Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थतातोपानी र रसुवा नाकाको व्यापारिक कारोबार फेरि अवरुद्ध, मर्कामा नेपाली व्यवसायी

तातोपानी र रसुवा नाकाको व्यापारिक कारोबार फेरि अवरुद्ध, मर्कामा नेपाली व्यवसायी


सिन्धुपाल्चोक । चीनसंगको प्रमुख व्यापारिक नाका तातोपानी र रसुवा भन्सारबाट हुने सवै कारोबार फेरि ठप्प भएको छ । तिब्बतको नेलाम कउन्टी (स्थानीय प्रशासन) ले खासामाथिको क्यानोन कु ताल फुट्ने खतरा रहेको र बाढीपहिराले सडक भत्काएको भन्दै खासास्थित जांबु पोर्ट बन्द गरेको छ ।

प्रशासनले नाकाबाट कारोबार नगर्न आफ्ना नागरिकलाई आन्तरिक सूचना जारी गरेको छ । यसबाट तातोपानी नाकाबाट हुने सवै व्यापारिक कारोबार ठप्प भएको छ । वर्षायाम सकिन लागेपनी ताल फुट्ने भन्दै व्यापार नगर्न सूचना जारी गरेपछि नाका ठप्प भएको हो । तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले नेलाम प्रशासनले आन्तरिक रुपमा सर्कुलर जारी गरेको आनौपचारिक जानकारी भएको बताए ।

नाका कहिलेसम्मका बन्द गर्ने यकिन नभएकाले अन्यौल भने सिर्जना भएको छ । गत साउनमा ताल फुट्ने हल्लाले तातोपानी पश्चिमका तटिय क्षेत्रका वासिन्दा आतंकित भएका थिए । अहिले पनि फेरि ताल फुट्ने सूचना जारी गरेर व्यापार बन्द गरिएको हो । आन्तरिक सूचनामा नाका कहिले खुल्छ भन्ने यकिन गरिएको छैन ।

नेलाम काउन्टीले जारी गरेको सूचनामा ताल फुट्ने सम्भावना रहेको र यस अघिको बाढीले पनि पुल एवं सडक धेरै क्षति पुर्याएको उल्लेख गरिएको छ । सूचनामा ताल आसपासका विद्यालय र बस्तीहरुलाई पनि अन्यत्र सारिएको उल्लेख गरिएको छ । बाढीले झण्डै चिनियां रुपैंयां ११० मिलियन युआन अर्थात नेपाली रुपैंया झण्डै २ अर्ब बराबरको भौतिक क्षति भएको उल्लेख गरिएको छ ।

गत असारमा आएको बाढीले नेपालतर्फको सडक बगाएपछि निकै कठिनाइपूर्वक भइरहेको व्यापार अव झन् ठप्पै भएको छ । व्यवसायीको खासामा रहेको करोडौं मुल्यका सामान गोदाममा थन्किएको छ । दसैको मुखमा चिनियां सामानको आयात ठप्प भएपछि त्यसको प्रभाव व्यवसायी र उपभोक्तामा पर्ने निश्चित भएको छ ।

चीनसंगको अर्को महत्वपूर्ण नाका रसुवा पनि ६ दिनदेखि ठप्प छ । भन्सारको नेपाली लोडरलाई साता अघि कोरोना पोजिटिभ देखिएपछि बन्द भएको नाका खुलाइएको छैन । रसुवा प्रमुख भन्सार अधिकृत पुण्य खड्काका अनुसार एक जनालाई पोजिटिभ देखिएपनि अन्यलाई संक्रमण भएको छैन । चिनियांले त्यही बहानमा कारोबार बन्द गराएका थिए ।

आज चिनियां अधिकारीहरु र रसुवा प्रशासनबीच नाका सुचारु गर्ने र दैनिक रुपमा बढी भन्दा बढी सामान आयात गराउने विषयमा रसुवागढीस्थित मितेरी पुलमा वैठक भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी हिराप्रसाद पन्तका अनुसार चिनियांले विशेषतः नाकाबाट आउजाउ गर्दा कोभिडको संक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने सम्बन्धमा बढी चासो राखेका थिए ।

प्रजिअ पन्तका अनुसार नेपालले सीमाबाट व्यापारिक गतिविधि बढाउन अनुरोध गरिएको थियो । उनका अनुसार चिनियांले व्यापारिक करोबार सञ्चालन गर्न आफुहरुले माथिल्लो निकायबाट अनुमति लिने जानकारी दिएका थिए । व्यवसायीका अनुसार रसुवाको केरुङमा गत सालदेखि कै सामान थन्केको थन्क्यै छ ।

साता अघिसम्म दैनिक ५ कन्टेनर सामान आयात हुने गरेके छ । सयौं कन्टेनर सामान केरुङमा अलपत्र भएको अवस्थामा न्युन परिमाणमा आयात हुंदा समस्या भएको व्यवसायीको गुनासो छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलका अनुसार सामान आयात रोकिंदा व्यवसायी निकै मर्कामा परेको बताए ।

उनले तातोपानी र रसुवा नाकाबाट लामो समयदेखि व्यापारिक कारोबार सहज रुपमा सञ्चालन नभएको बताए । गत ल्होसारमै गोदाम गरिएका सामानहरु अझैं नेपाल भित्र्याउन नसकिएको उनले बताए । उनले सरकारले सक्रियतापूर्वक प्रयास नगरेको गुनासो गरे । व्यवसायीहरु ठूलो मारमा पर्दा पनि सरकारी सहयोग नपाएको भन्दै पौडेलले व्यवसाय सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बताए ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!