सिन्धुपाल्चोकमै पहिरो किन गइरहन्छ ?
प्रगति ढकाल, काठमाण्डौं ।
२०७१ साउन १७ मा राम्चे–५ को इटिनी फुटेर गएको पहिराले १४५ जनाको निधन भइ १२२ घर पूर्ण क्षति भयो । उक्त पहिराबाट साविक राम्चे, माङ्खा, धुस्कुन र टेकानपुरसहित चार गाविसका वासिन्दा पीडित बनेका थिए ।
गत साउन १९ मा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भयो ।
साउन ३० मा सिन्धुपोल्चोकस्थित जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएका १७ घरका ३९ जनामध्ये हालसम्म ३२ को शव फेला परेको छ ।
आइतबार बाह्रविसे नगरपालिका–७ मा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । २२ जना अझै बेपत्ता छन् ।
सिन्धुपाल्चोकमै एक महिनाको आलो पीडामा आइतबार गएको पहिरोले फेरि अर्को पीडा थपिदियो । बाह्रबिसे नगरपालिका–७ मा पहिरोमा परी मृत्यु हुनेको संख्या या समाचार तयार पार्दासम्म ११ पुगेको छ भने २२ अझै बेपत्ता छन् ।
पछिल्लो समयमा लगातार सिन्धुपाल्चोकमा पहिरो गएको छ । २०७२ सालको भूकम्पले सिन्धुपाल्चोकका अधिकांश स्थानमा धाँजा फाटेका छन् । धाँजा फाटेको स्थानमा २४ घण्टामा निरन्तर १ सय ४१ मिलिलिटर पानी पर्दा पहिरो गएको बताउँछन्, प्राकृतिक विपत व्यवस्थापन्विद् डा. धर्म उप्रेती ।
“पहिल्लो समय सिन्धुपाल्चोकमा २४ घण्टामा नै १ सय ४१ मिलिलिटर पानी परेको देखियो, यो भनेको अधिकतम हो, कमजोर भू–धरातल भयो भने र धाँजा फाटेको छ भने पानी जमिनभित्र छिर्ने भयो र जमिन कमजोर भइ पहिरो गएको हो,” उनले भने, “पछिल्लो समय पहिरोको घटनाहरू बढिरहेको छ, यसकारण पहिरोसम्बन्धी पूर्वसूचना प्रणाली विकास गर्नु आवश्यक छ ।”
भू–गर्भविद् डा. रञ्जनकुमार दाहाल बलौटे माटोका कारण र बढी पानी परेकाले सिन्धुपाल्चोकमा पहिरो गइरहेको बताउँछन् । “सिन्धुपाल्चोकमा पहिरो गएको स्थानहरूमा बढी बलौटे माटो छ, पानी परेपछि सजिलै पानीले बगाउन सक्छ, त्यसैले पानीको व्यवस्थापन गर्नुपर्छ,” उनले भने, “इन्जिनियरिङ मापदण्डले बिरुवा लगाउने, कहाँ कहाँ जमिनबाट पानी बगेर आउँछ त्यहाँ पानी जमेर बस्ने वातावरण दिनु हुँदैन, तत्काल प्लाष्टिकले ढाक्नु नै उपयुक्त हुन्छ ।”
पहिरोका कारण
जिल्लाका अधिकांश क्षेत्रमा बलौटे माटो
भूकम्पले धाँजा फाटेका ठाउँमा पानी छिर्नु
पानीको व्यवस्थापन नहुनु
निरन्तर वर्षा हुनु ।
पहिल्यै पहिरो गइसकेको स्थानमा बस्ती बसालिनु
समाधानको उपाय
पानीको व्यवस्थापन, धाँजा फाटेको स्थानबाट पानी कटौती
इन्जिनियरिङ मापदण्डअनुसार वृक्षरोपण
धाँजा फाटेका स्थानबाट बस्ती स्थानाान्तरण
भूगर्भसम्बन्धी अध्ययन बढाउनु
पहिरोसम्बन्धी पूर्वसूचनाको विकास
कारोबार दैनिकबाट
क्याटेगोरी :
अर्थ
ट्याग : #breaking