Techie IT
Sunday, November 1,2020 / शनिबार, कात्तिक १५, २०७७
×
गृहपृष्ठअर्थअझै समय लाग्छ मेलम्चीको पानी काठमाण्डौं झर्न

अझै समय लाग्छ मेलम्चीको पानी काठमाण्डौं झर्न


चौतारा ।

आगामी दसैंमा मेलम्चीको पानी खाने काठमाण्डौंवासीको चाहना अधुरो हुने भएको छ । आयोजनाको काममा ढिलाई भएपछि काठमाण्डौंमा पानी लैजाने सरकारको सपना तुहिएको हो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५को दसैंमा मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं झार्ने भनिएको थियो । तर, काममा समस्या भएपछि आयोजनाले लक्ष्य भेट्न नसक्दा काठमाण्डौंमा पानी झार्ने योजना यो पटक पनि विफल भएको हो ।
कोरोना महामारीका कारण ठूल्ठूला विकास परियोजनाका काम ढिला हुँदाहुँदै पनि असारमै पानी झार्ने मेलम्ची खानेपानी आयोजनाको तर्खर थियो। परीक्षणपछि दसैंमा पानी राजधानी झारिछाड्ने खानेपानी मन्त्रालय र आयोजनाको योजना थियो ।
असार ३० गते सुरूङमा पानी हाल्दा पहिलो गेट नै भत्किएपछि आयोजना तत्काल पानी ल्याउने योजनाबाट पछि हटेको छ। उक्त गेट भत्किँदा सुरूङभित्र रहेका इञ्जिनियर सतिश गोइत र चालक राधाकृष्ण थापामगरको बगेर मृत्यु भएको थियो।
यो घटनाले मेलम्ची थप पर धकेलिएको आयोजनाको भनाइ छ। सुरूको गेट नै भत्किएर दुर्घटना भएपछि सुरूङभित्र रहेका अन्य चार वटा गेट पनि परीक्षण गर्नुपर्ने भएको छ।
मर्मतको काम साउनदेखि नै सुरू भए पनि सम्पन्न हुन अब मंसिर (नोभेम्बर अन्तिम)सम्म लाग्ने आयोजनाले जनाएको छ। मर्मतपछि पुनः पानी परीक्षण हुने र गेटले काम गरे(नगरेको यकिन भइसकेपछि मात्र खानेपानी राजधानी आउने टुंगो लाग्ने छ।
सिडिई इन्जिनियर तथा आयोजना प्रवक्ता राजेन्द्र पन्तका अनुसार चारवटै गेट मर्मत नगरीकन पानी हाल्न सम्भव छैन। उक्त दुर्घटनापछि भएको छानविनले सुरूङका गेटमा प्राविधिक कमजोरी देखाइसकेको छ।
‘यी चारै गेटको प्राविधिक पाटो जाँचेर सबै काम सक्न नोभेम्बर अन्तिमसम्म मात्र सम्भव छ,’ उनले भने। गेट निर्माणको जिम्मा लिएको भारतीय कम्पनी ट्रिसिजन इन्फोटेकले अहिले काम गरिरहेको उनले बताए। गेट भत्किएपछि आयोजनाले इन्फोटेकसँग कुराकानी गरेको थियो। पुनर्निर्माण तथा प्रावधिक जाँच गर्न उसले प्रस्ताव बढायो। त्यसपछि चारवटै गेटमा कार्ययोजनाअनुसार काम थालिएको पन्तले बताए ।
मेलम्चीको जम्मा २७.५ किलोमिटर सुरूङमा चार वटा गेट छन्। ती गेटमध्ये सुरूमै रहेको अम्बाथानको गेटले पानीको बहाव धान्न नसकेर भत्किएको थियो। उक्त गेट नटबल्टु फुस्केर भत्केको अध्ययनबाट थाहा भइसकेको छ।
यस्ता गेट ग्याल्थुङ, सेन्टु र सुन्दरीजलमा छन्। ‘यी सबै गेटमा चनाखो भएर काम गर्नुपर्ने भएको छ,’ पन्तले भने, ‘त्यसकारण पनि केही ढिलो हुन गएको हो।’
सुरङ भत्किएपछि खानेपानी मन्त्रालयको सहसचिव रमाकान्त दुवाडीको प्राविधिक छानविन समितिले गेटहरू निर्माण पुनः परीक्षण गर्नुपर्ने राय दिएको थियो।
आर्थिक वर्ष २०७७र०७८ को बजेटमाथिको छलफलमा बोल्दै खानेपानीमन्त्री बिना मगरले असार अन्तिममा मेलम्चीको पानी राजधानी झार्ने बताएकी थिइन्।
मन्त्री मगरको भनाइ सार्वजनिक भएसँगै मेलम्चीमा पहिले काम गरेको सिएमसीलाई सामान आपूर्ति गरेका नेपाली ठेकेदारहरूले भुक्तानीका लागि ताकेता गर्दै अवरोध गरे।
साना ठेकेदार कम्पनीहरूका अनुसार सिएमसीसँग मेलम्चीमा काम गरेका साना(ठूला ८० वटा कम्पनीको भुक्तानी बाँकी छ। ती कम्पनीलाई डेढ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको मेगाटेक हाइड्रो एन्ड इन्फ्रास्ट्रक्चर प्रालिका प्रबन्ध निर्देशक श्रीराम न्यौपानेले बताए।
‘दुवाडी समितिले पनि मेलम्चीको प्रतिवेदनमा पैसा भुक्तानी बाँकी रहेको रिपोर्ट दिएको छ। तर, सरकारले नीतिगत निर्णय नगरेसम्म यो सम्भव देखिँदैन भन्दै हामीलाई भुक्तानी दिएको छैन,’ न्यौपानले भने।
सिएमसी सन् २०१९ मा टाट पल्टेको भन्दै काम छोडेर भागेको थियो। सिएमसी भागेपछि सरकारले उसले राखेको साढे २ अर्ब रुपैयाँ धरौटी जफत गरेको थियो।
सिएमसी भागेपछि मेलम्चीको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिइएको छ। उक्त कम्पनीले २६ किलोमिटरमध्ये चार किलोमिटर क्षेत्रको सुरुङ फिनिसिङको काम गरिसकेको छ।
सुरूङ फिनिसिङ सकिए पनि प्रवलीकरणको काम नगरी पानी हाल्न नसकिने भनी खानेपानी मन्त्रालयले सो काम अगाडि बढाएको थियो।
आयोजनाका अनुसार यो सबै काम सकिएर सुन्दरीजलबाट अस्थायी कफरड्यामसम्मको पाइप ९० प्रतिशत जोडिइसकिएको छ। उक्त अस्थायी कफरड्यामबाट सुरूङमा पानी हाल्ने खानेपानी मन्त्रालयको तयारी थियो।
सुरूङमा हालिएको पानी काठमाडौंका ९ वटा ट्यांकीमा जम्मा हुन्छ। ती ट्यांकीमार्फत घरसम्म पु¥याउने तयारी छ। काठमाडौंमा जम्मा १० वटा ट्यांकीमध्ये कटुञ्जेको बाहेक ९ वटा तयारी अवस्थामा छन्।
आयोजना कार्यान्वयन निर्देशनालय कार्यालयका अनुसार काठमाडौंमा १ हजार १० किलोमिटर पुरानो पाइपलाइन मर्मत पूरा भइसकेको छ। नयाँ पाइपलाइन भने बनिरहेको छ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस