शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थदाना नपाउँदा ट्राउट व्यवसायी समस्यामा

दाना नपाउँदा ट्राउट व्यवसायी समस्यामा


मेलम्ची, १० चैत ।
कोरोना भाइरस संक्रमण कम गर्न सरकारले जारी गरेको लक डाउनका कारण माछालाई चाहिने दाना नपाउँदा हेलम्बु क्षेत्रका दर्जन बढि ट्राउट माछा फार्म समस्यामा परेका छन् ।
माछा बजार लान नपाउँदा पर्ने आर्थिक घाटा सँगै माछालाई खुवाउने दाना सहज रुपमा उपलव्ध हुन नसक्दा व्यवसायी समस्यामा परेका हुन् । पछिल्लो समय ट्राउट हबका रुपमा विकशित बन्दै गएको हेलम्बु गाउँपालिकाको मेलम्ची करिडोरका ट्राउट व्यवसायी लकडाउनपछि माछालाई खुवाउने दाना कसरी ल्याउने भन्ने चिन्तामा परेका छन् ।
बजार पु¥याउने समय भएका माछालाई दाना खुवाएर पाल्नुपर्ने बाध्यता त छँदैछ अझ दाना अभावमा माछा बचाउनै सकिंदैन की भन्ने चिन्ताले सताउन थालेको भण्डारी ट्राउट फार्मका सञ्चालक उत्तममणी भण्डारी बताउँछन् । माछा बजार पठाउन नसकेको पिडा त छँदैछ, भण्डारी भन्छन्, स्टक दाना सकिन लागेको छ अब कसरी दाना ल्याएर माछा बचाउने भन्ने चिन्ताले सताउन थालेको छ ।
फार्ममा भएको स्टक दानाले अब केही दिन मात्र थेग्ने भएकाले हुर्किएका माछा बचाउन कठिन पर्नसक्ने उनी बताउँछन् । कोरोनाबाट बच्न सतर्कता अपनाउनु जरुरी भएसँगै व्यवसायीलाई सहज रुपमा दाना ल्याउने वातावरण सरकारले निर्माण गरिदिनुपर्ने धण्डारीको माग छ । फार्मसँगै रिसोर्ट समेत सञ्चालन गरेका भण्डारीको लकडाउन अघि आधा भन्दा बढि उत्पादन आफ्नै रिसोर्टमा खपथ हुने गरेको थियो । रिसोर्टमा खपथ नभएका माछा मात्र राजधानी निर्यात गर्ने गरेका भण्डारी अहिले रिसोर्ट राजधानी दुबै ठाउँमा बिक्री शुन्य रहेको बताउँछन् ।
असहज परिस्थितिमा माछाले बजार पाएन भन्ने चिन्ता भन्दा पनि दाना कसरी ल्याउने भन्ने व्यवसायीका लागि चुनौति बनेको अर्का व्यवसायी रामबहादुर खड्का बताउँछन् । हेलम्बु क्षेत्रमै पहिलो पटक ट्राउट पालन सुरु गरेका खड्का माछाले बजार नपाएर आर्थिक घाटा व्यहोर्नु परेको भन्दा पनि दाना खुवाएर बचाउन चुनौति बन्दै आएको खड्काले बताए । असहज परिस्थितिमा बजार नपाएर केही आर्थिक घाटा व्यहोर्नु स्वभाविक भएपनि दाना अभावमा माछा नै बचाउन सकिंदैन की भन्ने व्यवसायीको मुख्य चिन्ताको विषय हो, खड्का भन्छन्, दाना उद्योगसँग सहजीकरण गरेर फार्मसम्म दाना ल्याउन सक्ने वातावरण भएमा मात्र लक डाउन लम्बिदै जाँदा माछा बचाउन सम्भव हुन्छ ।
थोरै मात्रामा फार्मबाटै खपथ हुने भएपनि ट्राउटको मुख्य बजार राजधानीका ठूला तथा मझौला होटलहरु हुन् । लकडाउनका कारण होटलहरु समेत बन्द भएकाले बिक्री गर्ने समय भएका माछालाई समेत दाना खुवाउनु पर्दा स्टक दानाले थेग्न कठिन भएको व्यवसायीहरुको गुनासो छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!