खासा हुँदै आउने चार सय भन्दा धेरै गाडी सामान रोकिएको छ । यो सामान अघिल्लो डिसेम्वर देखि नै रोकिएको हो ।

केही समय थोरै परिणाममा आएको सामान पनि चीन पक्षले पनि पूलमा झारिदिने गरेको थियो । ब्यापारीले ल्याएको एक बर्ष अघिदेखिको सामान रोकिएको छ । यस बारेमा राज्यले धेरै पहल नगरेको ब्यापारीहरुको गुनासो छ । ब्यापारी मात्र होईन एक हजार भन्दा धेरै मालवाहक गाडी, चालक र सहचालक अलपत्र छन् । उनीहरुको रोजीरोटी पनि समस्यामा परेको छ । गर्मीकै लागि ल्याईएको सामान रोकिँदा सामानको ‘सिजनअफ’ भईसकेको छ । केरुङ्गमा त झन धेरै गाडी रोकिएको छ । झण्डै बीस अर्व रुपैयाँको सामान रोकिएको अनुमान छ ।

जाडोयामको सामान आउनु पर्ने त्यो पनि समस्यामा परेको छ । ब्यापारीले लगानी गरेको सामान रोकिँदा कर तिर्न नसक्ने अवस्था आएको छ । सामान्य रुपमा हेर्दा पनि एक अर्व रुपैयाँ त राजस्व नै संकलन हुने सामान चीनतर्फ रोकिएको छ । चीनसँगको कुटनीतिक पहलमा ठोस काम नभएको भन्दै आएको उद्योग बाणिज्य संघले ब्यापारीको समस्या समाधान गर्न आवश्यक भएकाले यो पहल गरिएको अध्यक्ष बेदवहादुर श्रेष्ठले बताए ।

बन्दरगाहमार्ग बाट सामान त आउँछ तर, दश महिनादेखि रोकिएको सामानको पूँजी रोकिएको कारण त्यो संभावना छैन । केरुङ्ग र तातोपानीनाका क्षेत्रमा दश महिनादेखि रोकिएको सामान ल्याउन आवश्यक छ । अझ केरुङमा सामान गतवर्ष पुसबाटै अलपत्र पर्न थालेको हो  । गत जेठमा रसुवागढी नाका खोलिए पनि विभिन्न बहानामा चिनियाँपक्षले दुई पटक बन्द गरिसकेको छ । जेठयता करिब एक महिना मात्रै उक्त नाका सञ्चालन भएको छ ।

यो अवस्थाकाबारे जानकारी गराउँदै सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले चीनको न्यालम कस्टम, चीनको डिपार्टमेन्ट अफ कमर्श र झाङ्गमू एडमिनिष्टेसनलाई छु्टाछुट्टै पत्र लेखेर सामान नेपाल लैजान सहयोग गरिदिन अनुरोध गरेको हो ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस