लेकको कथा : चौरी र शेर्पाका व्यथा(फोटोफिचर)

चौतारा, २ मंसिर ।
सुन्दर गौरी पर्वत हिमालको फेदको फैलिएको कलात्मक खर्क र डाँडा हेर्दा मन लोभिन्छ । खर्क वरिपरी घुमिरहेका सेता, काला अनि छिरबिरे याक, डिमु र चौरी देखेपछि छुट्टै उंमगले छोप्छ । जिल्लाको भोटेकोसी गाउँपालिका वडा ४ फुल्पिङकट्टीको माथिल्लो खर्कको दृश्य हो यो ।
नौ वर्षदेखि यसैलाई संसार मानेर बसिरहेका हेलम्बु १ का जम्लीङ शेर्पा डिमु स्यार्हान व्यस्त देखिन्छन् । वर्षौअघि हेलम्बुबाट ‘डिमु’ पाल्न भनेर नै आएका उनको परिवार यतैको गाउँमा बस्यो । सबै आफ्नै थातथलो फर्केपनि शेर्पाको मन भने यही लेकको हावापानीमा रमायो । उनले यसैलाई दुनिया बनाए । ‘यिनीहरुलाई पालिराख्नु पर्दैन्, हिउँद महिनामा नुन पानी दिएर थोरै घाँसको जोहो गरिदिने हो,’ शेर्पाले चर्नमा व्यस्त ‘डिमु’ देखाउँदै उत्साह पोखे । ५५ वटा डिमुमा ठूलो नभएसम्म बाघले खाने डर रहने भएकाले सचेत भएर रेखदेखमा जुुटेको उनले सुनाए । जिल्लामा दुर्लभ बन्दै गइरहेको याक जस्तै हिमाली जनावार ‘डिमु’ स्याहारेर उनको दैनिकी कट्छ ।
‘बर्खाको जेठ, असार, साउन भदौ असोजसम्म डिमुको दूधबाट छुर्पी, घ्यू बनाउने गरेको छु, यसैबाट मनग्य आम्दानी हुन्छ,’ शेर्पाले भने । छुर्पी र घ्यूबाट मात्रै दुई लाख रुपैयाँ भन्दा माथि कमाइसकेका उनले डिमु ठूलो भइसकेपछि राम्रो आम्दानी हुने गरेको उनको कथन छ । याक र डिमु हिउँदमा महिना सुरु भएपछि घास खान भनेर सामूहिक रुपमा तल्लो पांखाल खर्कमा झर्ने गर्छन् । चीनको भू भाग लाम्टाङ, शेल्मीगिरीसँग जोडिएको खर्कमा डिमु पाल्ने उनी एक्ला हुन् ।
‘जिल्लामा ‘डिमु’ पाउनु मुस्किल भइसकेको छ, हेरविचार गर्ने त छँदै छैनन्,’ यारमाला क्षेत्रमा २० वर्षदेखि चौरी पालिरहेका ५७ वर्षीय तेमछाङ शेर्पा भन्छन्,‘ त्यसैले पनि डिमु दिनहुँ न्यून हुँदै गइरहेको छ ।’ दुई वटा गोठमा ४३ वटा चौरी पालिरहेका उनलाई चिन्ता डिमु र चौरीको छ । ‘भाले याक हो भने पोथी डिमु दुबैको संरक्षण जरुरी छ,’ उनले भने । छुर्पी र घ्यू बेचेर वर्षको ८ लाख कमाइरहेका उनी यही मज्जा लाग्ने सुनाउँछन् । हिउँद याममा दलथङ, लासिस, बगाम, दिङ्मा खर्क, शेर्मिघ्याङ खर्क जस्ता ५० वटा खर्कमा डिमु र याक डुल्छन् ।
बर्खामा भने छाराभन्दा माथिल्लो भूभाग तिचान्ले खर्कमा दुबैको बसोबास हुन्छ । चीनको रेल्देखर्क र दोलखाको जौलेडाँडाको सीमानामा तिचान्ले पर्छ । गौरी पर्वत हिमालको फेदमै पर्ने खर्क याक र डिमुको प्रिय स्थान हो । ‘कहिले काँही मात्रै बेंसीमा परिवार भेट्न झर्ने हो, नत्र यही रमाइन्छ,’ फुल्पिङकट्टीकै डाँडा गाउँका तेन्जेन शेर्पाले अनुभव साटे । २७ वटा चौरीका मालिक उनले बाबुको सिको गरेको प्रष्ट्याए । ७ वर्षदेखि यही काममा व्यस्त उनको मन लेकमै रमाइरहेको छ ।
सिन्धुपाल्चोक र रसुवामा याकको आमालाई डिमु भनिन्छ । सोलुखुम्बुमा भने ‘नक’ भनिन्छ । तिब्बतीयनहरुले एउटा डिमुको २५ देखि ३० हजार किनेर लैजाने गरेको उनले प्रष्ट्याए । ‘नेपाली दलाल मार्फत मूल्य निश्चित गरेर उनीहरुले लैजाने गर्छन्,’ तेन्जेनले भने । ६ वर्षअघि लाङटाङ क्षेत्र र सोलुखुम्बुबाट गरी दुई सय डिमु खासा लगिएको थियो ।
फुल्पिङङकट्टी मुलखर्क, नाटुखर्क, नारायणथानको यारमालामा गरी झण्डै २५ वटा चौरी गोठ रहेका छन् । वैदेशिक रोजगारी र पुस्ताबाट हस्तान्तरण नहँुदा चौरी, डिमु पाल्ने क्रमश: कम हुँदै गएका छन् । चौरी हिँड्ने बाटो, पर्याप्त खानेपानी र घास नहुने वातावरणले चौरी, डिमु पालक निरुत्साहित हुँदैछन् । मार्मङको गोल्ची, घोर्थलीको बिगु दोलंसा, फुल्पिङकटीको नारायणथान, तातोपानीको लिपिङ लेक, लिस्तीकोटको बगाङ छगामसम्म चौरी पाल्ने गरिएको छ । ‘नारायणथानसँगैको गाउ सेलाङकट्टी गाउँमा पहिले १५ देखि १६ चौरी गोठ थियो,’ फुल्पिङकट्टीका वडाध्यक्ष साङदोर्जे शेर्पाले भने,, ‘अहिले एक गोठ पनि छैनन, सबै अरु पेशामा लागे ।’
क्याटेगोरी : अर्थ, पर्यटन
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस