बुधबार, असोज १७, २०८०
गृहपृष्ठअर्थसिंगो गाउँका शिक्षित युवा कृषि र पशुपालनमा

सिंगो गाउँका शिक्षित युवा कृषि र पशुपालनमा


हेलम्बु, १० मंसिर ।
वैदेशिक रोजगारीको बिकल्प नदेख्ने युवा पुस्तालाई चुनौति दिंदै हेलम्बुका केही युवाले गाउँमै सामुहिक कृषि व्यवसायको सुरुवात गरेका छन् ।
युवा पुस्ताको विदेश मोह कम गराउन जागरण प्रदान गर्ने र आफू पनि गाउँमै आम्दानी गर्ने उद्देश्यले हेलम्बु गाउँपालिका–४, गैंटारका युवाहरुले बहुउद्देशीय कृषि व्यवसायको सुरुवात गरेका हुन् । व्यवसायी युवा उद्यमीहरुको नेतृत्व कानुन व्यवसायी समेत रहेका स्थानीय युवा विनोद लामिछानेले गरेका छन् ।
गैंटारका सबै परिवारलाई शेयर होल्डर बनाएर कृषि र पशुपालनको माध्यमबाट आफ्नो टोललाई नै समृद्ध बनाउने अभियानको अगुवाई लामिछानेले गरेका हुन् । उनको अभियानमा साथ दिएर बैदेशिक रोजगारीमा जाने स्थानीय परम्परालाई त्याग्दै टोलका युवा कृषि र पशुपालनको काममा खटिएका छन् ।
२०७१ सालमा १३ जनाको सहभागितामा एग्रो फरेष्टी लर्निङ सेन्टर स्थापना गरेर कृषि उत्पादनको अभियानमा लागेका युवाहरु प्छिल्लो समय च्याउ उत्पादन र कुखुरा पालन र यसबाट थप उद्यम सञ्चालन गर्ने तयारीमा लागेका छन् । लेयर्स जातको कुखुराबाट अण्डा उत्पादन सँगै बायो ग्याँस र अर्गानिक मल उत्पादन समेत गर्ने लक्ष्य लिइएको मार्केटिङ म्यानेजर पवन लामिछानेले बताए । ‘कुखुराको शुलीबाट एक सय ५० घनमिटरको बायोग्याँस प्लान्ट बनाएर टोलका २८ परिवारमा वितरण गर्छौ’, पवनले भने, ‘ग्याँस उत्पादनपछि निस्केको सुलीलाई आधुनिक प्रविधिबाट अर्गानिक मल बनाएर सुलभ मूल्यमा बिक्री गर्ने योजना बनाएका छौं ।’
आधुनिक प्रविधिको उपयोग गर्दै पाल्न सुरु गरेको १० हजार कुखुराले उत्पादन दिन थालेपछि लगानीकर्ताहरु थप हौसिएका छन् । आफ्नो भएको अचल सम्पती धितो राखेर एक करोड १० लाख रुपैया लगानी गरेर सुरु गरेको योजनामा एक करोड ६२ लाख रुपैया थप लगानीको प्रकृया अघि बढेको कम्पनीका अध्यक्ष विनोद लामिछानेले बताए । थप लगानीसँगै टोलका सबै परिवारलाई शेयर बनाएर २० रोपनी जग्गामा अर्गानिक तरकारी खेती सुरु गर्ने तयारीमा रहेको विनोदले जानकारी दिए ।
विनोदका अनुसार दैनिक एक लाख ५० हजारको अण्डा, प्रति महिना २५ हजार रुपैयाको बायो ग्याँस, दैनिक पाँच हजार रुपैयाकोे एक टन अर्गानिक मल तथा दैनिक साँढे दुई टन तरकारी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीले नजिकको मेलम्ची बजारमा संकलन तथा बिक्री केन्द्र स्थापनको प्रकृया पनि अघि बढाइ सकेको छ । ‘युवाहरुको वैदेशिक मोह बढ्दै गएकाले आफ्नै ठाउँमा पनि केही गर्न सकिन्छ भन्ने देखाउन यो महत्वकांक्षी योजना अघि सारेको हो’, विभिन्न गैरसरकारी संस्थाको जागिरे अनुभव संगालिसकेका अधिवक्ता विनोद भन्छन्, ‘कृषिमा भविश्य छ भन्ने देखाउन पनि मल्टि प्रपोजको अभियान अघि बढाएका हौं ।’


क्याटेगोरी : अर्थ, पर्यटन
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!