शनिबार, असोज ६, २०८०
गृहपृष्ठअर्थअझै बनेन भूकम्पले ढालेको चौताराको कृष्ण मन्दिर

अझै बनेन भूकम्पले ढालेको चौताराको कृष्ण मन्दिर


चौतारा,४ पुस ।
भूकम्पले भत्काएको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित ऐतिहासिक कृष्ण मन्दिर अझै पुनर्निमाण भएको छैन । भूकम्पले मन्दिर भत्काएपछि स्थानीयले जस्ताको बार लगाएर अहिले पूजाआजा गरिरहेका छन् ।
वि.सं १९६४ सालमा निर्माण भएको यो मन्दिरमा जात्रा सञ्चालनार्थ गुठी बनाइ हरेक कृष्णाष्टमीमा जात्रा सञ्चालन गर्दै आएको चलन अद्यपी चल्दै छ । समाजसेवी भक्तध्वज प्रधानका बाजेले चौतारामा घर बनाउने क्रममा ल्याएको इटा धेरै भएपछि त्यसको सदुपयोग गर्दै मन्दिर निर्माण गरिएको थियो ।
अरनिको राजमार्ग बन्नु भन्दा पहिले भोट आवतजावत गर्ने मूख्य बाटो नै यही मन्दिरको प्राङगण थियो । मन्दिर वरिपरि रहेको पेटीमा भोट आवतजावत गर्ने बटुवाहरले थकाइ मात्र मार्दैन थिए, साँझ परेको बखत त्यही मन्दिरमा बास बस्ने पनि गर्दथे । प्रारम्भकालदेखि नै मन्दिरमा भजनकिर्तन हुने गथ्र्यो । कृष्णाष्टमीमा कृष्णको प्रतिमालाई रथमा राखि बाजागाजा र लाखे नाचसहित बजार परिक्रमा गर्ने चलन अद्यपी छ । प्राम्भमा महाकली नाच, घिन्ताङ किसी नाच प्रदर्शन हुने गथ्र्यो । अहिले भने ती नाचहरु हराइसकेको स्थानीय कमलचरण कक्षपतिको भनाई छ । ‘यहाँको लाखे नाँच अनि बजारको संस्कृति अवलोकन गर्न बाहिरी जिल्लबाटसमेत दर्शनार्थी आउने गरेका र्थि,’ कमलचरण भन्छन्, ‘भूकम्पले मन्दिर ढालेपछि यहाँको पहिचान गुमेको छ ।’
मन्दिर निर्माणपछि जात्रा लगाउनुपर्छ भन्ने स्थानीयको आवाज आएपछि त्यसैबेला यो मन्दिरमा जात्रा सुरु गरिएको स्थानीय बताउँछन् । जात्रा गर्नका लागि बाजा बजाउने मान्छे चौतारामा तत्कालीन समयमा थिएनन् । त्यति बेला चित्लाङबाट कसुले मगाई बाजा बजाएर जात्राको थालनी भएको स्थानीय जीवन श्रेष्ठ बताउँछन् । ‘त्यतिबेला साँस्कृतिक कार्यक्रम, भक्तिभावका सन्देशप्रदान नाटकहरु प्रदर्शन हुने गरेको थियो,’ उनी सम्झन्छन्, ‘वर्षको तीन चोटी विविध साँस्कृतिक कार्यक्रम हुन्थे ।’
निर्माणको केही समयपछि साँस्कृतिक कार्यक्रमको सञ्चालन पनि भयो । मन्दिरको प्राङ्गणमा मञ्च निर्माण गरि स्थानीय कलाकारको नाचगान र नाटक हेर्न दुरदुर गाउँबाट मान्छेहरु आउने गर्दथे । ंंजात्रा र साँस्कृतिक कार्यक्रम रातभरि नै चल्ने गथ्र्यो । तीसको दसकसम्म साँस्कृतिक कार्यक्रमलाई कृष्ण गुठीले निरन्तरता दिए । ततपश्चात त्यसको बिडो जुगल साँस्कृतिक परिवारले थाम्न थाले । पञ्चायती शासनको दवदवा, स्थानीय प्रशासनको रबैया र स्थानीय शोषक सामन्तिहरुको विरुद्धमा जुगलले त्यो ताका सास्कृतिक कार्यक्रममार्फत धावा बोलेको थियो । पचासको दसकमा भने त्यो विडोलाई कला पुञ्जले थामेको थियो । मुलुक द्वन्द्व भएकाले त्यसले पनि श्रीकृष्ण डबलीबाट हुने नाटक मञ्चन तथा साँस्कृतिक कार्यक्रममा प्रभाव परेको कक्षपति बताउँछन्् । ‘पहिलेको स्थितिलाई फर्काउन सबैभन्दा पहिले मन्दिर पुनर्निर्माण आवश्यक छ ।’ कमलचरण भन्छन्, ‘यो मन्दिर निर्माण भए पुरानो परम्परागत कार्यक्रमले फेरि पूर्णता पाउने थियो ।’
स्थानीय भूकम्पपीडितहरु धमाधम टहराबाट पक्की घरतिर सरिरहे पनि कृष्णमन्दिर निर्माणतर्फ खासै कसैको चासो देखिएन । न त यो मन्दिर निर्माणकै लागि भनेर कतैबाट बजेट विनियोजन भयो । साँस्कृतिक सम्पदा निर्माणका लागि स्थानीय तहमा बजेट भने छ । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ नगरपालिकाले यस्ता पुरातात्विक सम्पदाको संरक्षणमा पहलm गरिने बताए । ‘यो हाम्रै सम्पति हो, यसको जगेर्ना हामी आफैले गर्नुपर्दछ,’ तामाङले भने, ‘पुनर्निर्माणका लागि स्थानीय तवरबाट समिति निर्माण गरि प्रस्तावना पेश गरेमा कुनै बजेट छुट्याउन सकिन्छ ।’
स्थानीय जु्टेर कृष्ण मन्दिर निर्माण गरिनुपर्ने तामाङको भनाई छ । पुरातात्विक सम्पदाको रुपमा रहेको यो मन्दिर पुनर्निर्माण भएमा चौतारामात्रै हैन सिंगो सिन्धुवासीले गर्व गर्ने अर्को पाटो थपिने उनले बताए । ‘मन्दिर पुनर्निर्माण भएमा चौतारामा पर्यटन विकास, आर्थिक उन्नतिको बाटो खुल्नेछ ।’ नगरपालिकाका प्रमुख अमानसिंले भने ।
यस्तो इतिहास छ मन्दिरसँग जोडिएको शैक्षिक पक्ष
धार्मिक मन्दिर र शैक्षिक मन्दिर विल्कुलै फरक फरक पाटो हो । तर यहाँको इतिहास हेर्दा यही मन्दिरबाट शैक्षिक गतिविधिहरु प्रारम्भ भएको देखिन्छ । यही मन्दिरबाट सिन्धुपाल्चोक जिल्लाकै पहिलो विद्यालय श्री कृष्ण रत्नगंगा उमाविको शैक्षणिक क्रियाकलापको प्रारम्भ भएको पाइन्छ । २००४ सालको सेरोफेरोमा यसै मन्दिरमा स्थानीय शिक्षाप्रेमीहरुले स्थानीय बालबालिकाहरु जम्मा गरेर शैक्षिक गतिविधिलाई अगाडि बढाएको थियो । सो समयमा हालको श्री कृष्ण रत्नगंगा उमाविलाई श्री कृष्ण विद्याश्रम भन्ने गरिन्थ्यो । जिल्लाकै पुरानो विद्यालयको नाम समेत यसै मन्दिरको नामबाट जुराइएको कमलचरण कक्षपतिको भनाई छ ।
‘विद्यालयसँगै यस मन्दिरबाट जिल्लामा पहिलोपटक पुस्तकालयको पनि सुरुवात भएको थियो,’ उनी भन्छन्, ‘जिल्लाकै पहिलो पुस्तकालय ग्रामीण विकास पुस्तकालय वि.सं २०१२ सालमा यसै मन्दिरको कोठाबाट प्रारम्भ भएको हो ।’
पचासको दसकसम्म सञ्चालनमा रहेको सो पुस्तकालय ६० को दसकमा भने हालको वडा कार्यालयमा सार्ने काम भयो र अन्तत २०७२ को भूकम्पमा कार्यालय भग्न भएपछि पुस्तकहरु सबै पुरियो । गाईजात्रे भित्ते पत्रिकाको प्रारम्भ पनि यसै मन्दिरको भित्ताबाट भएको हो । यस्ता खाले परम्परा मूलुकको अन्य भागमा सायदै देख्न पाइन्छ । वि.सं २०३६ सालबाट प्रारम्भ भएको गाईजात्रे भित्ते पत्रिका अझै पनि प्रकाशन हुने गरेको स्थानीय जीवन श्रेष्ठ बताउँछन् ।
पञ्चायती शासनको दबदबा, वाक स्वतन्त्रतामाथिको प्रतिवन्धका कारण स्थानीय प्रशासन र सरकारको विरुद्धमा बोल्नु, लेख्न नपाउने सो समयमा गाईजात्राको दिनमा भने छुट थियो । ‘यही छुटको उपयोग गर्दै स्थानीय युवाहरुले स्थानीय प्रशासन, सरकार र राजनीतक व्यक्तित्वहरुको चरित्र उदाङ्गो पार्ने हेतुले व्यँग्यात्मक लेख, समाचार कार्टुन गीत, कविताहरुलाई समेटी भित्ता लेखनको सुरुवात गरेका थिए,’ स्थानीय हेमन प्रधान भन्छन्, ‘अहिले मन्दिर छिट्टै पुनर्निर्माण हुनुपर्ने भएमा सबै इतिहासको पाना फेरि पल्टनेछ ।’ छिट्टै पुनर्निर्माण भएमा मन्दिरमा हुने चहलपहल फेरि पहिलेकै जस्तो हुने विश्वास स्थानीयको छ ।


क्याटेगोरी : अर्थ, पर्यटन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!