Techie IT
Tuesday, June 22,2021 / मंगलबार, असार ८, २०७८
×
गृहपृष्ठअर्थहेलम्बुमा ब्यूँतिदै स्याउको पहिचान

हेलम्बुमा ब्यूँतिदै स्याउको पहिचान


हेलम्बु, ९ मंसिर ।
कुनै बेला स्याउको सहरको उपनामले चिनिने हेलम्बुलाई फेरी त्यही नामले चिनाउन हेलम्बुका किसान व्यावसायिक स्याउ खेतीमा जुटेका छन् ।
दुई दशक अघिको स्याउ खेती अज्ञात रोगका कारण सखाप भएपछि लामो समय स्याउ खेतीतर्फ चासो नदेखाएका किसान गाउँमा यातायातको साधन गुड्न थालेसँगै पुनः त्यसतर्फ आकर्शीत भएका हुन् । स्याउले अपेक्षाकृत उत्पादन दिन थालेपछि शेर्माथानका कर्मातोप्के लामो बगैंचा सरसफाइमा जुटेका छन् । बैशाख उत्पादन हुने क्रममा देखिएपछि स्याउ बगैंचामा उम्रिएका झार उखेल्न र त्यसको सरसफाइ गर्न उनलाई भ्याइ नभ्याइ छ ।
कर्मतोप्के मात्र हैन शेर्माथानकै तेम्बा लामा पनि फस्टाउँदैै गरेको स्याउको रेखदेखमा व्यस्त छन् । वर्षमा एक बाली कमाइ हुने शेर्माथान लगायत हेलम्बु क्षेत्रका बासिन्दाले गएको वर्षामा आलु थन्काएपछि स्याउ र अन्य तरकारी खेतीको हेरचाहमा लागेको कर्मातोप्केले बताए ।
दुई दशक अघि हेलम्बुका प्रत्येक बस्तीमा लटरम्म स्याउ फलेका हुन्थे । बजारको अभावमा बोटमै स्याउ कुहिन्थे । राजधानीमा मुस्किलले पुग्ने हेलम्बुको स्याउले राजधानीमा चर्चा कमाएको थियो । गीतका भाकाहरुमा हेलम्बुको स्याउका भाकाहरु गुन्जने गरेको थियो । पछिल्लो समय स्याउको अस्तित्व नै समाप्त भएपछि नयाँ बिरुवा लगाएर पूरानै पहिचान फर्काउने प्रयासमा लागेका हेलम्बुबासी स्याउ उत्पादन हुन थालेपछि थप उत्साहका साथ व्यवसायमा लागेका छन् ।

नयाँ प्रविधिबाट स्याउ खेतीको सुरुवात गरेका छौं, कर्मातोप्केले भने, अब फेरी हामी बिगतमा जस्तै हेलम्बुलाई स्याउको सहरको नामले चिनाउने प्रयासमा छौं । शेर्माथान मात्र हैन हेलम्बुको मेलम्चीघ्याङका बासिन्दा पनि स्याउको हेरचाहमा व्यस्त छन् । हेलम्बुको स्याउ पछिल्लो समय किम्बदन्ती बनेको छ । पर्यटकीय नगरी हेलम्बुमा स्याउ उत्पादन हुन छाडेको दुई दशक बितिसक्यो । स्थानीयहरु विगतमा फलेका स्याउका स्मरण गर्छन् । त्यतिबेला थाहा पाउन नसकेको रोगले हेलम्बुका स्याउ सखाप भएपछि दुई दशकसम्म कसैले पुनः हेलम्बुमा स्याउ फलाउने प्रयास गरेनन् । अहिले युवा पुस्ता स्याउको सहरको रुपमा चर्चा कमाएको हेलम्वुलाई पुनः त्यही पहिचान दिन लागि परेका छन् । हेलम्बुका नाखेते, तार्केघ्याङ लगायत बस्तीमा पनि स्याउ खेती सुरु गरिएको छ । दुई दशक अघि जस्तै लटरम्म स्याउ फलाउने अपेक्षा राखेर हेलम्वुका गाउँमा भारतको हिमाञ्चल प्रदेशबाट विरुवा ल्याएर किसानहरु स्याउ खेती गर्न थालेका छन् । छ वर्ष अघि रोपिएका बिरुवाले फल दिन थालिसकेपछि गाउँलेमा आशा पलाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । स्याउ खेतीका लागि आबश्यक प्राविधक सहयोग गाउँपालिकाले उपलव्ध गराउन थालेको पनि उनले जानकारी गराए ।


क्याटेगोरी : अर्थ, पर्यटन
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस


error: Content is protected !!