आईतबार, असोज ३१, २०७८
गृहपृष्ठअर्थहेलम्बुका किसानलाई २७ लाख सस्तोमा मल

हेलम्बुका किसानलाई २७ लाख सस्तोमा मल


हेलम्बु, १६ वैशाख ।

हेलम्बु गाउँपालिकाका किसानले प्रतिवर्ष कम्तीमा २७ लाख रुपैयाँ बराबरको सस्तोमा रासायानिक मल पाउने भएका छन् । कृषि सहकारी संस्थामार्फत कृषि सामाग्री कम्पनि लिमिटेडकै मूल्यमा मल वितरण गरिने भएपछि किसानले सस्तो मूल्यमा मल पाउने भएका हुन् ।

बार्षिक कम्तीमा ६ हजार बोरा खपत हुने गाउँमा बजार मूल्य भन्दा प्रतिबोरा चार सय ५० रुपैयाँ कममा मल पाउने भएपछि किसानलाई २७ लाख रुपैयाँ सस्तो पर्ने भएको हो । प्रतिबोरा गाउँपालिकाले एक सय तीस रुपैयाँ अनुदान दिने भएपछि सहकारीले कृषि सामाग्री कम्पनि लिमिटेडकै मूल्यमा किसानलाई मल दिन तयार भएको छ । संस्थान मूल्य अनुसार  किसानले युरिया मल अहिले बजार भाउ भन्दा चार सय ५० रुपैयाँको हाराहारीमा सस्तोमा पाउनेछन् ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण बाहिरी स्थानबाट तरकारीलगायत खाद्यान्न आउन बन्द हुने अवस्था आएपछि कृषि सहकारीसँग समन्वय गरेर गाउँपालिकाले किसानलाई सस्तोमा मल र विउ उपलब्ध गराउने योजना अघि सारेको हो । गाउँपालिकाले स्थानीयस्तरबाट खाद्यान्न उत्पादनमा जोड दिदैंं किसानका लागि मल सहज आपुर्तीको व्यवस्थासमेत गरेको छ ।

स्थानीय रातोपुल कृषि सहकारी संस्थाले हेलम्बुमा रहेका सबै किसानका लागि रासायनिक मल ल्याउनेछ । हेलम्बुमा रहेका कृषि सहकारीहरुको बैठकमा रातोपुल कृषि सहकारीले आफूले गाडीभाडा बराबरको रकम अनुदान पाउने भएपछि कृषि सामाग्री कम्पनि लिमिटेडकै मूल्यमा मल दिनसक्ने जनाएसँगै किसानले सस्तोमा पाउने भएका हुन् । हेलम्बुमा गाउँपालिकाले तोकेको बाहेक अन्य सहकारीले सो मूल्यमा मल ल्याउने छैन । किसानले राजधानीमा रहेको कृषि सामाग्री कम्पनि लिमिटेडकै मूल्यमा मल पाउने गाउँपालिकाको दाबी छ । गाउँपालिकाले मल ढुवानीवापत कृषि सहकारीलाई किसानमार्फत प्रतिबोरा एकसय ३० रुपैयाँ अनुदान दिएपछि सहकारीले कृषि सामाग्री कम्पनि लिमिटेडले दिने मूल्यमा किसानलाई मल उपलब्ध गराउने हेलम्बु गाउँपालिका कृषि विकास शाखा प्रमुख टोपबहादुर बरुवालले जानकारी दिए ।

‘दुई सिजनमा गरि हेलम्बुमा कम्तीम ६ हजार बोरा रासायनिक मल आवश्यक पर्छ,’ बरुवालले भने, ‘सिधै कृषि सामाग्री कम्पनि लिमिटेडको मूल्यमा किसानले मल पाउँदा प्रतिबोरा ४ सय ५० रुपैयाँसम्म सस्तो पर्छ ।’ उनले किसानलाई सहकारीमार्फत युरिया, डिएपी र पोटास उपलब्ध गराइने जानकारी दिए । हेलम्बुका किसानले अब प्रतिबोरा बढीमा युरिया ८ सय ५०, डिएपी दुई हजार चार सय र पोटास एक हजार आठसय रुपैयाँ तिनुपर्ने हुन्छ ।

सहकारीले कुनै पनि बेला मल अभाव गर्न नपाउने हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘हामीले किसानको हितका लागि यो योजना अघि सारेका हौं,’ अध्यक्ष शेर्पाले भने, ‘हेलम्बुलाई कृषि तथा खाद्यान्नको पकेट क्षेत्र बनाउने अभियानलाई यसले सघाउ पु¥याउने विश्वास छ ।’

कोरोना भाइरस (कोभिड १९) का कारण अर्थतन्त्रमा पछाडि धकेलिन सक्ने सम्भावित लाई मध्यनजर गर्दै खाद्यान्न र कृषि उत्पादनमा जोड दिने गाउँपालिकाको अभियान हो । एक बोरा रासायनिक मलमा प्रतिबोरा ३० प्रतिशतसम्म सस्तो हुने भएपछि किसानहरु खेतितर्फ आकर्षित हुने अध्यक्ष शेर्पा बताउँछन् । ‘खेतीयोग्य जमिन बाँझो नराख्नुका साथै सामग्री सस्तोमा पाएपछि किसानलाई खाद्यान्न उत्पादनमा अग्रसर गराउन हामीले यो कदम चालेका हौं ।’ उनले भने ।

खाद्यान्न बालीका लागि उर्वर मानिने हेलम्बुमा बर्षेनी तीन बाली उत्पादन हुन्छ । धान, मकै कोदो, मकै, गहुँ, आलुलगायतका खाद्यान्न यहाँ उत्पादन हुने गरेको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!