दुई सातादेखि तातोपानी नाका बन्द

कल्पना श्रेष्ठ
चौतारा, ६ माघ ।
चीनमा कोरोना भाइरस संक्रमण भएपछि दुई सातादेखि तातोपानी नाका बन्द छ । कारोना भाइरस नेपाल भित्रन नदिन बन्द गरिएको तातोपानी नाका अझै नखुलाइएको हो ।
भूकम्पपछि गएको जेठमा खुलेको यो नाकाबाट दुई सातादेखि कुनै कन्टेनर भित्रिएका छैनन् । तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार दुईसाता अघि चीनमा त्रासपूर्ण रुपमा कोरोना भाइरस फैलिएपछि नाकाबाट सामान लिन पुगेका एघार कन्टेनर सोही बेला फर्काइएको थियो । त्यसयता सामग्री ढुवानीका लागि कन्टेनर चीन क्षेत्रमा नगएको उनले बताए । ‘चिनियाँ पक्षले कोरोना भाइरस फैलिने भन्दै हाललाई नाका बन्द गरिएको हो,’ उनले भने, ‘कोरोना भाइरस फैलनुअघि स्याउ बोकेका १० वटा सम्म कन्टेनर दैनिक रुपमा नेपाल भित्रिने गरेका थिए ।’ केही ब्यापारिक खाद्यान्न र कपडा ल्याएका कन्टेनरहरु पनि नाकामा छिटफुट आउने गरेको उनले जानकारी दिए । नाका बन्द भएसँगै राजश्व संकलनमा पनि प्रभाव परेको छ ।
नाका खुलेपछि यो नाकाबाट स्याउ, नास्पाति, प्याज, लसुन धेरै मात्रामा नेपाल भित्रेका थिए । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयले १ अर्बको बराबरमा राजश्व संक्लन गरेको थियो । कार्यालयका अनुसार साउनमा २ करोड ६० लाख, भदौमा ५ करोड २६ लाख, असोजमा १० करोड ६९ लाख संकलन गरेको थियो । त्यस्तै कात्तिकमा २८ करोड, मंसिरमा २३ करोड ७७ लाख र पुसमा २० करोड ९६ लाख रुपैयाँ राजस्व संकलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
भोटेकोशी गाउ“पालिकाले चीनमा फसेका कन्टेनर चालकलाई नाकाबाट नेपाल प्रवेश गरेपछि सीमामै भाइरस लागे नलागेको परीक्षणको लागि हेल्थ क्याम्प राखेको थियो । हेल्थ क्याम्पबाट चीनबाट नेपाल फिरेका नेपाली चालक सहित चिनिया“ नागरिकको स्वास्थ्य परीक्षण गरेको गा“उपालिकाले जनाएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस