शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थ१ अर्बको लागतमा बन्यो जुगलमा अत्याधुनिक विद्यालय

१ अर्बको लागतमा बन्यो जुगलमा अत्याधुनिक विद्यालय


रामकृष्ण थापा, बराम्ची, ५ पुस ।

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा जुगल गाउँपालिका–५ चनौटेस्थित रत्नराज्य माविमा अत्याधुनिक सुविधायुक्त विद्यालय भवन निर्माण गरिएको छ । चिनियाँ मापदण्ड र सुविधासम्पन्न विद्यालय भवन ‘चिनियाँ मोडेल’ का छन् ।

एकै विद्यालयमा ६ वटा आधुनिक भवन निर्माण गरिएको छ । भवन निर्माणमा एक अर्बभन्दा बढी रकम लगानी भएको विद्यालय प्रशासनले जनाएको छ । भवन निर्माणमा आवश्यक पर्ने बालुवा, गिटी र ढुंगा मात्रै नेपालको प्रयोग गरिएको छ । बाँकी सबै सामग्री चीनबाटै ल्याइएको हो । निर्माणमा संलग्न मजदुर पनि सबै चिनियाँ नै थिए ।

हर्षित छन् स्थानीय
जुगल गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता छ । गुम्बाको तेम्बाथाङ, गोल्चेको लिदी, हिमाली बस्तीहरू बिसिंखर, हगाम, पाङताङ, सिन्दुर्चे, निम्लुङ, सञ्चगाउँलगायत गाउँका करिब पाँच सय बालबालिका रत्नराज्य माविमा पढ्न आउँछन् । कतिपय गाउँबाट विद्यालय आइपुग्न झन्डै दिनभर लाग्छ ।

विगतमा कक्षा ८ देखि १२ सम्मका ६० प्रतिशत विद्यार्थीले भाडामा कोठा लिएर पढ्नुपर्ने बाध्यता थियो । विद्यालयमा सुविधायुक्त छात्रवास भवन बनेपछि कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

‘सुविधासम्पन्न छात्रावास बनेपछि शिक्षा प्राप्त गर्न हामीलाई थप हौसला मिलेको छ,’ १० कक्षामा पढ्ने विद्यार्थी राम विकले भने । विकजस्तै पाँच सय बालबालिका नयाँ विद्यालय भवन बनेसँगै हर्षित भएका छन् ।

भाडाको कोठामा बस्दा विशेषतः दलित विद्यार्थी र छात्राका लागि विभिन्न समस्या आउने गर्थे । छात्रावास बनेपछि सिंगो जुगल गाउँपालिका क्षेत्रमा खुसियाली छाएको छ । छात्रावासमा बस्ने विद्यार्थीले खानाका लागि भने निश्चित पैसा तिर्नुपर्ने नियम बनाइएको विद्यालयका प्रधानाध्यापक छन्दप्रसाद काफ्लेले जानकारी दिए ।

९ पुसदेखि भवन सञ्चालन गरिने
नवनिर्मित विद्यालय भवन आगामी ९  पुसमा हस्तान्तरणको तयारी गरिएको छ । ‘चिनियाँ पक्षले भवन हस्तान्तर गर्न बाँकी छ,’ प्रधानाध्यापक काफ्लेले भने, ‘९ पुसबाटै हामी नयाँ भवनमा पठनपाठन सुरु गर्नेछौँ ।’

भौतिक सुविधायुक्त विद्यालयमा पढाइको गुणस्तर वृद्धि गर्न भने निकै चुनौतीपूर्ण रहेको उनले बताए । ‘सुविधायुक्त भवनमा गुणस्तरीय शिक्षा दिने गरी विद्यालय प्रशासनले तयारी गरेको छ । आर्थिक स्रोत व्यवस्थापन गर्नसके हरेक चुनौतीको सामना गर्न सकिन्छ भन्ने हामीलाई लागेको छ,’ प्रअ काफ्लेले भने ।

विद्यालय भवन निर्माणमा नेता सापकोटाको पहल
पूर्वमन्त्रीसमेत रहेका नेकपाका सांसद अग्निप्रसाद सापकोटाले रत्नराज्य माविमा भवन निर्माणको पहल गरेका हुन् । चौतारा साँगाचोकगढी नगरपालिका कुभिन्डेनिवासी सापकोटाले स्थानीय जनजागृति माविमा १३ वर्ष पढाएका थिए । कुभिन्डेमै पनि कृषि शिक्षालय छ । तर, आफूले चिनियाँ सहयोगमा जिल्लाकै सबैभन्दा दुर्गम बस्तीमा विद्यालय भवन निर्माणमा पहल गरेको सापकोटाले बताए ।

‘१० वर्षे जनयुद्धको आधार इलाका र सबैभन्दा पिछडिएका समुदायको बस्ती भएकोले चनौटेमै आधुनिक भवन निर्माणको पहल गरेको हुँ,’ उनले भने, ‘पाँच वर्षअघि चीन सरकारलाई जुगल क्षेत्रमै विद्यालय भवन निर्माण गर्न आग्रह गरेको थिएँ, हाम्रो आग्रहलाई चीन सरकारले स्वीकार गर्‍यो ।’

सुरुमा चीन सरकारले सदरमुकाम आसपासका क्षेत्रमा विद्यालय भवन निर्माण गर्न चाहे पनि आफूहरूले दुर्गम क्षेत्रमै विद्यालय बनाउन आग्रह गरेको उनले बताए । १७ डिसेम्बर २०१७ बाट भवन निर्माण सुरु भएको थियो । दुई वर्ष अवधिमा विद्यालयमा साना–ठूला ६ वटा भवन निर्माण गरिएको छ ।

यस्तो छ विद्यालय भवन
जुगल गाउँपालिका सिन्धुपाल्चोकको दुर्गम क्षेत्रमा पर्छ । यहाँका कतिपय गाउँमा मोटरबाटो र बिजुली बत्तीसमेत पुगेको छैन । विद्यालय गाउँपालिकाको केन्द्रमा अवस्थित छ । चिनियाँ लगानीमा ठडिएको यस विद्यालयमा छात्र, छात्रा बस्ने ८४ वटा कोठा भएको ठूलो भवन छ । विद्यालयमा आधुनिक सुविधायुक्त होस्टल छ ।

होस्टेलका कोठा पनि चिनियाँ मोडेलका छन् । चीनको राजधानी बेइजिङमा पढ्ने विद्यार्थीले पाएजस्तो सुविधा कक्षा कोठा र होस्टलमा प्राप्त छ । होस्टेलका प्रत्येक कोठामा एटेच बाथरुम, तातो–चिसो पानी र बेडरुको व्यवस्था छ ।

कक्षाकोठा २४ वटा छन् । विद्यालय प्रशासन चलाउन २२ कोठा छन् । विद्यालय छेवैमा ठूलो क्यान्टिन भवन छ । किचेन र डाइनिङ हल छुट्टाछुट्टै छन् । भवननजिकै पालेघर र विद्युत्गृह छन् ।

बाहिर पनि थुप्रै कोठा भएको शौचालय छ । सुविधायुक्त लाइब्रेरी छ । जहाँ ५० वटा कम्प्युटरसहितको विज्ञान प्रयोगशाला र यथेष्ट शैक्षिक सामग्री राखिएका छन् । विद्यालयमा पाँच सय विद्यार्थी र २४ शिक्षक कार्यरत छन् ।

नयाँ पत्रिकाबाट


क्याटेगोरी : अर्थ, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!