Techie IT
Sunday, August 1,2021 / आईतबार, साउन १७, २०७८
×
गृहपृष्ठअर्थस्याउ र लसुनका कन्टेनरलाई प्रहरी ‘स्कटिङ’

स्याउ र लसुनका कन्टेनरलाई प्रहरी ‘स्कटिङ’


सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभिड–१९) को संक्रमण भित्रने भन्दै भोटेकोशीका वडाध्यक्षले ज्ञापनपत्रमार्फत लिखित विरोध जनाएपछि चीनबाट ल्याइएका स्याउ र लसुन बोकेका कन्टेनर हिजो राती ९ बजे प्रहरी स्कटिङ गरेर सुख्खा बन्दरगाह भित्र्याइएको छ । नेपाल र सशस्त्र प्रहरीको गाडी अघिपछि लगाएर कन्टेनर बन्दरगाहमा भित्र्याइएको हो ।

अति आवश्यक सामान मात्र ल्याउनुपर्ने भन्दै भोटेकोशी गाउँपालिकाका ४ जना वडा अध्यक्षले शुक्रबार तातोपानी भन्सारलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले स्वास्थ्य सामाग्री मात्र ल्याउन माग गरेका छन् । जबरजस्ती सामान ल्याएमा र संक्रमण नहुने ग्यारेन्टी नगरेमा आयातित स्याउ र लसुन नष्ट गर्ने चेतवानी वडाध्यक्षले दिएका थिए । उनीहरुले धम्की दिएपछि कन्टेनरलाई सुरक्षा दिएर बन्दरगाहमा प्रवेश गराइएको हो ।

भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार सीमामा आएको सामानलाई सुरक्षा दिनुपर्ने भएकाले स्किटिङ गरेको बताए । नियमसंगत रुपमा आएका वस्तुको संरक्षण गर्नु राज्यको कर्तव्य भएको उनले बताए । बिहान ११ बजेदेखि स्वास्थ्य लगायत सवै प्रक्रिया पुर्‍याएर कन्टेनर राति ९ बजे बन्दरगाहमा भित्र्याएकोे थियो । सामान कसले ल्यायो ? भन्ने कुरा होइन, नागरिक सवै बराबरी भएकाले अप्ठेरो पर्दा सवैलाई संरक्षण दिनुपर्ने तर्क उनले गरे ।

भूकम्प र बाढीपहिरोबाट तीन वर्ष भन्दा बढी समय बन्द भएको पुरानो भन्सारको पारि मितेरी पुल नजिकै चीनबाट ल्याएको सामान लोड–अनलोड गर्ने स्थान तोकिएको छ । उताबाट ल्याइएका सामानलाई यताबाट गएका कन्टेनरले सीमाबाट नेपालतर्फ ल्याउने गरिएको छ । पछिल्लो समय संघीय सरकारले तातोपानी नाका सञ्चालन गरेर स्वास्थ्यसँग सम्बन्धित र अतिआवश्यक अन्य खाद्य सामाग्री ल्याउने निर्णय गरेको थियो ।

वडाध्यक्षले भने अन्य खाद्य सामाग्री (जस्तै दाल, चामल, नुन आदी) ल्याएपनि लसुन र स्याउ ल्याउन नदिने तर्क अघि सारेका छन् । लसुन र स्याउ ल्याउँदा कोरोना संक्रमण हुने खतरा रहेको भनाई उनीहरुको छ । सामान ल्याउन लागेको थाहा पाएपछि वडाध्यक्षहरुले प्रहरी स्कटिङको भिडियो नै सार्वजनिक गरेका थिए । उनीहरुले स्कटिङ नै गरेर सामान ल्याउँदा शंका गर्नुपर्ने ठाउँ रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार संघीय सरकारको निर्णय अनुसार सुरक्षा प्रदान गरिएको हो । उनले केन्द्रीय सरकारको निर्णय कार्यान्वयन गर्नु स्थानीय प्रशासनको दायित्व भएको बताए । ‘सरकारी निर्देशन उल्लघंन भयो भने कारबाही गर्नुको बिकल्प ह्ँदैन,’ उनले भने । सामान आयात गर्ने निर्णय केन्द्रीय सरकारको भएकाले सुरक्षा दिनु प्रशासनको कर्तव्य हो, उनले भने, ‘कुनै अनियमितता भए अधिकारप्राप्त निकायले हेर्न सक्छ ।’


क्याटेगोरी : अर्थ
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!