राहतबाट ज्यान पाल्दै मजदुर

तौंथली, १५ वैशाख ।
निम्न आयस्रोत भएकै कारण परिवार पाल्न कठिनाई भएपछि जुम्लाबाट ज्याला मजदुरीका लागि सिन्धुपाल्चोक आइपुगेका सन्तबहादुर बस्नेतको बिहान र बेलुकीको छाक अहिले राहतकै भरमा टरिरहेको छ । लामो समयदेखि सिन्धुपाल्चोको तौंथली हुँदै दोलखाको शिलढुंगा जोड्ने सडक निर्माणमा खटिएका जुम्लास्थित तिला गाउँपालिकाका बस्नेत लकडाउनलगत्तैदेखि राहतमै आश्रित छन् ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै कामहरु सबै बन्द भए । नजिकै घर भएका साथीहरु गाउँ फर्के । ‘आफ्नो घर पनि टाढा छ, गाउँ पुग्ने पैसा पनि छैन,’ उनले दुखेसो पोखे, ‘लकडाउन खुल्ला र काममा फर्काैला भन्ने आशैआशमा बसियो, लकडाउन झनै लम्बिन थाल्यो ।’ लकडाउन खुल्ने आशमा पर्खिरहेका उनी अहिले राहतकै भरमा हातमुख चलेको बताउँछन् । ‘हामीसँग सामग्री खरिद गर्ने पैसा नभएकाले राहत बाहेकको विकल्प अरु छैन ।’ उनले भने ।
काम सुरु गरेदेखि नै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा आश्रय लिइरहेका उनीसहितको टोली अझै यहीं छ । नेपाल सरकार अन्तर्गत सडक विभागको काममा खटिरहेका उनीहरुलाई अहिले आर्थिक संकट छ । काम रोकिएकाले ठेकेदारले ज्याला दिन नसकेपनि खान र बस्नका लागि सकेको सहयोग भने गरिरहेको उनीहरु बताउँछन् ।
सडकको काममा आएका बस्नेतजस्तै उदयपुरको लिच्चुङबुङ गाउँपालिका कि भरिमाया राईको पनि दैनिकी उस्तै छ । भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा खटिएकी राई पनि लकडाउनको मारमा छिन् । ‘दैनिक ज्यालादारीमा काम गर्न आएको हो, लकडाउनमा फसियो,’ उनी भन्छिन्, ‘चाँडै लकडाउन सकिएला भनेर कुरेर बस्यौं, अझै खुल्ने छाँटकाँट छैन, बरु झन बढ्दै छ ।’ राहतकै भएपछि खान र सुरक्षित रुपमा बस्न भने पाइरहेको उनले सुनाइन् ।
यो वडामा मात्रै विकास निर्माणमा आएर लकडाउनमा फसेकाहरु ६० भन्दा बढी मजदुर छन् । ‘आफूहरु टाढाबाट आएपनि यो संकटमा गाउँवासीको सहयोग पाइरहेका छौं,’ सिन्धुलीबाट आवास निर्माणका लागि तौंथली आइपुगेकी धनीमाया पाख्रिनले भनिन्, ‘खान नपाएर मरिएला भन्ने छैन ।’ उनले तौंथलीबासीले टाढाबाट आएका ज्याला मजदुरी गर्नेलाई मानवीय धर्म निर्वाह गरेको बताइन् ।
सडक निर्माण र नीजि आवास पुनर्निर्माणका लागि यो वडामा उदयपुर, मोरङ, झापा, सुनसरी, हुम्ला, सप्तरी, सिन्धुली, दाङ, अर्घाखाँची, सिरहालगायतका मजदुरहरु अहिले बसोबास गरिरहेका छन् । लकडाउन सुरु भएसँगै बाहिरी जिल्लाबाट आएर ज्याला मजदुरी गर्नेहरुलार्ई खाद्य संकट परेपछि त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ५ ले राहतको व्यवस्था गरेको हो । वडाले खाद्यान्न दिएपछि उनीहरु भोकै रहनबाट वञ्चित भएको बताउँछन् ।
त्रिपुरासुन्दरी गाउँपालिका–५ का वडाअध्यक्ष विष्णुभक्त श्रेष्ठले ज्यालामजदुरी गर्नेहरुको काम रोकिएपछि छाक टर्न धौधौ देखेकै कारण खाद्यान्न वितरण गरिएको बताए । वडाअध्यक्ष श्रेष्ठकाअनुसार उनीहरुलाई प्रतिव्यक्ति १५ केजी चामल, ३ केजी दाल, नुन र चिनी १÷१ केजी, तेल १ लिटर, साबुनलगायत सामग्री प्रदान गरिएको छ । ‘यो सामग्रीले उनीहरुलाई अहिलेसम्म पुगेको छ, लकडाउन थर्पिदै गएकाले आवश्यक परेको खण्डमा थप अत्यावश्यक सामग्री दिनेछौं,’ उनले भने, ‘उहाँहरुलाई घर पठाउन पनि नसकिएको अवस्था भएकाले अहिले खाद्यान्न वडाले नै हेरिरहेको हो ।’ ज्याला मजदुरी गर्नेहरुका लागि राहत प्याकेज स्वरुप गाउँपालिकाले विनियोजन गरेको १ लाख रुपैयाँबाट उनीहरुलाई खाद्यान्न वितरण गरिएको हो ।
सडक निर्माण र निजी आवास पुनर्निर्माणका लागि लकडाउनले रोकेको थिएन । काम गर्दै जाँदा सामग्री अभाव भएपछि उनीहरुले काम रोक्नु परेको हो । निर्माणका लागि आवश्यक इँटा, गिटी, बालुवा, छडलगायत सामग्री सकिएपछि काम ठप्प भएको थियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस