Techie IT
Tuesday, July 7,2020 / मंगलबार, असार २३, २०७७
×
गृहपृष्ठअर्थसलहबाट बाली जोगाउन इन्द्रावतीको सुझाव: `पाकेका अन्न भित्र्याऔं, धानका बिउमा झुल लगाऔं`

सलहबाट बाली जोगाउन इन्द्रावतीको सुझाव: `पाकेका अन्न भित्र्याऔं, धानका बिउमा झुल लगाऔं`


चौतरा । इन्द्रावती गाउँपालिकाले सलह किरा आएमा समस्या समाधानका लागि सतर्क रहन किसानहरुलाई आग्रह गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै तराईका बारा र पर्सामा देखिएका सलहहरु बिस्तारै अन्य ठाउँमा पनि देखिन थालेकाले सतर्कता अपनाउन र त्यसको निराकरणका विभिन्न उपाय अपनाउन आग्रह गरेको हो ।

छिमेकी भारतमा मात्रै यो किराले बालीनाली सखाप बनाएकाले सिन्धुपाल्चोकमा आउने सम्भावनालाई ध्यान दिँँदै इन्द्रावतीले किसानहरुले खेतबारीमा सलह बस्न नदिन पाकेको वा टिप्न मिल्ने बालीहरुलाई भित्र्याउने र तत्काल बजार लगिहाल्न किसानलाई सुझाव दिएको छ । सलहले हरियो बालीको पात खाएपछि डाँठ र हाँगासमेत सखाप पार्ने क्षमता राख्दछ ।

अहिले धानको बीउ राख्ने समय भएकाले धानको ब्याडलाई सलहले भेटेमा सखाप पार्ने हुँदा धानको बिउँ जोगाउन झुलको प्रयोग गर्न भन्दै तितेपाती निमको झोलको प्रयोग, धुँवा लगाउने, भाँडाकुँडा ठटाउने जस्ता विधि पनि निकै प्रभावकारी देखिने बताइएको छ । सलहले एक दुई दिनमै निकै क्षति पुर्याएर बसाई सर्ने हुनाले रासायनिक औषधि प्रभावकारी नहुन सक्ने हुँदा हाल्नै परेपनि `मेटाराईजियम` नामक जैविक विषादीको प्रयोग प्रभावकारी हुने सुझाइएको छ ।

त्यसको प्रयोग घाम लागेको एक/दुई घण्टापछि गर्न पनि किसानलाई भनिएको छ । ६२ प्रतिशत प्रोटिनले भरिपूर्ण सलहलाई कुखुराको दानाको रुपमा प्रयोग गर्न सकिने बताइएको छ । भारतमा यस किराले बालीनालीमा आक्रमण गरेर सखाप बनाएकाले भोकमरी र मानव स्थानान्तरण जस्ता परिस्थितिको सिर्जना गरेको छ ।

सलहको वयस्कले लामो दुरी उड्न सक्ने हुँदा यसले हरिया बाली सबै सखाप पार्ने हुनसक्छ । तर नेपालमा सानो झुण्डमा सलह भित्रेकाले ठूलो क्षति हुन नसक्ने विज्ञहरुले पनि बताएका छन् । मरुभूमिमा पाइने सलहको वयष्क पोथीले एकपल्टमा ९५ देखि१५८ को संखयामा अण्डा पार्न सक्छ ।

 


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking, #सलह


तपाईको प्रतिक्रिया दिनुहोस