२२ दिनपछि तातोपानी नाका हुँदैं १८ कन्टेनर काठमाडौं पुगे

तातोपानी । तातोपानी नाकाबाट १८ वटा सामान बोकेका कन्टेनर काठमाडौं पुगेका छन् । भोटेकोशी बाढी र पहिरोले २२ दिनदेखि अवरुद्ध अरनिको राजमार्ग खुलेसँगैं ती कन्टेनर काठमाडौं पुगेका हुन् ।
गत असार २४ गते राति जम्बु र बुल्कोटमा आएको बाढी र पहिरोका कारण भोटेकोशीले ठाउँ ठाउँमा कटान गरेको अरनिको राजमार्ग सुचारु भएसँगैं १८ वटा कन्टेनर काठमाडौं पठाइएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
ती कन्टेनर काठमाडौं पठाउन तयारी अवस्थामा राखिएको थियो । २२ दिनपछि शनिबार खुलेको अरनिको राजमार्ग हुँदैं ६ वटा स्याउका कन्टेनर, तीन वटा लसुनका कन्टेनर, कृषिमा प्रयोग हुने हाते ट्याक्टर बोकेको ३ वटा कन्टेनर र बाँकी ६ वटा स्वास्थ्य सामग्री बोकेका कन्टेनर काठमाडौं पुगेका प्रमुख खत्रीले बताए ।
भन्सार प्रक्रिया सकेर हिडेका केही गाडी डाक्लाङमा गएराति पहिरो गएपछि पुन अड्किएको नेपाल ट्रक कन्टेनर संघका अध्यक्ष अर्जुन सापकोटाले बताए । चीनबाट आएका ४० कन्टेनर सामान भन्सार यार्डमै थन्किएका छन् ।
सडक सुचारु हुनासाथ ती कन्टेनरहरु काठमाडौं पठाइने बताइएको छ । बाढी पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध हुँदा अत्यावश्य सामग्री काठमाडौं पठाउन सकिएका छैनन् ।
केही समयअघि अत्यावश्यक भीटीएम जस्ता स्वास्थ्य सामग्री व्यापारीहरुले हेलिकप्टरमार्फत काठमाडौं ल्याएका थिए । वर्षातको समयमा वर्षैपिच्छे अरनिको राजमार्ग अवरुद्ध हुँदैं आएको छ ।
भिरालो जमिन, हिउँबाट बनेको भूबनोटका कारण यहाँको भूभाग अति नै कमजोर रहेकोले बाढी र पहिरोको समस्या भएको विज्ञहरुले बताएका छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस