शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठअर्थकोरोनालाई जित्दै खेतको काममा गाउँवासी

कोरोनालाई जित्दै खेतको काममा गाउँवासी


चौतारा, ५ चैत ।
विहीबार बिहानै मेलम्चीका रामचन्द्र दुलाल खेतमा चैते धान रोपाईंका लागि छिमेकीका घरमा ट्याक्टर लिन पुगे । छिमेकीलाई उनले भने, ‘भाउजुहरु दुवै जनालाई पठाइदिनु दाई, रोपाहारको कमी छ ।’
देश अहिले सिंगो लकडाउनमा छ । रोजगारका क्रममा सहर छिरेकाहरु गाउँ फिरेका छन् । ‘अहिले गाउँमा टन्नै युवाहरु छन्, बाउसे गर्ने लाठेको जरुरी पर्देन, रमाइलोकै लागि भएपनि युवाहरु रोपाईंमा आउने गर्छन् ।’
दुई दिनसम्म घरबाट झण्डै २० मिनेटको दुरीमा पर्ने खेतबाट साँझदेखि विहानसम्म गहुँ ओसारेका दुलाल अmभै थाकेका छैनन् । रोपाईंमा ट्याक्टर चलाउने उनै हुन् । कामकै कारण कोरोना संक्रमणतिर उनको ध्यान छैन । भन्छन्, ‘हामी काम गर्ने मान्छेलाई कोरोना लाग्दैन ।’
उनी मात्रै हैन, अहिले उनका सबै छिमेकी बिहानदेखि साँझसम्म खेतमै रमाइरहेका हुन्छन् । कोही गहुँ काट्ने, कोही आलु खन्ने त कोही रोपाईंमा गाउँवासी व्यस्त हुने गरेका हुन् । ‘रोगको डर मानेर घरभित्रै बस्न सकेनौं, लगाएको उब्जनी भित्र्याउने र नयाँ बाली लगाउनमा व्यस्त छौं,’ दुलाल भन्छन् ।
अहिले बजार क्षेत्र लकडाउनका कारण पुरै सुनसान छ । कोरोना भाइरस (कोभिड १९ )को संक्रमणको त्रासमा देशभर लकडाउन छाएपछि मुख्य र साना बजारक्षेत्रमा सुरक्षाकर्मीबाहेक अन्य देख्न मुस्किल पर्छ । कोरोना भाइरस संक्रमणको त्रासमा लकडाउनलाई मान्दै बजार क्षेत्रका स्थानीय घरबाट बाहिर निक्लिएका छैनन् । तर, लकडाउनको शुन्यताबीच सबै गाउक्षेत्रका बासिन्दा भने ढुक्क भएर सामुहिक रुपमा दैनिकी खेतीपाती र कृषिकर्ममा व्यस्त देखिएका छन् ।
इन्द्रावती नदीछेउ झ्याडी खोला किनारमै चैते धान रोपाई गरिरहेका चौतारा साँगाचोकगढी नगरपालिका ११ का माझी, दनुवार समुदाय पनि चैते रोपाईंमा व्यस्त छन् । ‘काम नगरि खान पाइदैन, त्यससैले हामी खेतबारीकै काममा छौं ।’ सुरेन्द्र माझीले भने । माझी समुदाय कामबाट फर्केपछि कोरोना सचेतना जगाउँदै साबुन पानीले हात धुने, सफा रहने भने गर्ने गरेका छन् । ‘हामीले पढेलेखेका छैनौं, आम्दानीको स्रोत नै यही खेतबारी हो,’ उनी भन्छन्, ‘काम नगरी घरभित्रै बस्यो भने परिवार पालिदिने अनि आफू बाँच्ने आधार छैन ।’ ज्याला मजदुरी गरेर खाने माझी र दनुवार सबै आपतमा परेपछि कृषिमा होमिएर लकडाउन सदुपयोग गरिरहेको उनको भनाइ छ । मेलम्ची नगर र काभ्रेको सिपाघाट फाँटमा खेतैपिच्छै आलु खनेर कृषकलाई ठड्याउने हतारो चलेको छ ।


दुलाल र माझी मात्रै हैन, अहिले जिल्लैभरका किसान खेतबारीमा निस्किएका छन् । गाउँमा खेतबारीको काम नजान्नेहरु बाख्रा चह्राउन जान्छन् । हल्लाकै भरमा कोरोना भाइरसको बारेमा चर्चा सुनेकी जुगल गाउँपालिका वडा ३ ,तेम्बाथान्की माइली शेर्पा निर्धक्क सामुहिक रुपमा बाख्रा चराइरहेकी भेटिइन् । छिमेकी मिल्हामुसँगै झण्डै एकसय वटा बाख्रा चराइरहेकी उनले कोरोना भाइरसबारे सबैकुरा थाहा नपाइसकेको खुलाइन् । ‘यता नेटकवर्क र फोन केही लाग्दैन्, बिजुली पनि छैन्, टेलिभिजन,रेडियो कहाँबाट हेर्नु सुन्नु र, तैपनि यो रोगबारे हल्ला चाहिँ सुनेको छु, ।’ उनले भनिन् ।
दाउराको जोहो गरिरहेकी बाह्रबिसे नगरपालिका वडा ६ घुम्थाङकी डोमा शेर्पाले साबुन पानीले हात धुने र नचिनेको मान्छेसँग दुरी राखेर भेट्ने गरेको सुनाइन् । ‘हामी त ढुक्क छौ, केही गरि कोरोना आएपछि हेरौला, अरु सचेतना जसरी पनि अपनाइएकै छ, अरु के गर्नु र ,’उनले भनिन् । जिल्लाको तिन नगर नौ गाउँपालिकाभर जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहेकाले सचेतना बढिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ‘गाउदेखि बजारक्षेत्रभरमा लकडाउन पालना गराउन तत्पर छौ, सचेतना फैलाउन सबै कस्सिरहेका छौ, ’उनले भने ।


क्याटेगोरी : अर्थ, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!