Techie IT
Monday, June 21,2021 / आईतबार, असार ६, २०७८
×
गृहपृष्ठअर्थचीनतर्फका दुई मुख्य नाका ठप्प

चीनतर्फका दुई मुख्य नाका ठप्प


ऋषिराम पौडेल

काठमाडौँ — सिन्धुपाल्चोकका व्यवसायी बलराम पराजुलीले रसुवागढीबाट भित्र्याउन खरिद गरेका तयारी पोसाक र जुत्ता चीनको केरुङ गोदाममा थन्किएको नौ महिना बितेको छ । ‘आउट अफ फेसन’ भइसकेकाले सवा करोड रुपैयाँका ती सामान सबै बजारमा बिक्ने आस पराजुलीले मारिसकेका छन् ।

केरूङ–रसुवागढी नाका बन्द भएकाले खुलेपछि सामान ल्याउनका लागि नजिकै कुरेर बसेका कन्टेनर । तस्बिर साैजन्य : अमन दाेर्जे

रामेछापका व्यवसायी नवीन थापाले खरिद गरेको झन्डै २ करोड रुपैयाँका चार कन्टेनर सामान ६ महिनादेखि केरुङको गोदाममा छ । हार्डवेयर, मोटर पार्ट्स, लुगाफाटालगायत सामान अड्किएका हुन् । उनले भने, ‘धेरै सामान काम नलाग्ने भइसके ।’

बलराम र नवीनजस्ता सयौं व्यवसायीका अर्बौं मूल्यका १२ सय कन्टेनर सामान केरुङमा अलपत्र छन् । चीनसँग जोडिएको अर्को पुरानो नाका तातोपानीपारि खासामा पनि नेपाली व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनर सामान थन्केको ६ महिना बितेको छ । भन्सारका एक नेपाली मजदुरलाई कोरोना पोजिटिभ देखिएपछि चीनले दुई सातादेखि रसुवागढी नाका बन्द गरेको हो । अर्को नाका तातोपानीलाई विस्फोटको जोखिममा रहेको करिब ३५ किमिमाथि चीनतर्फको ‘क्यानोन कु’ तालको पानी घटाउने भन्दै बन्द गरिएको हो ।

केरुङमा सामान अलपत्र पर्न थालेको गत वर्ष पुसबाटै हो । गत जेठमा रसुवागढी नाका खोलिए पनि विभिन्न बहानामा चिनियाँ पक्षले दुई पटक बन्द गरिसकेको छ । गत जेठयता करिब एक महिनामात्रै उक्त नाका सञ्चालन भएको व्यवसायीको भनाइ छ ।

तिब्बतको नेलाम काउन्टीले सीमा क्षेत्रका आफ्ना नागरिकलाई सूचना जारी गरेर तातोपानीबाट हुने व्यापारिक कारोबार बन्द गरेको घोषणा गरेपछि खासामा कतिपय सामान सडकमा त्रिपालले छोपेर राखिएका छन् । सामान रेखदेख गर्न सीमापारि जाने अनुमति नेपालीलाई छैन । नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष विष्णुबहादुर खत्रीका अनुसार, भूकम्पपछि नेपाली व्यवसायीलाई खासा प्रवेश गर्नै दिइएको छैन । ‘आफ्नो सम्पत्ति सडकमा कुहिएर जाँदा पनि चुप लागेर बस्नुको विकल्प छैन,’ उनले भने ।

नेपाललाई साह्रोगाह्रो परेकै बेला उत्तरका दुवै चिनियाँ नाका बन्द हुने गरेका छन् । भारतले २०७२ सालमा नाकाबन्दी गरेका बेला तातोपानी नाका बन्द थियो, अलि अघि आएको भूकम्पले क्षति पुर्‍याएको कारण देखाउँदै । नेपालले निकै पटक अनुरोध गरे पनि गत वर्ष जेठमा मात्र उक्त नाका खोलियो । अहिले कोभिड–१९ को महामारीले आक्रान्त भएका बेला घोषणा नै गरेर दुवै चिनियाँ नाका बन्द गरिएका छन् । व्यवसायी भन्छन्, ‘यो त अघोषित नाकाबन्दीजस्तै भयो ।’

२०७२ सालको भूकम्पपछि व्यापारीका सयौं कन्टेनर सामान तातोपानी–खासा सडकमा पाँच महिना अलपत्र परेका थिए । भूकम्पका कारण गएको पहिरोले कतिपय कन्टेनर पुरिएका थिए, कतिपय सामान छरपस्ट भएका थिए । त्यतिबेला मितेरी पुलबाट एक किमि टाढा सडक आसपास र जंगलमा जताततै छरिएको र पानीले भिजेको सामान टुलुटुलु हेरेर बस्न विवश भएको व्यवसायीहरू बताउँथे । निकै लामो प्रयासपछि मात्रै चीनले ती सामान नेपाल भित्र्याउन दियो । तर सयौं कन्टेनर सामान पानीले भिज्दा व्यवसायीले करोडौं रुपैयाँ नोक्सानी व्यहोरे ।

‘त्यति बेला सामान ल्याउने के कुरा, व्यवसायीलाई उता छिर्नसमेत दिइएन,’ संघका पूर्वअध्यक्ष खत्रीले भने, ‘महिनौंसम्म चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालय धाउँदाधाउँदा कति सामान त्यहीं कुहिए, कति डेट एक्स्पायर भए ।’ त्यति बेलाको नोक्सानीका कारण कतिपय व्यवसायी पेसाबाटै पलायन भएको उनले बताए ।

भूकम्पपछि अहिलेसम्म दुवै नाकाबाट सर्वसाधारणको आउजाउ बन्द गरिएको छ । ‘अहिले पनि हामीले नयाँ कारोबार गर्न खोजेका होइनौं,’ संघका अध्यक्ष बच्चु पौडेलले भने, ‘किनिसकिएका सामानमात्र ल्याउन देऊ भन्दा कतै सुनुवाइ भएन ।’ केरुङ र खासाबाट सामान ल्याउन सहजीकरण गरिदिन सरकारलाई महिनौंदेखि हारगुहार गरिरहेको पौडेलले बताए । अहिले पनि व्यवसायीहरू दिनैपिच्छे नेता र मन्त्री गुहार्दै हिँडिरहेका छन् ।

व्यवसायीको पीडा सरकारले हल्का ढंगले लिएको र चीनले सुनेको नसुन्यै जस्तो गरिरहेको उनले दुखेसो गरे । ‘सधैंको यो बेथितिका कारण वर्षौं लगाएर कमाएको सबै सम्पत्ति बिक्री गर्दा पनि व्यवसायी ऋणमुक्त हुन नसक्ने अवस्था बन्दैछ,’ उनले भने ।

चीनको मनसाय बुझ्नै नसकिएको नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले टिप्पणी गरे । ‘पानीजहाज र रेलको कुरा गर्छौं तर खरिद गरेको सामान ल्याउन पाइएन,’ उनले भने ।

बन्द नाका

नेपालीलाई आउजाउ बन्द

तातोपानी र रसुवागढी उत्तरी छिमेकी चीनसँगको व्यापारिक कारोबारका लागि प्रमुख स्थलमार्ग हो । सरकारले पनि चीनसँग पारवहनसम्बन्धी सम्झौता गरेर चिनियाँ बन्दरगाह र भूमार्गसमेतको प्रयोग गरी मालसामान आपूर्ती गर्न सक्छौं भन्ने सन्देश दिन खोजेको छ । नेपालले केरुङबाट रेल ल्याउने चीनसँग समझदारी पनि गरिसकेको छ । यही पृष्ठभूमिमा ‘नेपाललाई संकट पर्दा चीनले सहयोग गर्छ’ भन्ने गरिन्छ । तर चीनसँगका विद्यामान नाकाबाटै हुने व्यापारलाई व्यवस्थित बनाइएको छैन ।

भारतले ०७२ सालमा नाकाबन्दी गरेर नेपाललाई निकै अप्ठेरो पारेका बेला चीन जोड्ने मितेरी पुलको ढोका चार वर्षसम्म बन्दै रह्यो । तातोपानी नाका खुलाउन राजनीतिक रूपमै निकै ठूलो प्रयास गरियो तर खुलेन । वर्षौंदेखि दुवै मुलुकका सर्वसाधारण आउजाउ गर्दै आएको तातोपानी नाका नेपालीका लागि ५ वर्षदेखि बन्द छ । अहिले कोभिड–१९ महामारीले व्यवसाय अस्तव्यस्त छ । यही बेला नेपाली व्यवसायीले किनेका सामान सीमापारि चीनका गोदाम र सडकमै अलपत्र छन् ।

‘भारतमा दिनमा लाख हाराहारी संक्रमित थपिइरहे पनि नेपालीको प्रवेशलाई सहज रूपमा लिइएको छ । कतै रोकटोक छैन,’ संघका महासचिव नवराज तिमिल्सिनाले भने, ‘उत्तरमा चीनले अघोषित नाकाबन्दी गर्दा कोही बोल्न तयार छैनन् ।’ चीनले कुन बेला नाका बन्दको घोषणा गर्छ, कुन बेला के नियम ल्याउँछ, नेपाली व्यवसायीले पत्तो पाउँदैनन् । रसुवागढी भन्सार प्रमुख पुण्य खड्काले भने, ‘नाका बन्द कहिले हुन्छ, कहिले खुल्छ मात्रै भनिदिए पनि व्यवसायीले त्यहीअनुसार व्यवस्था मिलाउँथे ।’ आफ्नोतर्फबाट नाका खुलाउन प्रयास गरेपनि नसकेर आजित भएको उनले सुनाए ।

०७२ सालमा भूकम्पबाट क्षतिग्रस्त खासा क्षेत्रको सडक नबनेको भन्दै चार बर्षसम्म तातोपानी नाका पूर्ण रूपमा बन्द गरिएको थियो । ०७६ जेठमा त्यो नाका खुलेको औपचारिक घोषणा गरिपनि निर्यात व्यापार र सर्वसाधारण नेपालीलाई आफ्नो भूमिमा आउजाउ गर्न चीनले दिएको छैन । भूकम्पअघि तातोपानी मितेरीपुलबाट करिब ४० किमि टाढा कुतीसम्म नेपालीको आउजाउ थियो । नेपाली अध्यागमनले दिएको एकदिने पासका आधारमा नेपाली खासासम्म आउजाउ गर्थे । व्यापारिक सामान किनमेल गर्ने र घुम्न जाने नेपालीको तातोपानी र खासामा भीड लाग्थ्यो । त्यो अहिले सपनासरह भएको छ । सीमाका बासिन्दाले आफूहरूले विगतमा पाएको सुविधालाई निरन्तरता दिन माग गर्दै आएका छन् ।

तातोपानीको विकल्पमा ०७२ मंसिरदेखि प्राथमिकताका साथ सञ्चालनमा ल्याइएको रसुवागढी नाकाबाट पनि सहज रूपमा व्यापार हुनसकेको छैन ।

‘गर या मरको अवस्था’

नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका कार्कीका अनुसार चिनियाँ सामान बिक्री गर्ने थोक र खुद्रा व्यापारीले राजधानीमा सञ्चालन गरेका सटरमध्ये २५ देखि ३० प्रतिशत बन्द भइसकेका छन् । ‘बैंकले ब्याज छाड्दैन, घरबेटीले भाडा छाड्दैनन् । उधारो लैजानेले पैसा तिर्दैनन् । नयाँ सामान बेचूँ बाटोमै थन्केको छ,’ व्यवसायी निरज राईले भने ।

कार्कीका अनुसार कोभिड–१९ महामारी सुरु भएपछि गत जेठमा खुलेको केरुङ नाकाबाट चीनले दिनमा ६ कन्टेनर सामानमात्र नेपाल पठाउने गरेको थियो । जबकि उक्त नाकामा सयौं कन्टेनर सामान गोदाममा छन् । ‘तीन महिनाअघि पनि व्यवसायीले कन्टेनरमा लोड गरेका सयौं क्विन्टल स्याउलगायत खाद्यवस्तु कुहिएर बाटैमा फ्याँकेका थिए,’ कार्कीले भने, ‘यस्तो व्यवहारले नेपाललाई सहयोग हुन्छ कि असहयोग ?’

व्यवसायी बलराम पराजुलीका अनुसार पछिल्लो समय चीनका व्यापारिक सहरहरूमा नेपाली व्यवसायीका झन्डै दुई सय व्यापारिक कार्यालय छन् । ‘चीनको कार्यालय भाडा मासिक एक लाखभन्दा बढी तिर्छु,’ उनले प्रश्न गरे, ‘व्यापार नभएपछि कसरी टिक्न सकिन्छ ?’ अहिले उता जाने भिसा पनि नखुलेको उनले बताए । व्यवसायीले चिनियाँ व्यापारिक सामान र कन्टेनरमा गरेको धेरै ठूलो लगानी जोखिममा परेको सिल्क ट्रान्सपोर्ट प्रालिका रमेश शेर्पाले उल्लेख गरे ।

रसुवागढी भन्सार प्रमुख पुण्य खड्काले केरुङमा अड्केको सामान मितेरी पुलमा ल्याइदिन चिनियाँ पक्षलाई पटकपटक अनुरोध गर्दै आएपनि सुनुवाइ नभएको बताए । ‘कोभिडको समस्याले नै हो भने पनि सामान मितेरी पुलमा खसालेर फर्कनुस्, हामी जसरी पनि ल्याउँछौं भनेका छौं । बरु तपाईंहरू गएको एक घण्टापछि सामान ल्याउने प्रक्रिया सुरु गर्छौं पनि भन्यौं,’ खड्काले भने । कोभिड महामारी सुरु भएपछि केही दिन कारोबार हुँदा पनि नेपाली व्यवसायीको सामान चिनियाँले पुलमा खसालिदिन्थे । व्यवसायीले त्यहींबाट उठाएर ल्याउँथे । खड्काका अनुसार गत माघदेखि नै भन्सार कारोबार मुस्किलले एक महिना भएको छ । ‘उताकाले मिटिङमा हुन्छ भन्छन् तर ढोका खोल्दैनन्,’ खड्काले भने, ‘के हो के, हामीले त बुझ्नै सकेनौं ।’ चिनियाँकै अनुरोधमा भन्सारमा सामान लोड–अनलोड गर्ने ५० जना मजदुरलाई नाकाको क्वारेन्टाइनमा राखिएको छ । उनीहरू दिनमा ८ सय खर्च गरेर बसेको दुई साता बितेको छ ।

नेपालका निम्न र मध्यम वर्गले चिनियाँ सामानै प्रयोग बढी गर्दै आएका छन् । त्यस्ता सामान उत्तरी नाकाको स्थलमार्गबाहेक पानीजहाजबाट भारत हुँदै तराईको नाका र हवाईजहाजबाट पनि ल्याउने गरिएको छ । इलेक्ट्रोनिक सामान, तयारी पोसाक, जुत्ताचप्पल, कपडा, गार्मेन्टको कच्चा पदार्थ, मेसिनरी पार्टपुर्जा, झोला, फर्निचर, विद्युत् आयोजनाका मेसिन, स्टेसनरी सामानलगायत धेरै सामान चीनबाट ल्याइन्छ ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ मा चीन, भारतलगायत मुलुकबाट करिब १२ खर्ब रुपैयाँको आयात व्यापार भएको छ । चीनबाट मात्र बर्सेनि करिब एक खर्ब ८२ अर्बको आयात व्यापार हुँदै आएको छ । चीनसँगको निर्यात व्यापार भने एक अर्ब १९ करोड छ । भन्सार महानिर्देशक सुमन दाहालका अनुसार चीनसँगको व्यापारबाट संकलन हुने कुल राजस्वमा रसुवा र तातोपानीको योगदान १५ देखि २० प्रतिशत छ । तर तातोपानीबाट ०७२ वैशाखदेखि निर्यात लगभग ठप्प छ । रसुवाबाट ०७२ मंसिरदेखि आंशिक निर्यात भए पनि झन्डै एक वर्षयता ठप्प छ । पछिल्लो पटक आर्थिक वर्ष ०७१/७२ मा तातोपानी नाका भएर २ अर्ब ३४ करोडको निर्यात व्यापार भएको थियो । नेपालबाट मुख्यतया तामाका भाँडा, जडीबुटी, चाउचाउ, अन्डा, हस्तकलाका सामग्री चीन निर्यात गर्ने गरिएको छ । भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार भूकम्पपछि तातोपानीबाट निर्यात व्यापार पूर्ण रूपमा बन्द छ ।

नाका किन बन्द ?

