आईतबार, मंसीर १२, २०७८
गृहपृष्ठअर्थतातोपानी नाकाबाट कोरोना नियन्त्रणका सामान धमाधम भित्रिदैं (भिडियो)

तातोपानी नाकाबाट कोरोना नियन्त्रणका सामान धमाधम भित्रिदैं (भिडियो)


तातोपानी । कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीहरु तातोपानी नाकाबाट आयात हुन थालेपछि स्वास्थ्य सुरक्षा सामग्रीहरु सहज रुपमा उपलब्ध हुन थालेको छ । चीन सरकारले अनुदान दिएका र व्यवसायीहरुले समेत ल्याउन थालेपछि स्वास्थ्य सुरक्षा सामग्री बजारमा पाउन सहज भएको हो ।

तातोपानीबाट पीपीई, एननाइन्टिन फाइभ मास्कलगायत अत्यावश्यक सामग्री आएका हो । हालसम्म २१ हजार २ सय ६० थान पीपीइ, २० हजार थान पीसीएल(स्वाब परीक्षण कीट), ९० हजार एन नाइन्टिन फाइभ मास्क जस्ता अत्यावश्यक सामानहरु आयात भएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

भूकम्प र बाढीपहिरोले ४ वर्ष भन्दा बढी समय थलिएको चीनसँग जोडिएको तातोपानी नाकाबाट हुने स्वास्थ्य सामग्री आयातले मुलुकलाई कोरोना संक्रमण नियन्त्रण गर्न मद्दत पुग्ने देखिन्छ । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवागढी नाकाबाट हुने आयात चीनले नै बन्द गरेपछि तातोपानी सञ्चालनमा खुकुलो बनाइएको हो । चीनमा कोभिडको संक्रमण बढ्दै गएपछि उत्तरी सीमा जोडिएको दुवै नाका बन्द गरिएको थियो ।

हाल चीनले तातोपानीबाट निर्यात गर्ने निर्णय गरेपछि नेपाललाई आयात गर्न सहज भएको हो । चीनको विभिन्न शहरबाट कुती हुँदै खासा ल्याएका सामान मितेरी पुल नजिकै ‘अनलोड’ गर्ने व्यवस्था मिलाइएको छ । त्यहाँ ल्याइएका सामान नेपालबाट गएको कन्टेनरले सीमा भन्दा करिव ४ किमि पश्चिम लार्चा सुख्खा बन्दर्गाहमा ल्याउने व्यवस्था मिलाइएको छ ।

कन्टेनर र चालकलाई स्वास्थ्य सम्बन्धि सवै उपाय अपनाएर सामान भित्र्याउने गरेको तातोपानी भन्सार प्रमुख खत्रीले बताए । संक्रमण नफैलियोस भन्नाका लागि चालकलाई क्वारेन्टाइन राख्ने, कन्टेनरमा स्प्रे गर्ने र भन्सार हातामा प्रवेश गर्नेलाई ज्वरो नाप्ने लगायतका उपाय अपनाइएको छ ।

संक्रमणका कारण मुलुकमा उत्पन्न भएको संकटमा खाद्य सामाग्री पनि आयात गरिने भन्सार प्रमुख खत्रीले जानकारी दिए । उनका अनुसार स्याउ, लसुनलगायतका सामाग्री आयात हुन थालेको छ । यो नाकाबाट आयात बढ्न थालेपछि राजधानीका स्याउ सस्तो हुने व्यवसायीको भनाई छ । हाल राजधानीमा स्याउको मूल्य प्रतिकिलो ४ सय ५० सम्म पुगेको छ ।

भन्सार प्रमुख खत्रीले हाल राजस्व संकलन भन्दा पनि स्वास्थ्य सामाग्रीको आयातमा जोड दिइएको बताए । सरकारले उक्त नाकाबाट आवश्यक परेमा खाद्य सामाग्री ल्याउने निर्णय गरेको छ । तत्काल तयारी पोशाक लगायतका व्यापारिक वस्तु आयात नहुने भन्सारले जनाएको छ ।

राजधानीबाट १ सय १० किमि टाढा तातोपानी नाका सञ्चालन हु“दा राजधानीको आपूर्ति व्यवस्थामा सहज हुने अनुमान छ । भूकम्पपछि चार वर्ष पूर्ण रुपमा भएको नाका सञ्चालनबाट स्थानीयसमेत खुसी भएका छन् । तर पूर्ण रुपमा व्यापारिक सामान आयात गर्ने अवस्था भने अझै बनेको छैन ।


क्याटेगोरी : अर्थ, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!