भुक्तानी नदिएको भन्दै सीएमसी पीडितले मेलम्ची खानेपानी विरुद्ध कडा आन्दोलन गर्ने

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरुले आयोजना विरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । पीडितहरुले आउँदो बिहीबारबाट कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका हुन् ।
मजदुर, स्थानीय ठेकेदार र मेलम्ची खानेपानी आयोजनाबीच भदौ २९ गते भएको ५ बुँदे सहमतिपछि पीडित पक्षले गर्दै आएको आन्दोलनका सबै कार्य स्थगित गर्ने निर्णय भएको थियो ।
खानेपानी मन्त्रालयमा भएको उक्त सहमतिप्रति असन्तुष्ट केही स्थानीय भेन्डर तथा सप्लायर्सले पुनः आयोजना विरुद्ध कडा आन्दोलनको तयारी गरेको स्थानीय सप्लायर्सहरुले बताएका छन् । खानेपानी मन्त्रालयका सचिवको नेतृत्वमा संघर्ष समितिका अध्यक्ष र एक जना सदस्यले मात्र वार्ता गरेको सहमति सिंगो भेन्डर तथा सप्लायर्सको हितमा नभएकोले पुनः आन्दोलन गर्ने बताएको छ ।
मेलम्ची खानेपानी आयोजनाको यसअघिको इटालियन ठेकेदार कम्पनी (सीएससी) ले बिचमा नै आयोजनाको काम छाडेर भागेपछि सीएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदुर र स्थानीय ठेकेदारहरु लामो समयदेखि आन्दोलनमा छन्।
गत भदौ १८ गते बाट आयोजना पीडितहरुले शान्तिपूर्ण आन्दोलनको सुरुवात गरेपनि १९ गते आयोजनाको मुहानस्थल अम्बाथानमा दोहोरो झडप हुदाँ प्रहरीले आन्दोलनकारी माथि १२ शेल अश्रुग्यास प्रहार गरेको थियो भने दुइ जना मजदुर घाइते भएका थिए ।
मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल र साइट कार्यलयमा आन्दोलन चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा समेत जारी गरेको थियो । खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेसहित खानेपानी आयोजना, मजदुर प्रतिनिधि र स्थानीय ठेकेदारहरुबीच पाँच बुँदे सहमतिपछि आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने भनिए पनि उक्त सहमतिले स्थानीय भेन्डर तथा सप्लायर्सको रकम भुक्तानीको सुनिश्चितता नभएकोले भन्दै पुनः कडा आन्दोलनको तयारी गर्नु परेको बताईएको छ । स्थानीय मजदुरको रकम मात्र थोरै दिएर हामीलाई आयोजनाले झुक्काएको पीडित सप्लायर्सहरुको भनाई छ ।
मेलम्ची खानेपानी आयोजनाले मजुदर र स्थानीय ठेकेदारहरुको माग पूरा गराउन एक प्राविधिक समिति समेत गठन गरेको तर त्यसले काम नगरेर स्थानीयको माग प्रती बेवास्ता गरेको भन्दै आन्दोलनमा जानू पर्ने बाध्यता रहेको सप्लायर्सहरुले बताए ।
स्थानीय भेन्डर तथा सप्लायर्सको इटालिएन ठेकेदार कम्पनी सिएमसीसँग मजदुर र स्थानीय आपूर्तिकर्ताले एक अर्ब ६७ करोड रुपैयाँ लिन बाँकी रहेको दाबी गर्दै आएका छन्।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस