Techie IT
Friday, October 30,2020 / बिहीबार, कात्तिक १३, २०७७
×
गृहपृष्ठअर्थसात वर्षअघि बाढीले बगर बनाएको १७ रोपनी जमिनमा खेती सुरु (तस्विरहरु)

सात वर्षअघि बाढीले बगर बनाएको १७ रोपनी जमिनमा खेती सुरु (तस्विरहरु)


मेलम्ची ।
सात बर्षअघि इन्द्रावती नदिमा बाढी आएर खेत बगरमा परिणत भएपछि खेती गर्न छाडेका किसानले यो वर्ष सामुहिक खेती गरेर पुनः सुरुआत गरेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ११ बोटगाउँस्थित इन्द्रावती खोलाको बगरमा रहेको एक हजार सात सय रोपनी मध्ये एक सय रोपनी जमिनमा त्यहाँका स्थानीय माझी समुदायले धान खेती सुरु गरेका हुन् ।

यो वर्ष एक सय रोपनीमा सुरु गरेर वर्षेनी बढाउँदै लैजाने गरि पुनः खेती सुरु गरिएको हो । अर्काे वर्ष चार सय रोपनी जमिनमा खेती गर्ने माझी समुदायको लक्ष्य छ । फेरि बाढी आउन सक्ने र जमिनलाई बगरमा परिणत गर्न सक्ने सम्भावना भएकाले माझी समुदायले बाढी रोक्न खोलाको छेउमा जाली गाह्रो लगाएपछि खेती सुरुआत गरिएको हो ।

२०७० सालमा आएको बाढीले अन्न उत्पादन हुने सबै खेत बगाएर बगर बनेपछि किसानले खेती गर्न छाडेका थिए । लामो समयसम्म बगर बनेको जमिनलाई खनजोत गरेर मोटा र जी फाइब हाइब्रेड प्रजातीको धान लगाइएको स्थानीय रामजी माझीले जानकारी दिए ।

तीन सय ७० परिवारको जमिन बाढीले बगरमा परिणत गरेपछि जिविकोपार्जनका लागि माझी समुदाय ज्यालादारी काम गरेर घरखर्च चलाउदै आएका थिए । इन्द्रावती नदिमा वालुवा झिक्ने काम गर्ने गरेका उनीहरु फेरि खेती गर्न पाएपछि उत्साहित भएको वडाअध्यक्ष मने माझीले बताए ।

यसखेतीबाट राम्रो उत्पादन हुने यहाँका किसानले आशा लिएका छन् । साना किसानलाई कृषिमा निर्भर बनाउनका लागि उत्पादनमा जोड दिनका लागि गाउँपालिकाको कृषि शाखाबाट विउ, गोडमेल र यन्त्रिक उपकरण सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको भनाई छ ।

यहाँ उत्पादन हुने धानलाई एकै ठाउँमा संकलन गरेर गाउँपालिका भित्रै बिक्री वितरण गरिने स्थानीय सरकारको योजना छ । यहा एक केजी विउबाट करिब पाँचसम्म मुरी धान उत्पादन हुने किसानको आशा छ ।

आर्थिक विकासको प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रलाई व्यवसायिक रुपमा विकास गर्दै स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्य अनुरुप इन्द्रावती गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा बगर बनेको जमिनमा पुन खेति सुरु गरेको हो ।

 

 

 


क्याटेगोरी : अर्थ


तपाईको प्रतिक्रिया दिनुहोस