बिहीबार, असोज १८, २०८०
गृहपृष्ठअर्थचीनको स्याउ र लसुन तातोपानीबाट नल्याउन भोटेकोशीका वडाध्यक्षको चेतावनी

चीनको स्याउ र लसुन तातोपानीबाट नल्याउन भोटेकोशीका वडाध्यक्षको चेतावनी


सिन्धुपाल्चोक/ चीनबाट ल्याएको स्याउ र लसुनसँगै कोरोना संक्रमण (कोभिड–१९) भित्रने सम्भावना रहेको भन्दै भोटेकोशी गाउँपालिकाका वडाध्यक्षले तातोपानी भन्सार कार्यालयलाई त्यस्ता वस्तुको आयात रोक्न माग गरेका छन् । दाल, चामल, नुनलगायतका अति आवश्यक बस्तु ल्याएपनि स्याउ र लसुन ल्याउन नहुने व्यहोरासहितको ज्ञापनपत्र उनीहरुले भन्सारलाई बुझाएका छन् । कोरोना चीनबाट फैलिएको र त्यहीबाट सामान ल्याउँदा रोग नआउला भन्न सकिँदैन, ज्ञापनपत्रमा भनिएको छ । भन्सार हातामा हाल ४ कन्टेनर स्याउ र २ कन्टेनर लसुन भित्रिसकेको छ । अन्य खाद्य वस्तु ल्याउन हुने लसुन र स्याउ ल्याउन नहुने कारण भने ज्ञापनपत्रमा उल्लेख गरिएको छैन ।

भूकम्प र बाढीपहिरोले ३ बर्ष भन्दा बढी समय बन्द भएको भन्सार पछिल्लो समय सञ्चालनमा आएको हो । स्थानीय तहसँग सल्लाह र समन्वय नगरी त्यस्ताबस्तुको आयात गर्दा तातोपानी र आसपासका वासिन्दामा कोरोना संक्रमण हुन सक्ने ठहर उनीहरुको छ । ज्ञापनपत्र बुझाउनेहरुमा भोटेकोशी–१, २, ३ र ४ का वडाध्यक्षहरु क्रमशः मुख्ये शेर्पा, दिपेन्द्र श्रेष्ठ, कैलाश पौडेल र साङ्दोर्जे शेर्पा छन् । उनीहरुले तातोपानीको सुख्खा बन्दरगाहस्थित भन्सार कार्यालयको गेटमा ज्ञापनपत्र पढेका थिए । उनीहरुले बुझाएको चार बुँदे ज्ञापनपत्र भन्सारका एक कर्मचारी गेटमै आएर बुझेका थिए । ज्ञापनपत्रको बुँदा नम्बर २ मा भनिएको छ,‘चीनबाट क्वारेन्टाइन मापदण्डविपरित भित्रेको स्याउ र लसुनले देशवासी र सीमामा कोरोना संक्रमणको जोखिम बढाएको छ ।’

भन्सार प्रमुख लालबहादुर खत्रीले वडाध्यक्षहरुले गेटमा दिएको ज्ञापनपत्र आफूले पाएको बताए । ज्ञापनपत्रलाई माथिल्लो निकायमा पठाउने जानकारी उनले सिन्धुखबरलाई दिए । कोभिड–१९ नियन्त्रण र रोकथामका लागि झिकाइएका औषधि, व्यक्तिगत सुरक्षाका लागि प्रयोग हुने स्वास्थ्य सामाग्रीलगायतका वस्तुको आयात सहज रुपमा गर्न आफूहरुको कुनै अवरोध नहुने भन्दै उनीहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चीनको क्वारेन्टानन्को सर्टिफिकेट भए मात्र स्याउ र लसुन ल्याउन दिने ज्ञापनपत्रमा उल्लेख गरेका छन् । अन्यथा सीमा ल्याइएका त्यस्ता बस्तुलाई नष्ट गर्ने चेतावनी दिएका छन् ।

वडाध्यक्षहरुले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, भन्सार र विचौलिया मिलेर स्याउ र लसुन भित्र्याएको दावी गरेका छन् । सरकारले भारतका नाकाहरु बन्द भएमा अतिआवश्यक सामान तातोपानीबाट ल्याउन भन्सार सञ्चालनमा निरन्तरता दिएको हो । चीनबाट स्याउ र लसुन आयात बन्द भएपछि राजधानीको बजारमा त्यस्ता बस्तुको मूल्य आकासिएको छ ।

नेपालको बजारमा चिनियाँ स्याउको प्रभुत्व छ । लकडाउनमा अन्य सामानको तुलनामा स्याउको मूल्यमा उच्च वृद्धि भएको छ । स्याउको प्रतिकिलो ४ सय ५० रुपैंयाँसम्म पुगेको छ । चिनियाँ स्याउ भने सस्तो हुने गरेको छ । राजधानीबाट नजिकै र सजिलो बाटो भएकाले सरकारले उक्त नाकाबाट सामान आयात गर्ने निर्णय गरेको हो । नाकाबाट स्वास्थ्य सामाग्रीको आयात पनि भइरहेको भन्सार प्रमुख खत्रीले जानकारी दिए । ‘उहाँहरुले ज्ञापनपत्र दिनुभएको छ । त्यसलाई माथिल्लो निकायमा पठाएको छु । यो अन्तर्राष्ट्रिय नाका भएकाले माथिल्लो निकायबाट हुने निर्देशन र निर्णयलाई पालना गर्नु मेरो कर्तव्य हो, खत्रीले भने । उनले भन्सार सञ्चालन र तोकिएको कारोबार सञ्चालनमा अवरोध नहुने बताए ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!