तिब्बतको नेलाम काउन्टी (स्थानीय प्रशासन) ले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने सम्भावना भएकाले तातोपानीबाट कारोबार नगर्न भन्दै आफ्ना नागरिकलाई सूचना जारी गरेकाले पछिल्लो पटक नाका ठप्प भएको हो । चिनियां पक्षले त्यहांको कारण त्यसैलाई देखाएको छ ।

नेलाम प्रशासनले वर्षायाम सकिन लागेपछि आफ्नो तालको पानी घटाउने भन्दै सूचना जारी गरेको थियो । गत साउनमा ताल फुट्न सक्ने भन्दै नेपालस्थित भोटेकोसी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान पनि भनिएको थियो । ताल फुट्ने हल्ला प्रत्येक वर्ष चल्ने गर्छ । तातोपानीबाट करिब ९ किमिमाथिको खासा गोदामको सामान ल्याउन ताल फुट्ने सम्भावनाले असर नगर्ने व्यवसायीको दावी छ । नेलाम प्रशासनले भने नाका कहिले खुल्छ भन्ने कुरा आन्तरिक सूचनामा खुलाएको छैन ।

रसुवागढीतर्फको कारणचाहिं कोभिडलाई बनाइएको छ । दुई साताअघि रसुवा भन्सारका एक नेपाली मजदुरलाई कोरोना पोजिटिभ देखिएको थियो । परीक्षण गर्दा अरूलाई भने संक्रमण देखिएको छैन । भन्सार प्रमुख खड्काका अनुुसार, उनी सीमापारि चिनियाँ भूभागमा जाने मजदुर होइनन् । ‘हामीले सबै जानकारी गराए पनि माथिबाट आदेश आएपछि तुरुन्तै खोल्छौं भन्दै कुराएको दुई साता बित्यो,’ खड्काले भने, ‘खासमा यताका संक्रमित भए पनि चिनियाँ कर्मचारीले नेपालीको नजिक जानुपर्ने कामै पर्दैन ।’

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता चाङ सीले नेपाली कामदारमा कोरोना संक्रमण देखिएपछि रसुवागढी नाका अस्थायी रूपमा बन्द गर्नुपरेको बताए । ‘भाइरसलाई लिएर हामी सतर्क हुनु आवश्यक छ । नाका चाँडै खुलाउने प्रयासमा छौं,’ प्रवक्ता चाङले भने ।

चाङले सीमा नाकाको सम्बन्धमा चिनियाँ दूतावासले यसअघिदेखि नै नेपालको परराष्ट्र मन्त्रालयसँग सहकार्य गरिरहेको बताए । ‘स्थानीय अधिकारीहरूले पनि गति र क्षमता सुधार गर्नका लागि तरिकाहरू अपनाइरहेका छन्, ताकि हरेक दिन जतिसक्दो धेरै ट्रकले सीमाविन्दु पार गरून्,’ उनले भने । चाङले महामारीका बेला नेपालीलाई आफ्नो क्षमताले भ्याएसम्म चीनले सधैं सहयोग गरिरहने पनि उल्लेख गरे ।

वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले दुवै नाका खुलाउन परराष्ट्र मन्त्रालयमार्फत चीनसँग कुरा भइरहेको जानकारी दिए । उनले केरुङ नाकाबाट आयातलाई निरन्तरता दिन र सामान आयातको परिमाण बढाउन अनुरोध गरिएको पनि बताए । ‘हामी पनि चुप लागेर बसेका छैनौं,’ उनले भने ।

भन्सार विभागका महानिर्देशक दाहालले व्यापार सहजीकरणका लागि ल्हासा भन्सारसँग बैठक राख्ने कोसिस भइरहेको जानकारी दिए । उनले भने, ‘व्यापार सहज बनाउन सक्दो पहल गरिरहेका छौं ।’ दुवै नाकाका भन्सार प्रमुखहरूले चीनले कारोबार बन्द गरेको र व्यवसायी मर्कामा परेको विषयमा सबै विवरण माथिल्लो निकायलाई जानकारी गराएको बताए । आफूहरूको पहलमा मात्र नाकाको समस्या हल गर्न नसकिएको उनीहरूको भनाइ छ । परराष्ट्र स्रोतका अनुसार दूतावासमार्फत कुराकानी भइरहेको छ । ‘हामीले नाकाको अवस्था र व्यवसायीको मर्का थाहा पाएका छौं,’ परराष्ट्र स्रोतले भन्यो, ‘कूटनीतिक पहल भइरहेको छ । कान्तिपुर दैनिकबाट


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!