Techie IT
Tuesday, October 20,2020 / मंगलबार, कात्तिक ४, २०७७
×
गृहपृष्ठअर्थकागती र किवी खेतीले झुक्यायो बाँदर

कागती र किवी खेतीले झुक्यायो बाँदर


किशोर बुढाथोकी र सागर खड्का
चौतारा, २१ माघ ।
विभिन्न खाद्य तथा नगदे बालीमाथि बाँदरको आँखा लाग्न थालेपछि जिल्लाका किसानहरुले बैकल्पिक खेतीको सुरु गरेका छन् । बाँदर आतंकबाट परम्परागत बाली जोगाउन नसकेपछि किसानहरुले त्यसको विकल्पमा कागती, किवी, तथा चिया खेती गर्न थालेका हुन् ।
किसानले लगाएको बाली जोगाउन नसकेपछि बाँदरलाई झुक्याउँदै बैकल्पिक खेती गर्ने किसानको संख्या बढ्दो छ । खाद्य तथा फलफूल उत्पादन हुने बेलामा बाँदरबाट जोगाउन मुस्किल हुन थालेपछि जिल्लाका सबै स्थानीय तहमा रहेका किसानले बैकल्पिक खेती अपनाउन थालेका हुन् ।
यसअघि धान, मकै, कोदोलगायत फलफूल लगाइने ठाउँमा किसानहरुले किवी, कागती, चिया, टिम्मुरलगायत रोप्न थालेका छन् । बैकल्पिक खेतीप्रति चासो नदिएका किसानहरु सरकारले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति ल्याएसँगै यसतर्फ लागेका हुन् ।
बाँदरले सताएपछि हेलम्बु गाउँपालिका ४ गैँटारका किसानहरुको बाँझो बसेको झण्डै चार सय रोपनी खेतीयोग्य जमिनमा अहिले कागती खेती गरिएको छ । मलिलो जमिन, सिंचाइको व्यवस्था, राम्रो उत्पादन हुने गेपनि उत्पादन बाँदरले खाइदिँदा किसानले उपभोग गर्न पाउँदैन थिए । ‘बाँदरले धेरै नै दुख दिएपछि परम्परागत अन्नबालीको विकल्पमा हेलम्बुका किसानहरुले व्यवसायिक कागती खेती सुरु गरेका छन्,’ स्थानीय किसान हरिकृष्ण लामिछानेले भने, ‘धान, मकैजस्ता खाद्य बाली बाँदरकै कारण संरक्षण गर्न सकिएन ।’ उनले अहिले भने किसानले बाँदरलाई झुक्याउन सफल भएको बताए ।
कागती खानका लागि बाँदर नआएको हैन । निकै कडा र अमिलो हुने भएपछि बाँदर कागती खान आउन छाडेको उनको भनाई छ । कागतीको बोटमा केही काँडासमेत हुने हुँदा बाँदरहरु घाइते हुने गरेपछि कागती खान बाँदर नआउने गरेको हो । घर आसपासका जमिनमा खेतीपाती गरेपनि टाढाका खेतबारीमा बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्ने हसँदा कागती खेतीको सुरु गरिएको अर्का स्थानीय लालनाथ लामिछानेले बताए । बाँदरकै कारण बाँझो राख्नुपरेको १२ रोपनी आफ्नो जमिनमा ३ सय बोट कागतीको बिरुवा रोपेको उनले बताए ।
घर आँगनसम्मै बाँदर आएर दुःख दिएपछि पाँचपोखरी थाङपाल गाउँपालिका १ बाँसखर्कका किसानले पनि सामुहिक चिया खेतीको सुरुवात गरेका छन् । परम्परागत खेतीमा बाँदर लाग्न थालेपछि चिया खेती सुरु गरिएको मन्जुश्री चिया, कफि, अलैंची उत्पादक कृषक समूहका अध्यक्ष रेक्पा तामाङको भनाई छ । ‘चियामा फल हुँदैन, पात टर्राे हुने भएपछि बाँदर लाग्दो रहेनछ ।’ उनले भने । पाँचपोखरी थाङ्पालजस्तै चौतारा साँगाचोकगढी नगरपालिकाको ओखरेनी, भोटेकोशी गाउँपालिकाको लिस्ती, मेलम्ची नगरपालिकाको भोटेचौर, हैबुङमा चिया खेती विस्तार गरिएको हो ।
बाँदरले सताएपछि बैकल्पिक खेतीका रुपमा किसानले किवी र टिम्मुर लगाएका छन् । इन्द्रावती गाउँपालिका १ ठूलो ओखरेनीकी शान्ता शेर्पाका अनुसार बाँदरले हैरानी गरेपछि गाउँभर किवी खेती लगाउन सुरु गरिएको छ । समुन्द्री सतहबाट झण्डै दुई हजार पाँच सय मिटरको उचाईमा पर्ने यो गाउँमा उत्पादित आलु, मुला अहिले लोप भइसकेको अवस्था छ । यहाँका आलु, मुुला सदरमुकाममा मात्रै नभई राजधानीसम्म खपत हुन्थ्यो । ‘बाँदरले जमिन खनेर भएपनि आलु, मुला खान थालेपछि यहाँका बासिन्दाले लगाउनै छाड्नुपर्ने अवस्था आयो,’ शान्ति भन्छिन्, ‘बाँदरबाट जोगाउन अहिले सबैले किवी खेती गरेका छन् ।’ उनका अनुसार किवीलाई बाँदरले खादैन ।
किवीको फलको बाहिरी भाग निकै खस्रो हुन्छ । झुस हुन्छ । जसले बाँदरलाई चिलाउने समस्याले सताउँछ । काँचोमा निकै टर्राे र अमिलो हुने हुँदा किवीको फल खान बाँदर नआउने गरेको शेर्पाले बताइन् । अहिले किवी मेलम्ची, भोटेचौर, हैबुङ, चौतारा, ठूलोओखरेनी, हेलम्बु, लिस्तीलगायतका ठाउँका किसानले व्यवसाियक खेती गरिरहेका छन् । सदरमुकाम चौतारावासी पनि बाँदरको समस्याबाट ग्रस्त छन् । यहाँका किसानले भने किवी, चिया उचाईका कारण नहुने भएपछि टिम्मुर खेतीको सुरुआत गर्न थालेका छन् । टिम्मुरको बोटमा काँडाहरु हुने हुँदा बादर नलाग्ने भएपछि यो खेतीको सुरुआत गरिन लागिएको किसानहरुको भनाई छ ।
सरकारले बाँदरलगायत बन्यजन्तु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन नसकिरहेको बेला किसानले व्यवसायिक रुपमा बैकल्पिक खेतीको सुरुवात गरेका हुन् । बाँदर नियन्त्रण भएमा जमिन बाँझो हुने समस्या घट्ने, गाउँमै रोजगारीको वातावरण सिर्जना हुने र किसानको आयमा वृद्धि हुने स्थानीयवासी बताउँछन् ।
बाँदरले दुःख दिएपछि वर्षदिनअघि जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि गाउँसभाबाट बजेट विनियोजनसमेत गरेको थियो । पालिकाको वडा नं. ३ मा बाँदर नियन्त्रण भनी पाँच लाख विनियोजन गरिएको हो । तर, नियन्त्रण भने हुन सकेको छैन ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस