मेलम्चीको सुरुङको क्षतिबारे प्राविधिक टोलीले अध्ययन गर्दै

मेलम्ची ।
काठमाण्डौं लैजान परीक्षण गरिएको पानी मेलम्ची सुरुङको गेट फुट्दा यतै फर्किएर भएको क्षति, संरचना र कारण पहिल्याउन प्राविधिक टोली आयोजनास्थल आइपुगेको छ । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गभित्रको गेट फुटेर क्षतिग्रस्त हेर्डवक्सस्थल, अडिटजस्ता संरचना जाँचबुझका लागि विज्ञ, प्राविधिकको टोली आइपुगेको हो ।
टोलीमा खानेपानी तथा सरसफाई मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीसमेत छन् । उनको संयोजकत्वमा प्राविधिक र छानबिन टोली (आज)बिहीबार मात्रै आइपुगेको हो । टोलीमा ३ जना आयोजना विज्ञ, ३ जना प्राविधिक कर्मचारी रहेका छन् । टोलीले हेलम्बु गाउँपालिका १ अम्बाथानमा रहेको मुहानस्थलमा निरीक्षण गरि आन्तरिक बैठक गरे । छलफल सकेर सुरुङभित्रको ३ सय मिटरसम्म सम्पूर्ण प्राविधिक अवस्था नियाल्ने तयारी रहेको एक प्राविधिकले बताए ।
सुरुङभित्रको अवस्था जोखिमपूर्ण अवस्था भएमा सेन्सर या अन्य प्रविधिबाट भित्रैसम्म निरीक्षण गरिने योजना बनाइएको छ । ‘सहसचिव दुवाडीको नेतृत्वमा प्राविधिक तथा विज्ञको टिम मुहानस्थलमा नै पुगिसकेको छ, बिहीबारको प्राविधिक अनुमगन र अनुसन्धानपछि मात्रै यथार्थ विवरण खुल्नेछ,’ मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले भने । उनका अनुसार सुन्दरीजल पुग्ने मेलम्चीको मुख्य (सुरुङ २७ किलोमिटर)सँग जोडिएको अम्बाथान अडिटको (गेट नम्बर १७) फुटेर फर्किएको पानीबारे विज्ञ र प्राविधिकले नियाल्नेछन् ।
मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा अम्बाथान अडिटमा रहेको मुख्य गेट (गेट नम्बर १७) का महत्वपूर्ण गेट ग्याल्थुम, सुन्दरीजल, सिन्धुमा गरी चार वटा बनाइएका छन् । अम्बाथान अडिट एक किलोमिटरको दुरीमै मुख्य सुरुङ २७ किलोमिटरसम्म जोडिने उनले जनाए ।
मंगलबार मध्यान्ह एक्कासी गेट नम्बर १७ फुटेर अम्बाथान् अडिटबाट निस्किएको पानीले दुई बेपत्ता र दुई जनालाई घाइते बनाएको थियो । बेपत्ता भएकामध्ये बुधबार दिउँसो इन्द्रावती खोलाको बाहुनेपाटीमा जनकपुरका इन्जिनियर सतिश गोहितको शव फेला परेको प्रहरीले जनाएको छ । उनका अनुसार आयोजनामा कार्यरत कर्मचारी सवारी चालक ५५ वर्षीय राधाकृष्ण थापामगर भने अझै बेपत्ता छन् ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस