Techie IT
Tuesday, October 27,2020 / मंगलबार, कात्तिक ११, २०७७
×
गृहपृष्ठअर्थभोलि छलफल गर्ने सहमतिमा स्याउ र लसुनका कन्टेनर छाडिए

भोलि छलफल गर्ने सहमतिमा स्याउ र लसुनका कन्टेनर छाडिए


चौतारा । तातोपानी सुख्खा बन्दरगाहमा आइपुगेका स्याउ र लसुनका कन्टेनर विवादकाबीच काठमाडौं पठाइएको छ । आइतबार चीनबाट नेपाल ल्याइएका लसुन र स्याउका सात वटा कन्टेनर काठमाडौ पठाइएको भन्सार प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए । आज तीनवटा लसुनका गाडी र चार वटा स्याउका कन्टेनर काठमाडौं पठाइएको हो ।

स्थानीयले कोरोनाको उद्गमस्थल चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्छ भन्दै भन्सारमा आइपुगेका ती गाडी कुनै हालतमा काठमाडौं जान नदिने बताउँदै दिउँसैबाट भन्सार गेटमा धर्ना दिएका थिए । आज एकदिनलाई छाडिदिनुस भोलि सरसल्लाह गरेर आगामी दिनमा कसरी अघि बढ्ने सल्लाह गर्छौ भनेपछि कन्टेनरहरु सहज रुपमा जान दिएको प्रमुख खत्रीले बताए ।

भोलि भन्सारले उद्योग वाणिज्य संघ, नेपाल सिमापार व्यापार संघ, बाह्र्बिसे नगरपालिकाका मेयर, भोटेकोशी गाउँपालिकाका अध्यक्षलगायत विभिन्न व्यक्तिहरुसँग छलफल गर्दैछ । भोलिको छलफलबाट आगामी दिनमा स्वास्थ्य सामग्री बाहेक अरु ल्याउन के गर्ने भन्ने विषयमा निर्णय गरिने खत्रीले बताए ।

यता भोटेकोशी ३ का वडाध्यक्ष कैलाश पौडेलले भने सामान काठमाडौ पठाउनका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको व्यापक रुपमा परिचालन गरि झडप हुने अवस्था आएपछि आज एकदिनलाई सामान छाडेको बताएका छन् । प्रहरीले नै हामी अब स्कर्टिङ गर्दैनौं आज यी गाडी जान दिनुस भनेर भनेपछि गाडीलाई जान दिएको पौडेलको दावी छ ।

कोरोना संक्रमणको त्रास हुने भन्दै अत्यावश्यक स्वास्थ्य सामग्री बाहेकका सामान आयात नगर्न स्थानीय जनप्रतिनिधिले भन्सारलाई पटक-पटक अनुरोध गरेका थिए । केही दिन अघि उनीहरुले भन्सारलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्याउ लसुन आयातमा रोक लगाउन अनुरोध गरेका थिए । तर भन्सार प्रमुख खत्री भने बाटोमा अलपत्र परेका सामान ल्याएको बताउँछन् । उनी भन्छन् `स्याउ र लसुन पनि अत्यावश्यक वस्तु नै हो । जो मानिसले दैनिक उपभोग गर्छ ।` चीनबाट स्याउ आयात नहुँदा बजारमा स्याउको भाउ महगिंएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस