मंगलबार, कात्तिक ९, २०७८
गृहपृष्ठअर्थतातोपानीबाट औषधि ल्याउन अवरोध नहुने: यस्तो छ सुरक्षा योजना

तातोपानीबाट औषधि ल्याउन अवरोध नहुने: यस्तो छ सुरक्षा योजना


तातोपानी । तातोपानी नाकाबाट कारोनाभाइरस (कोभिड–१९) नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयले पनि सहजीकरण गर्ने भएका छन् ।

चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा (कोभिड–१९) को संक्रमण फैलन सक्ने भएकोले स्थानीयले आफूहरु त्रसित भएको बताउँदै आज बिहान तातोपानी स्थित सुख्खा बन्दरगाहमा भेला भएर सकारी निर्णयको विरोध गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढाकाल र स्थानीय जनप्रतिनिधि र भन्सार प्रमुखबीच मौखिक कुराकानी अनुसार संक्रमण फैलन नदिन उच्च सावधानी अपनाएर औषधि आयातलाई सहज बनाउने सहमति भएको छ ।

उक्त सहमति पछि अव नाकाबाट औषधि आयातमा स्थानीयले अवरोध जनाउने छैनन् । भोटेकोशी गाउँपालिका २ का वडाध्यक्ष दिपेन्द्र श्रेष्ठका अनुसार प्रजिअ ढकाल र गाउँपालिका अध्यक्ष राजकुमार पौडले बीच टेलिफोनमा भएको कुराकानीका आधारमा तत्काल औषधि ल्याउन स्थानीयले सहजीकरण गर्ने समझदारी भएको हो ।

‘खाद्यान्न ल्याउनुर्ने अवस्थामा पुनः छलफल गर्ने सहमति भएको छ,’ वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सिन्धुपाल्चोक र तिब्बतको नेलाम जिल्लाका सुरक्षा अधिकारी बीच तातोपानीको मितेरी पुलमा मंगलबार भएको बैठकले नाका सञ्चालन गरेर औषधि र खाद्यान्न सामाग्री भित्र्याउने निर्णय गरेको थियो । सामाग्री भित्र्याउने क्रममा नाकामा हुने गतिविधिले संक्रमण भित्रने त्रास स्थानीयमा छ ।

कोभिड संक्रमणका कारण भारतले आफ्ना नाकाहरु लकडाउन गरेको अवस्थामा सरकारले बिकल्पको रुपमा तातोपानीलाई नियमित गराउन खोजेको हो ।

स्थानीयले संक्रमण नियन्त्रणको योजना बनाएर मात्र व्यापारिक कारोबार सञ्चालन गर्न माग गर्दै आएका थिए । चीनबाट ल्याइने सामाग्री र राजधानी भित्रेका मालवाहक कन्टेनरबाट संक्रमण फैलिन सक्ने भन्दै उनीहरुले तत्काल औषधिको मात्र आपूर्ति व्यवस्था मिलाउन माग राखेका हुन् ।

चीनमा भर्खरै भाइरस नियन्त्रण हुनथालेको र राजधानीमा नयाँ संक्रमणका बिरामी भेटिन थालेपछि यसको फैलावट सीमा क्षेत्रमा पनि हुन सक्ने भन्दै उनीहरुले यसको नियन्त्रण र रोकथामको ग्यारेन्टी माग गरेका हुन् ।

वडा नम्बरका १ का वडाध्यक्ष कैलाश पौडेलले नाका सञ्चालन गर्दा स्थानीयमा संक्रमण फैलन सक्ने चिन्ता बढेको बताए । यसको नियन्त्रणको उपाय खोजिनुपर्छ भन्ने हो, उनले भने,‘स्थानीय तहलाई वास्ता नगरी सरकारी निकाय एकलौटी रुपमा अघि बढ्दा भोलि अप्ठेरो आउँदा कसले सहयोग गर्छ ।’

प्रजिअ ढकालका अनुसार औषधि खाद्यान्न अतिआवश्यक सामाग्रीमा पर्ने भएकाले मुलुककै समस्यालाई ध्यानमा राखेर नाकालाई नियमित गर्न खोजिएको हो । ‘मैले बैठकमा सहभागी चिनियाँ पक्षलाई प्रष्ट भनेको छु अहिले अरु खालका व्यापारिक सामान आयात हुँदैन,’प्रजिअ ले भने ।

औषधि, स्याउ, लसुन, प्याज, अदुवालागायका सामान तत्काल ल्याउने तयारी गरिएको छ । ‘आवश्यक पर्‍यो भने खाद्यान्न पनि ल्याउन सकिने जानकारी ढकालले दिए । अहिले भने ‘विगतमा जे जे आउँथ्यो त्यो नै ल्याउने हो’उनले भने । ‘स्थानीयले सुरक्षाको चिन्ता गर्नुपर्दैन त्यो राज्यको जिम्मेवारी हो । स्वास्थ्यका सवै सुरक्षा मापदण्ड अपनाएर नाका सञ्चालन हुन्छ,’ उनले भने ।

हामीलाई मात्र होइन चिन्ता चीनलाई पनि त छ । उनीहरुको त नियन्त्रण भइसकेको अवस्थामा नेपालबाट उता जाने खतरा पनि त रहन्छ । त्यसैले दुवै मुलुकले सोहीअनुसार सावधानी अपनाउने कुरामा ग्यारेन्टी गर्ने दावी उनले गरे ।

भूकम्प पछि आंशिक रुपमा खुलेको नाका कोरोनाका कारण केही समय बन्द भएको थियो । गत साता कोरोना नियन्त्रणमा प्रयोग हुने स्वास्थ्य सामाग्री आयात गरिएको थियो ।

भोटेकोशी गाउँपालिकाका वडाध्यक्षहरु श्रेष्ठ र साङ्दोर्जे शेर्पाको अगुवाईमा स्थानीयले भन्सार प्रमुख लालबहादुर खत्रीलाई आज भेटेर विरोध जनाएका थिए ।

उनीहरुले सामान आयात गर्दा हुनसक्ने संक्रमण रोक्ने ग्यारेन्टी गर्नुपर्ने, औषधि बाहेकका सामान आयात गर्न नहुने, नाका सञ्चालनका क्रममा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नुपर्नेलगायतका विषयमा उनीहरुले खत्रीसँग असन्तुष्टी जनाए ।

केन्द्रीय सरकारले नै नाका सञ्चालनको आवश्यकता देखेर यो निर्णय गरेकाले यसको निर्णय फेरबल हुन सक्दैन, प्रजिअ ढकालले भने ।

मुलुकलाई अप्ठेरो परेका बेला स्थानीयले सहयोग गर्नुपर्ने उनले बताए । स्थानीयलाई कुनै खास समस्या परेमा वा अप्ठेरो भएमा छलफल गर्न सकिने उनले बताए ।

के छ त सुरक्षा योजना 

चीनबाट आउने सामानहरु चीनको सीमासम्म चिनियाँ कन्टेनरले ल्याइदिन्छन् । त्यहाँ भन्सार प्रक्रिया सकिएपछि ती सामान अनलोड गरिन्छ । अनलोड गर्न निश्ति ठाउँ तोकिएको छ । सामान अनलोड गरेर चिनियाँ कन्टेनर र अनलोड गर्ने मजदुरहरु गइसकेपछि मात्रै यता नेपालबाट कन्टेनरहरु पारि जान्छन् ।

उनीहरुको एक अर्कासँग भेट हुँदैन् । कोरोना भाइरस संक्रमण नहोस् भनेर चीन र नेपाल सरकारका प्रतिनिधिबीचको बैठकले मंगलबार यो सहमति गरेको भन्सार अधिकृत खत्रीले जानकारी दिए । यताबाट जाने कन्टेनर र लोडरले सामानलाई स्प्रे गर्छन् र लोड गर्छन् । त्यसपछि उनीहरु नेपालको भन्सार यार्डमा सामान लिएर आउँछन् र अनलोड गर्छन् ।

ती सामानलाई फेरि स्प्रे गरिन्छ र १२ देखि २४ घण्टासम्म यार्डमा राखिन्छ । त्यसपछि ती काठमाण्डौं पठाइन्छ । जो सामान लिन चाइनिज यार्डसम्म गएका हुन्छन् ती आइशोलेशनमा बस्छन् । उनीहरुको बाहिरी मान्छेसँग कुनै सम्पर्क नहुने भन्सार अधिकृत खत्रीको दावी छ ।

संक्रमणको त्रास नहोस भनेर सामान हुने अनुपात अनुसार निश्चित चालक र मजदुरलाई मात्रै चाइनिज सीमामा रहेको यार्डमा नियमित पठाइने उनले बताए । चाइनिज सीमामा जानु अघि र पछि पनि ती कन्टेनर चालक र लोडरहरुको स्वास्थ्य परीक्षण गरिनेछ । त्यसका लागि सीमा नाकामा अन्तराष्ट्रिय स्तरको हेल्थ डेस्क स्थापना यसअघि नै गरिएको छ ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!