मेलम्ची आयोजना बिरुद्ध पुनः आन्दोलनको तयारी

सागर खड्का, मेलम्ची, ७ असोज- मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानीको माग गर्दै दुई साता सम्म आन्दोलन गरेका मजदुर र स्थानीय ठेकेदारहरुले पुनः आयोजना बिरुद्ध आन्दोलन गर्ने भएका छन् ।
मजदुर, स्थानीय ठेकेदार र मेलम्ची खानेपानी आयोजनाबिच भदौ २९ गते भएको ५ बुँदे सहमती पछि पीडित पक्षले गर्दै आएको आन्दोलनका सबै कार्य स्थगित गर्ने निर्णय भएको थियो । खानेपानी मन्त्रालयमा भएको उक्त सहमति प्रति असन्तुष्ट ब्यक्त गर्दे केही स्थानीय भेण्डर तथा सप्लायर्सहरुले छुट्टै समिति निर्माण गरेर पुनः आयोजना बिरुद्ध आन्दोलनको तयारी गरीएको स्थानीय सप्लायर्स उत्तरकुमार श्रेष्ठद्धारा हस्ताक्षरित बिज्ञप्ती मा भनिएको छ । खानेपानी मन्त्रालयका सचिबको नेतृत्वमा संघर्ष समितिका अध्यक्ष र एक जना सदस्यले मात्र बार्ताको जानकारी नदिई गरेको सहमति सिंगो भेण्डर तथा सप्लायर्सहरुको हितमा नभएकोले पुनः दशैँ लगतै आन्दोलन गर्ने बताइएको छ ।
मेलम्ची खानेपानी आयोजनाको यस अघिको इटालियन ठेकेदार कम्पनी(सीएससी)ले बिचमा नै आयोजनाको काम छाडेर भागेपछि सीएमसीसँग लिनुपर्ने रकम आयोजनाले नै दिनुपर्ने भन्दै मजदुर र स्थानीय ठेकेदारहरु लामो समयदेखि आन्दोलनमा छन् । गत भदौ १८ गते बाट आयोजना पीडितहरुले शान्तिपुर्ण आन्दोलनको सुरुवात गरेपनि १९ गते आयोजनाको मुहानस्थल अम्बाथानमा दोहोरो झडप हुदाँ प्रहरीले आन्दोलनकारी माथि १२ शेल अश्रुग्यास प्रहार गरेको थियो भने दुइ जना मजदुर घाइते भएका थिए । मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल र साइट कार्यलयमा आन्दोलन चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञ समेत जारी गरेको थियो । खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेसहित खानेपानी आयोजना, मजदुर प्रतिनिधि र स्थानीय ठेकेदारहरुबिच पाँच बुदे सहमती पछि आन्दोलनका कार्यक्रमहरु दुई महिनाको लागि स्थगित गर्ने भनिएपनि उक्त सहमतिले स्थानीय भेण्डर तथा सप्लायर्सहरुको रकम भुक्तानीको सुनिश्चितता नभएकोले पुनः आन्दोलनको तयारी गर्नु परेको बिज्ञप्तीमा भनिएको छ । मेलम्ची खानेपानी आयोजनाले भने मजुदर र स्थानीय ठेकेदारहरुको माग पुरा गराउन एक प्राविधिक समिति समेत गठन गरेको छ । इटालिएन ठेकेदार कंम्पनी सिएमसीसँग मजदुर र स्थानीय आपुर्तिकर्ताहरुले एक अर्ब ६५ करोड रुपियाँ लिनुपर्ने दाबि गर्दै आएका छन् ।
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस