शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थएउटा छुट्टै स्वर्ग: आहा! भैरवकुण्ड(फोटोफिचर)

एउटा छुट्टै स्वर्ग: आहा! भैरवकुण्ड(फोटोफिचर)


भैरवकुण्ड । निलम रंगसँगै कंञ्चन पारदर्शी ताल ,वरीपरी आँखै लोभ्याउने चट्टानी स्वरुप र हिमश्रृंखला । बादलका श्रृंखलाबीच लुक्दै चियाइरहेका जुगल, गौरीशंकर हिमाल । चार हजार दुई सय मिटरको उचाइमा रहेको भोटेकोशी गाउँपालिकाको प्रसिद्ध तिर्थस्थल भैरवकुण्ड अर्थात छ्योमेन् पोखरी पुग्दा कसको मन चाही नरमाउला र । आदियोगी शिवको भयंकर स्वरुप भैरवको प्रतिक मानिने भैरवकुण्डलाई बौद्ध सम्प्रद्धाय दोर्जे लेपन या महादेव बुढा भन्ने गर्छन् । स्थानीय शेर्पा भाषामा भैरवकुण्डलाई आमा छ्योमेन भन्ने गरिन्छ ।

बौद्ध र हिन्दु धर्मको समान आस्था रहेको भैरवकुण्डमा तान्त्रिक कथन अनुसार महाभैरवको त्रिशुल, बज्र र गुम्बा अदुश्य रुपमा लुकाइएको छ । कुनै समयसंयोगले मात्रै त्यो तालमा देख्न पाइन्छ । चिताएको सबै पुग्ने भएकाले भैरवकुण्डमा भाग्यमानीले मात्रै रजहास, याक देख्न पाउँछन् । देवाधिदेव महादेवको बासस्थान रहस्यमयी कैलाश मानसरोवरबाट भैरवकुण्डसम्म अदुश्य दैवी मार्ग रहेकाले यहाँ पुगे पाप मेटिने जनविश्वास छ । भोटेकोशी गाउँपालिका वडा ३ दुगुनागाउँस्थित दुगुनागढीबाट झण्डै दुई दिनको पैदल यात्राको कष्ट सुन्दरतम् भैरवकुण्डको दुश्यले पुर्ण रुपमा भुलाइदिन्छ । भिर काट्दै बनाइएको ‘एडभेन्चर’ (४० किलोमिटर) पदमार्गबाट दुगुना, मानेडाडा हुदै बसीडाँडा, हात्तिकुना, टसीथाङ, जोरपाटी जोमजोम भैरवकुण्डसम्म जंगली भिरको कलात्मक द्वारले स्वागत गर्छन् ।

नागपंञ्चमी र जनैपूर्णिमा लक्ष्य गरेर भव्य मेला लाग्ने भैरवकुण्ड धाममा अहिले दर्शनार्थी र पर्यटकले ढाकेको छ । कोरोना भाइरसका कारण सचेत हुन गाउँपालिका र स्थानीय प्रशासनले आग्रह गरेपनि यस पटक मात्रै झण्डै २ हजारभन्दा बढी पर्यटक भैरवकुण्ड भित्रिएका छन् । भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलकाअनुसार भैरवकुण्डमा लिस्तीकोट र जुगल गाउँपालिकाको क्याङसिङ, हगाम हुदै पनि आउन सकिनेछ । ‘सहज पर्यटकीय पदमार्ग बनाइएका छन्, छोटो दुरीको लागि दुगुना हुदै भैरवकुण्ड पुग्न सकिन्छ,’उनले भने ।

 


क्याटेगोरी : अर्थ, पर्यटन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!