शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थलक्ष्य भेट्दै निजी आवास पुनर्निर्माण

लक्ष्य भेट्दै निजी आवास पुनर्निर्माण


चौतारा, १४ फागुन
विनासकारी भूकम्पबाट सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा निजी आवास पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भूकम्पको करिब ५८ महिनामा झण्डै ८५ प्रतिशत घर ठडिएसँगै पुनर्निर्माणले लक्ष्यको अन्तिम बिन्दु चुम्न लागेको हो ।
पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) को तथ्यांकअनुसार जिल्लामा ९० हजार सात सय ५९ लाभग्राही छन् । यीमध्ये ८७ हजार चार सय ४९ (९६.३५प्रतिशत)ले पुनर्निर्माणका लागि पहिलो किस्ता वापतको अनुदान लिएका छन् । त्यस्तै ८३ हजार आठ सय ५६ (९२.३९ प्रतिशत)ले दोस्रो किस्ता र ७६ हजार आठ सय ४२ (८४.६२ प्रतिशत) ले आवास निर्माण सकेर तेस्रो किस्तावापतको अनुदान रकम लगिसकेको जिमालीले जनाएको छ ।
भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिएसँगै निजी आवासतर्फ शतप्रतिशत नतिजा निकाल्ने क्रममा पुगेको हो । जिमालीका सूचना अधिकारी रविराज धितालले यो आर्थिक वर्षमा निजी आवासतर्फको पुनर्निमाण सक्ने दावी गरे । ‘पछिल्लो समय पुनर्निर्माणले तीव्रता लिएको छ,’ उनी भन्छन्, ‘यही रफ्तारमा निजी आवास निर्माण भए बाँकी १५ प्रतिशत यही वर्षमा निर्माण हुने देखिन्छ ।’ पहिलो किस्ता पनि नलिएका तीन हजार तीन सय १० को मात्रै पुनर्निर्माण सुरु हुन बाँकी छ ।
आवास निर्माण सकेर अन्तिम किस्ता लिन बाँकी लाभग्राही पनि छन् । यस्तो हुँदा आवास निर्माण सम्पन्न भएका घर धुरी संख्या झण्डै ९० प्रतिशत पुग्ने धितालको अनुमान छ । ‘केहीको अन्तिम किस्ताका लागि प्रक्रियामा छ,’ धितालले भने, ‘अधिकांश प्रक्रियामा छिर्न आउनै बाँकी छ ।’
जिमालीको तथ्यांकअनुसार बाह्रविसे नगरपालिकाका आठ हजार दुई सय ४४ मध्ये सात हजार ४३, बलेफी गाउँपालिकाका ६ हजार एक सय ३३ मध्ये पाँच हजार ६ सय २९, भोटेकोशी गाउँपालिकाका चार हजार तीन सय ६८ मध्ये दुई हजार नौ सय ३३ हेलम्बु गाउँपालिकाका पाँच हजार ६ सय ५४ मध्ये चार हजार ६ सय ५९ लाभग्राहीले अन्तिम किस्ता लगिसकेका छन् ।
जिमालीका व्यवस्थापक लक्ष्मण सेठकाअनुसार चौतारा साँगाचोकगढी नगरपालिकाका १४ हजार तीन सय २५ मध्ये १२ हजार नौ सय ५८, इन्द्रावती गाउँपालिकाका आठ हजार पाँच सय ८४ मध्ये सात हजार ६ सय ३८, जुगल गाउँपालिकाका पाँच हजार सात सय ३९ मध्ये चार हजार तीनले निर्माण सम्पन्न गरेर पुरै अनुदान पाएका छन् । त्यस्तै १३ हजार नौ सय ७० लाभग्राही रहेको मेलम्ची नगरपालिकामा ११ हजार तीन सय ६५ले, सात हजार चार सय ८२ रहेको पाँचपोखरी थाङपाल गाउँपालिकामा पाँच हजार आठ सय १०, पाँच हजार नौ सय तीन रहेको सुनकोशी गाउँपालिकामा पाँच हजार दुई सय ६ र चार हजार ६ सय ५१ लाभग्राही रहेको त्रिपुरासुन्दरीमा चार हजार दुई सय ४९ले अन्तिम किस्ता लिइसकेको सेठले जानकारी दिए ।
भूमिहीन, विस्थापित र जग्गा किचलो भएका पीडितले आवास पुनर्निर्माण थाल्न सकेका छैनन् । जिल्लामा एक सय ९७ परिवार भूमिहीन लाभग्राही रहेकोमा ३६ को मात्र कायम भएको छ । त्यसमध्ये एक परिवारले मात्र जग्गा प्राप्ति गरेका छन् । त्यस्तै नौ सय १३ परिवार बिस्थापितमध्ये तीन सय तीनले मात्र जग्गा प्राप्ति गरेर आवास पुनर्निर्माण गरिरहेका छन् । ६ सय १० बिस्थापित जग्गा प्राप्तिको प्रक्रियामा छन् । उनीहरुले आवास निर्माण थाल्न सकेका छैनन् ।
बिनासकारी भूकम्पको ठिक वर्ष दिनपछि २०७३ वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट निजी आवास पुनर्निर्माण अभियानको थालनी गरेका थिए ।


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!