३ वटा प्रकोपले लखेटेको माझी समुदायलाई नयाँ घर

किशोर बुढाथोकी
बाँडेगाउँ, २० माघ ।
साउन २०५४ को अन्तिम साता । दिनको अन्तिम घडीमा इन्द्रावती नदि साउने भेल बनेर उर्लिदैं आयो । साविक बाँडेगाउँ गाविसस्थित प्यूघर बस्तीलाई कटान गरेर माझी समुदायको १२ घर क्षणभरमै नदिमा मिसियो ।
साउने अविरल वर्षासँगै आएको बाढीले आफूहरु बस्दै गरेको बस्ती निमिट्यान्न पारेको त्यतिबेलाको दृष्य अझै आँखै अगाडि झल्झली नाचिरहन्छ इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँका रामकृष्ण माझी (५६) लाई । २२ वर्षअघिको त्यो प्राकृतिक प्रकोपपछि अझैसम्म घरमा बस्न नपाएका रामकृष्णलाई त्यो दिनले पटक पटक झस्काइरह्यो । ‘आँखै अगाडि बस्ती बगेपछि त्यो पीडा अझै मनमा गढिरहेको छ,’ रामकृष्ण भन्छन्, ‘त्यसदिनदेखि भएको टहराको बास २२ वर्षसम्म चल्यो ।’ त्यतिबेला उनको घर मात्रै हैन २२ रोपनी जग्गासमेत बगायो ।
बस्ती बगाएपछि त्यही दिनदेखि सडकमा पुगे माझी समुदाय । जसोतसो तत्काल उनीहरुले सार्वजनिक जग्गामा अस्थायी टहरा बनाए । र, पुरानै जीवनशैलीमा फर्कने यत्न गरे । तर, बाढीले आफ्नो पुरानो थातथलोबाट भगाएपछि केही महिनामै उनीहरु विस्थापित भएर स्थापित हुन खोजेको स्थानलाई पहिरोले झट्का हान्यो । ‘टहरामा बस्न थालेका थियौं, पहिरोले फेरि लखेट्यो,’ उनले स्मरण गरे, ‘हामी बसिरहेको स्थानलाई पहिरोले झट्का दिएपछि फेरि अर्काे सार्वजनिक ठाउँमा बसाईं सर्नुप¥यो ।’
सर्दै–सर्दै सामुदायिक वनमा बसिरहेका उनीहरु फेरि बिस्थापित भए । जतिबेला सिंगो सिन्धुपाल्चोकसहित देशका १४ जिल्लालाई भूकम्पले ग्रस्त बनायो । आफू बसिरहेका टहरा पनि भत्किए । जमिनमा धाँजा फाट्यो । सात जनाको परिवार रहेको रामकृष्णसहित सबै माझी समुदाय फेरि विस्थापित भए । उनीहरु अर्काे ठाउँमा सरे ।
प्रकोप पीडाले ग्रस्त माझी समुदाय बिस्थापित हुने क्रम यहाँ पनि रोकिएन । अर्का स्थानीय दिलबहादुर माझी भन्छन्,–‘अब त ढुक्कसँग बस्न पाउँछौं भन्ने लागेको थियो, तर पाइएन ।’ उनीहरुको समुदायलाई मध्यपहाडी लोकमार्गले फेरि लखेट्यो । लोकमार्ग सर्भे गरिएको छेउमा उनीहरुको बस्ती थियो । ती फेरि भत्काइए अनि उनीहरु इन्द्रावती तिरमा शरण लिएर बसे ।
बाढी, पहिरो, भूकम्प अनि मध्यपहाडी लोकमार्गले पटक पटक दुःख दिएका ३६ माझी परिवार अहिले भने ढुक्क छन् । अहिले उनीहरुले २२ वर्षपछि घरमा बस्न पाए । इन्द्रावती गाउँपालिकाको समन्वय, अक्सफामको आर्थिक सहयोगमा महिला आत्मनिर्भरता केन्द्र (मांक)ले उनीहरुका लागि एकिकृत बस्ती बनाइदिएपछि माझी समुदाय अहिले फुरुंग छन् । ‘दुःख कति झेल्यौं भन्ने साध्य नै छैन,’ रामकृष्णले भने, ‘बर्खामा टहराबाट पानी भित्र पुग्थ्यो । त्यहीं पानी माथि धेरै पटक सुत्नुपरेको छ ।’ उनले पानीमा डुबेर सुत्नुपर्दा कहिले उज्यालो होला र दिन आउँछ जस्तो लाग्नेगरेको सुनाए ।
टहराको कष्टकर बसाईं । ठूलो परिवार भएकाले साँघुरिनुपर्ने बाध्यता । नाता कुटुम्ब आउँदा अर्काे समस्याले पिरोल्ने गरेको दिलबहादुर सम्झन्छन् । ‘हावा, हुरी, पानीबाट जोगिन निकै गाह्रो हुन्थ्यो,’ उनी भन्छन्, ‘अलि पछि हुन थालेपछि हुरीले जस्ता उडाउने, खाँबो ढाल्ने, पानी भित्र पस्ने सामान्य लाग्न थाल्यो ।’
लहरै एकै किसिमका हरियो रंगले छाएकोे घर । सबैमा धारा, चर्पीको व्यवस्था । तीन वटा कोठा मात्रै हुँदा पनि खुशी साथ माझी समुदायको एउटै स्वर छ । ‘हामीले दरबार पायौं ।’
वर्षदिनअघि स्थानीय २५ वर्षिया एक महिलाले निर्माणको नेतृत्व लिएपछि एकिकृत बस्ती ठडिएको हो । स्थानीय शर्मिला माझीको अध्यक्षतामा उपभोक्ता समिति बनेसँगै बस्ती निर्माण थालिएको थियो । ‘निकै समस्या गुजारेर टहरामा बसेका थियौं, नयाँ घर बन्ने भएपछि दुःख गरेर भएपनि काम गर्छु भनेर म आफैं अघि सरें,’ एकिकृत माझी बस्ती व्यवस्थापन समितिकी अध्यक्ष शर्मिला भन्छिन्, ‘सिंगो वर्षदिन श्रम गरें, मलाई यहाँका अन्य महिलाले श्रममा सघाए, अनि बस्ती ठडियो ।’ उनले यसअघि खानेपानी र चर्पीको समस्या रहेकोमो त्यो टरेको बताइन् । यसअघि माझी समुदायले तीन किलोमिटर टाढाबाट खानेपानीको जोहो गर्दथे । अहिलेको एकिकृत बस्तीमा रहेका सबै घरमा बालमैत्री धारा जोडिएको छ ।
बस्ती निर्माणमा तीन करोड १२ हजार रुपैयाँ खर्च भएको आत्मनिर्भरताका कार्यक्रम व्यवस्थापक कृष्ण गुरुङले जनाए । उनका अनुसार बस्ती निर्माणमा अक्सफामले दुई करोड ६२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । निर्माण सकिँदा प्रतिघर लागत सात लाख २१ हजार रुपैयाँ रहेको छ ।
२४ रोपनी क्षेत्रफलमा बनेको बस्तीमा प्युघर, भदौरे, गल्फुले गाउँका माझी समुदाय बस्ने छन् । गोला प्रथाद्धारा उनीहरुले आफू बस्ने घर छानिसकेका छन् । माझी समुदायले पुनर्निर्माण प्राधिकरणले प्रतिपरिवार दुई लाख रुपैयाँका दरले उपलब्ध गराएको अनुदानले जग्गा किनेका थिए । इन्द्रावती गाउँपालिकाले घँडेरी सम्याउन आठ लाख ९१ हजार रुपैयाँ सहयोग गरेको थियो । ‘अब भने शान्तिको श्वास फेरेका छौं,’ दिलबहादुरले खुशी प्रकट गरे, ‘अब यहाँबाट अन्यत्र जानु पर्दैन भन्ने भएपछि ढुक्क भएका छौं ।’
महिलाकै नृतत्वमा बनेको बस्ती समुदायलाई हस्तान्तरण गर्न प्रतिनिधि सभा सदस्य एवं पस्र्व कानुन मन्त्री शेरबहादुर तामाङसँगै इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ पुगेका थिए । बस्तीको केही पूर्वाधार निर्माण गर्न अझै बाँकी छ । यसपछि बस्ती नमूना र अझै सुन्दर बन्ने एकीकृत माझी बस्ती व्यवस्थापन समितिकी अध्यक्ष शर्मिला बताउँछिन् । उनका अनुसार प्राधिकरणले पूर्वाधार विकासको काम गर्न प्रतिघर चार लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएको छ । यसबाट सामुदायिक भवन बन्नुका साथै सडक, बाटोघाटो, आँगन, संरक्षण पर्खाल, खानेपानी व्यवस्थापनको काम हुनेछ । बत्तीको व्यवस्था सबै घरमा भइसकेको छ ।
यहाँ बसोबास गर्ने अधिकांश माझी समुदायको लालपुर्जा छ जग्गा छैन । २०५४ मा बगाएको जग्गाको तिरो उनीहरुले तिरिरहेका छन् । नयाँ घर पाएपनि अन्नबाली, सागसब्जी लगाउने ठाउँ छैन । यहाँका माझी समुदाय आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रुपमा निकै पिछडिएका छन् । अधिकांशको घर बनाउने घँडेरीसम्म थिएन । केहीको थोरै जग्गा बचे पनि नदी कटानको उच्च जोखिम छ । मजदुरी नगरी उनीहरुको बिहान–बेलुकी चुल्हो बल्दैन । इन्द्रावतीमा माछा मारेर र बालुवा चालेर उनीहरु गुजारा चलाउँछन् । अरुको काम गरेर उनीहरुको दैनिकी बित्छ । इन्द्रावती नदिमा अचेल माछा नपाइने र बालुवा पनि नबिक्ने हुँदा उनीहरुलाई अर्काे समस्या बनेको छ ।
जग्गा नभएकै कारण यहाँका माझी समुदायलाई जिविकोपार्जनमा निकै समस्या छ ।
गाउँपालिका अध्यक्ष वंशलाल तामाङले माझी महिलालाई आयआर्जनको कार्यक्रम दिने बताए । बस्ती निर्माणका क्रममा विभिन्न आर्थिक, प्राविधिकलगायत अन्य सहयोग गरेको गाउँपालिकाले स्थानीयको मागअनुसार ढाका बुनाइको कार्यक्रम दिने तयारी गाउँपालिकाले गरेको उनले जानकारी दिए । ‘गाउँमै रोजगारीको वातावरण सिर्जना गरि माझी सम्दालयलाई आर्थिक रुपमा सबल बनाउन कार्यक्रमहरु दिने पहल हुनेछ’ राष्ट्रिय गाउँपालिका महासंघका महासचिवसमेत रहेका अध्यक्ष वंशलालले भने, ‘अन्य आयमूलक तथा सीपमूलक कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम गरिनु जरुरी छ ।’ यहाँ उत्पादित सामाग्रीको बजारीकरण गाउँपालिकाले गर्नेसमेत उनले बताए ।
कारोबार दैनिकबाट
क्याटेगोरी : अर्थ
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस