बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठअर्थनमूना माझी गाउँ प्रयोगबिहीन

नमूना माझी गाउँ प्रयोगबिहीन


चौतारा, ९ माघ ।
सेतो रंग पोतिएको भित्तामा रातो–कलेजी घेरा । हरियो छाना । छानामाथि डिसहोमका एन्टेना । एउटै आकार र स्वरुपका झुरुप्प परेका घरहरुले टाढैबाट बस्ती चिटिक्क र सुन्दर देखिन्छ । मेलम्ची नगरपालिका–१२ शिखरपुरस्थित नमूना माझी गाउँ पुग्दा केही महिला पिँढीमा बसेर पारिलो घाममा शरीर तताउँदै थिए भने आँगनमा बालबालिका खेलिरहेका ।
हिउँदको ठिहीले चिसिएको ज्यान बिहानीको पारिलो घाममा सेकाउँदै गर्दा भेटिए धनबहादुर माझी (६०) पनि । तर बाक्लो बस्तीमा रहेको उनको घरमा भने ताल्चा झुण्ड्याइएको थियो । बरु बस्तीको पछाडि ६ कोठे नयाँ आरसिसी घर ठडिएको थियो । धनबहादुुरले दुई वर्षअघि नै नमूना बस्तीको घर छोडेको सुनाए । ‘१३ सदस्यीय परिवार एक कोठे घरमा नअटेपछि अर्कै घर बनाउनु प¥यो,’ उनले भने ।
२०७२ वैशाख १२ गते को बिनासकारी भूकम्पपछि थाइ नेपाली संघले बनाइदिएको ४६ घरधुरीको नमूना माझी गाउँ उपयोगबिहिन बनेको छ । सुन्दर बस्तीका अधिकांश घरमा ताल्चा झुण्डिएको छ । ‘साँघुरो भएकाले सबैले नमूना बस्तीका घर छोडिसके,’ धनबहादुरले भने । उनकाअनुसार बस्तीको पछाडि खाली जमिनमा घर बनाएर स्थानीय सरेका छन् ।
भूकम्प लगत्तै रोटरी इन्टरनेसनलसमेतको सहयोगमा थाइ नेपाली संघले एक करोड सात लाख रुपैयाँ खर्चेर तीनटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको बस्ती बनाएको थियो । आधा भागसम्म ढुंगाको गारो लगाइएको घरको बाँकी संरचनामा प्रिफ्याब प्रयोग गरिएको छ । निर्माणमा प्रयोग गरिएका सामाग्रीका आधारमा बस्तीका घर ‘सेमिपर्मानेन्ट’ (अल्पकालीन) संरचना हुन् । प्रिफ्याब अहिल्यै टुट्न, फुट्न थालिसकेको छ ।
फराकिलो भए पनि एउटा मात्र कोठाको घर व्यवहारिक नभएपछि बिकल्प खोज्नु परेको स्थानीयले बताए । स्थानीयको भनाइ जस्तै नमूना बस्ती बनाउँदा दीर्घकालीन सोच राखेको पाइएन । सरकारले दिने तीन लाख रुपैयाँ अनुदानमा ऋणधन थपेर माझी समुदायले बस्तीको पछाडि पक्की घर बनाएका छन् । धेरै आरसिसी
र केही लोडवियरिङ संरचनाका घर बनेका छन् । बैकल्पिक घर बनाउनु पर्दा ऋण लागेको माझीहरुको गुनासो छ ।
भूकम्पअघि पनि माझी समुदायको एक घर बनाउन सकिने क्षमताभन्दा बढी घँडेरी थिएन । घँडेरीको धेरै क्षेत्रफल नमूना बस्तीले ओगटेको छ । बाँकी थोरै जमिनमा बिकल्पमा बनेका घर पनि साना छन् । पर्याप्त घँडेरी नभएकाले अघिकांश दुई कोठे घर बनेका छन् । तत्काललाई नमूना बस्तीले सुविधा दिए पनि अहिले घाँडो भएको कुमारी माझी (४५) ले सुनाइन् । ‘दुई कोठे अर्को घर त बनाएँ । तैपनि पर्याप्त भएन,’ उनले भनिन् । भएको घँडेरी बस्तीले चर्चिँदा सानो घरमा कष्टकर दैनिकी गुजार्न बाध्य छिन् उनी ।
ठाउँ अभाव भएपछि उनले बस्तीको घरलाई राखन्धरान गर्ने र भान्छा तथा नयाँ संरचनालाई सुत्ने कोठा को रुपमा प्रयोगमा ल्याएकी छिन् । ‘पहिल्यै सोचेर घर बनाइ दिएको भए यस्तो समस्या आउँन्नथ्यो । ऋण पनि लाग्दैनथ्यो,’ नयाँ घर बनाउँदा चार लाख रुपैयाँ ऋण लागेको सुनाउँदै कुमारीले भनिन् ।
केही माझी समुदायले बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । बस्तीका कतिपय घर प्रयोगबिहीन अवस्थामा छन् । बैकल्पिक संरचना बनाउँन ठाउँ अपुग भएपछि पाँच परिवारले भइरहेको शौचालय भत्काएका छन् । अहिले अर्को शौचालय बनाउन ठाउँ नै छैन । शौचालय बनाउन नसक्दा त्यस्ता परिवारले तेस्रो किस्ता अनुदान पाउन सकेका छैनन् ।
बस्तीको एक कोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता अटाउँने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउँने भन्ने जस्ता समस्या आएपछि बैकल्पिक संरचना बनाउनु परेको माझी समुदायको भनाइ छ । नयाँ घर बनाउँदा उनीहरु ऋणले थलिएका छन् । आर्थिक रुपमा बिपन्न माझी समुदायलाई उब्जनीले ६ महिनाभन्दा बढी खान पुग्दैन ।
नजिकको इन्द्रावती नदीमा माछा मारेर, बालुवा चालेर तथा मजदुरी गरेर उनीहरुले गुजारा चलाउँदै आएका छन् । नमूना बस्ती उपभोक्ता समितिका अध्यक्ष नारायाण माझीले बस्तीका सबै ४६ परिवारले अर्को घर बनाएको जानकारी दिए । ‘बैकल्पिक घर बनाउँदा माझी परिवारलाई दुईदेखि १० लाख रुपैयाँ ऋण लागेको छ,’ उनले भने ।

nagariknews


क्याटेगोरी : अर्थ
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!